अर्थोडक्स विश्वास र उपासना, पवित्र चर्चको टुटेको साङ्लो
बिलीभर्स इस्टर्न चर्चको विश्वास प्रेरितहरूको सिद्धान्त र “एक, पवित्र, क्याथोलिक र अपोस्टोलिक चर्च” को पवित्र परम्परामा आधारित छ। हामी विश्वास गर्छौं कि पवित्र धर्मशास्त्र परमेश्वरको प्रेरित र अचूक वचन हो, जुन पवित्र चर्चले हामीलाई दिएको छ, “सत्यको स्तम्भ र जग” (१ तिमोथी ३:१५)। हामी विश्वास गर्छौं कि पवित्र चर्चले प्रेरितहरूको सिद्धान्त, पवित्र परम्परा, र अर्थोडक्स फादरहरूको शिक्षाहरू मार्फत अटूट रूपमा निरन्तरता दिएको छ, जुन निसेन र प्रेरितहरूको धर्ममा संरक्षित छ र पहिलो सात एक्यूमेनिकल परिषदहरूद्वारा पुष्टि गरिएको छ।
प्राचीन चर्चको विश्वास पालना गर्नु अर्थोडक्स हो; त्यसकारण, हामी सुरुदेखि नै सामान्य, धर्मशास्त्रमा आधारित विश्वासलाई दृढतापूर्वक पक्रिराख्छौं। यद्यपि, प्रत्येक पुस्ताले सम्झौता नगरी यो अर्थोडक्स विश्वासको अभ्यास र सिकाउनु पर्छ, यसलाई आफ्नो संस्कृति र युगमा बुझ्ने र लागू हुने तरिकाले अनुकूलन गर्नुपर्छ।
नाइसिया विश्वासको सार, हाम्रो विश्वासको प्रतीक
नाइसिया (३२५ ई.सं.) र कन्स्टान्टिनोपल (३८१ ई.सं.) का परिषदहरुमा स्थापित प्राचीन विश्वासको सारलाई नाइसिया विश्वासको सार भनेर चिनिन्छ, जुन साँचो अर्थोडक्स विश्वासको साहुल (आधार वा जग) हो। यसले क्रिस्चियानिटीको २,००० वर्ष भन्दा बढी समयको, विशेष गरी, येसु ख्रिस्ट, पवित्र त्रिएक परमेश्वर र चर्चको स्वभावको बारेमा भएका, मुख्य सिद्धान्त (मूल विश्वास) हरुका सारांश उल्लेख गर्छ र संरक्षण गर्दछ ।
बिलिभर्स इस्टर्न चर्चले नाइसिया विश्वासको सारलाई आफ्नो विश्वासको आधिकारिक कथन मान्दछ। यो हाम्रो ईश्वरीय लिटर्जीको भागको रुपमा हाम्रा विश्वासयोग्य जनहरुले वाचन गर्छन्।
साहुल फ्रि डाउनलोड गर्नुहोस्हामी विश्वास गर्दछौं, एक परमेश्वर, सर्वशक्तिमान् पितामाथि,
उहाँले स्वर्ग र पृथ्वी, अनि दृश्य र अदृश्य सबै थोक सृष्टि गर्नुभयो।
हामी विश्वास गर्दछौं, एक प्रभु येसु ख्रिस्ट, परमेश्वरको एक्ले पुत्र,
पिताबाट अनन्त रुपले जन्मिनुभएको, ज्योतिबाट आउनुभएको ज्योति,
साँचो परमेश्वरबाट आउनुभएको साँचो परमेश्वर, जन्मिनुभएको तर सृष्टि गरिनुभएको होइन,
पितासित एउटै तत्त्व हुनुभएको पुत्र प्रभु येसु ख्रिस्टमाथि, उहाँद्वारा सबै थोक सृष्टि गरिए।
हामी मानिस र हाम्रो उद्धारका निम्ति उहाँ स्वर्गबाट धरतीमा आउनुभयो। + [शिर झुकाउँदै]
पवित्र आत्माको शक्तिद्वारा कन्ये मरियमबाट देहधारी हुनुभयो र मानिस बनाइनुभयो।
अनि पन्तियस पिलातसको अधीनमा हाम्रा निम्ति क्रुसमा टाँगिनुभयो। + [शिर झुकाउँदै]
उहाँले मृत्यु भोग्नुभयो र गाडिनुभयो। पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ फेरि जीवित भइउठ्नुभयो। +
उहाँ स्वर्गमा चढिजानुभयो र पिताको दाहिने हातपट्टि बस्नुभएको छ।
जिउँदा र मरेकाहरुका न्याय गर्न उहाँ फेरि महिमामा आउनुहुने छ र उहाँको राज्यको कहिल्यै अन्त हुने छैन।
हामी विश्वास गर्दछौं, पवित्र आत्मा परमेश्वर, प्रभु र जीवनदातामाथि, उहाँ पिताबाट आउनुहुन्छ।
पिता र पुत्रसँगै उहाँले आराधना र महिमा पाउनुहुन्छ। उहाँ अगमवक्ताहरुद्वारा बोल्नुभएको छ।
हामी विश्वास गर्दछौं, एक, पवित्र, विश्वव्यापी र प्रेरितीय चर्चमाथि।
हामी पाप क्षमाका निम्ति एक बप्तिस्मालाई स्वीकार गर्दछौं,
अनि मरेकाहरुका पुनरुत्थान र आउँदो संसारको जीवनको आशा गर्दछौं।
आ-मे-न।
अर्थोडक्स विश्वासको शिक्षा
अर्थोडक्स चर्चले युगौंदेखि ख्रिस्टद्वारा स्थापित र पवित्र आत्माद्वारा रेखदेख गरिएको प्रेरितीय समुदायसँग विश्वास र प्रेमको निरन्तरतालाई कायम राखेको छ। अर्थोडक्स चर्चको विश्वासअनुसार, यसले ऐतिहासिक क्रिस्चियन विश्वासलाई, प्रेरितहरुका समयदेखि नै त्रुटि र विकृति हुनबाट सुरक्षा प्रदान गरेको छ र सिकाएको छ। साथै, यसको शिक्षामा सत्यताको विपरीत वा परमेश्वरसँगको साँचो एकतामा बाधा पुर्याउने कुनै पनि कुरा छैन, भन्ने यसको विश्वास छ। प्राचीनता र कालातीतताजस्ता विशेषताहरु भएको पूर्वीय क्रिस्चियानिटी आधिकारिक क्रिस्चियन विश्वासप्रति निष्ठावान् रहने इच्छाको अभिव्यक्ति वा प्रकटीकरण हो।
क्रिस्चियन विश्वास र चर्च अविभाज्य छन् भन्ने कुरामा अर्थोडक्सीले विश्वास गर्छ। चर्चबाट अलग रहेर, येसु ख्रिस्टलाई चिन्न, पवित्र त्रिएक परमेश्वरको जीवनमा सहभागी हुन, वा क्रिस्चियन भनेर चिनिन असम्भव हुन्छ। चर्चमा नै क्रिस्चियन विश्वासको घोषणा र पालना गरिन्छ। चर्चको माध्यमद्वारा नै व्यक्तिले विश्वासमा बढ्दै जाने मौका पाउँछ।
प्रकाश
अर्थोडक्स चर्चमा, परमेश्वर नै विश्वासको स्रोत हुनुहुन्छ। परमेश्वरले आफैलाई हामीसमक्ष, विशेष गरी, येसु ख्रिस्टको प्रकाशमा, प्रकट गर्नुभएको छ, जसलाई हामी परमेश्वरका पुत्रको रुपमा चिन्छौं, भन्ने अर्थोडक्सीको विश्वास हो। परमेश्वरको यो प्रकाश, उहाँको प्रेम र उहाँको उद्देश्य, पवित्र आत्माको शक्तिद्वारा चर्चको जीवनमा निरन्तर रुपले प्रकट गरिन्छ र समसामयिक तुल्याइन्छ।
अर्थोडक्स विश्वास मानवजातिको धार्मिक चिन्तनहरुबाट सुरु हुँदैन, न त परमेश्वरको अस्तित्वको बारेमा, न त परमेश्वरको लागि मानवीय खोजबाट नै सुरु हुन्छ। अर्थोडक्स क्रिस्चियन विश्वासको मूल परमेश्वरको आत्म-प्रकाशन हो। प्रत्येक दिन, चर्चको बिहानको प्रार्थनाले हामीलाई यो घोषणा गरेर पुष्टि गर्दछ र स्मरण गराउँछ, “परमेश्वर नै परमप्रभु हुनुहुन्छ र उहाँले आफैलाई हामीकहाँ प्रकट गर्नुभएको छ।” परमेश्वरको भित्री अस्तित्व सधैं अज्ञात र अगम्य रहने भए तापनि, परमेश्वरले आफैलाई हामीकहाँ प्रकट गर्नुभएको छ, र चर्चले उहाँलाई पिता, पुत्र र पवित्र आत्माको रुपमा अनुभव गरेको छ। पवित्र त्रिएकको सिद्धान्त अर्थोडक्स विश्वासको केन्द्रबिन्दु हो, र यो ईश्वरीय चिन्तनको परिणाम होइन, तर परमेश्वरद्वारा अभिभूत (वा वशीभूत) तुल्याइएको अनुभवको परिणाम हो। परमेश्वर एक मात्र हुनुहुन्छ, जसका तीन भिन्न-भिन्न व्यक्तिहरु छन्, भनेर यो सिद्धान्तले पुष्टि गर्छ। अर्को शब्दमा, जब पिता, पुत्र, वा पवित्र आत्मासँग हाम्रो भेट हुन्छ, हामीले साँच्चै परमेश्वरसँग सम्पर्क भएको अनुभव गर्छौं। पवित्र त्रिएक कहिल्यै पूर्ण रुपले बुझ्न नसकिने रहस्य भए, तापनि चर्चको जीवनको माध्यमद्वारा, विशेष गरी, युखारिस्ट र पवित्र संस्कारहरुका साथै गैर-संस्कारात्मक सेवाहरुका माध्यमद्वारा हामी साँच्चै त्रिएकमा सहभागी हुन सक्छौं, भनेर अर्थोडक्सीले विश्वास गर्छ।
येसु ख्रिस्टको देहधारण
पवित्र त्रिएकमा विश्वास गर्नुको साथै, ख्रिस्टको देहधारणको सिद्धान्तले अर्थोडक्स चर्चको शिक्षामा केन्द्रीय स्थान ओगटेको छ। अर्थोडक्स विश्वासअनुसार, येसु एक धार्मिक मानिस वा नैतिक शिक्षाको एक प्रतिभाशाली शिक्षकभन्दा धेरै नै बढी हुनुहुन्छ। उहाँ “परमेश्वरका पुत्र हुनुहुन्छ जो मानिसका पुत्र बन्नुभयो।” देहधारणको सिद्धान्त चर्चले गरेको ख्रिस्टको अनुभवको प्रकटीकरण हो। उहाँमा ईश्वरत्व र मानवताको एकता (मिलाप) छ, र यी दुई वास्तविकताहरुमध्ये एउटा पनि विनाश भएको छैन। येसु ख्रिस्ट साँच्चै परमेश्वर हुनुहुन्छ, जो पिता र आत्मासमान वास्तविक हुनुहुन्छ। यसका अतिरिक्त, उहाँ साँच्चै हामीजस्तै सम्पूर्ण रुपले मानिस हुनुहुन्छ। अद्वितीय परमेश्वर-मानिस, येसु ख्रिस्टले मानवजातिलाई परमेश्वरसँगको सङ्गतिमा पुनर्स्थापित गर्नुभएको छ, भन्ने चर्चको विश्वास हो।
पवित्र त्रिएकलाई प्रकट गर्नुहुने, आधिकारिक मानव जीवनको अर्थ सिकाउनुहुने, र आफ्नो पुनरुत्थानको माध्यमद्वारा पाप र मृत्युको शक्तिलाई जित्नुहुने, ख्रिस्ट परमेश्वर पिताले आफ्ना मानिसहरुप्रति गर्नुभएको प्रेमको सर्वोच्च प्रकटीकरण हुनुहुन्छ, जुन कुरा चर्चको जीवनमार्फत पवित्र आत्माद्वारा हरेक युग र हरेक स्थानमा उपस्थित गराइन्छ। चर्चका महान् फादरहरुले ख्रिस्टको सेवालाई एउटा सहासपूर्ण कथनको माध्यमद्वारा सारांशमा यसरी व्यक्त गरे, “परमेश्वर हामी जे छौं त्यही बन्नुभयो, यसैले कि हामी पनि उहाँ जे हुनुहुन्छ त्यही बन्न सकौं।”
धर्मशास्त्र
अर्थोडक्स चर्चले पवित्र धर्मशास्त्रलाई धेरै महत्त्व दिन्छ। प्रत्येक आराधना सेवामा बाइबलबाट कम से कम एउटा खण्ड वाचन गरिने तथ्यले यसको महत्त्वलाई व्यक्त गर्दछ। अर्थोडक्स चर्चले आफूलाई धर्मशास्त्रको संरक्षक र व्याख्याता ठान्दछ, जसले बाइबलका पुस्तकहरु परमेश्वरको प्रकाशनको बहुमूल्य साक्षी हो भनेर विश्वास गर्छ। पुरानो करार विभिन्न साहित्यिक विधाका उनान्चालिस पुस्तकहरुका सङ्ग्रह हो, जसले प्राचीन इस्राएलीहरुमा भएको परमेश्वरको प्रकाशलाई व्यक्त गर्दछ। अर्थोडक्स चर्चले पुरानो करारलाई येसु ख्रिस्टको आगमनको तयारीको रुपमा लिन्छ र यसलाई उहाँको प्रकाशको सन्दर्भमा पढ्नुपर्छ, भनेर विश्वास गर्छ।
नयाँ करार येसु ख्रिस्टको व्यक्तित्व र काम, र सुरुको चर्चमा पवित्र आत्माको खन्याइमा केन्द्रित छ। चार सुसमाचारका पुस्तकहरु ख्रिस्टको जीवन र शिक्षाहरुका विवरण हुन्, जुन उहाँको मृत्यु र पुनरुत्थानमा केन्द्रित छन्। एक्काइस वटा पत्रहरु र प्रेरितहरुका कार्यहरु क्रिस्चियन जीवन र सुरुको चर्चको विकासमा समर्पित छन्। प्रकाशको पुस्तक उच्च प्रतीकात्मक पाठ हो, जसले येसु ख्रिस्टको पुनरागमनलाई दर्साउँछ। नयाँ करार, विशेष गरी, सुसमाचारका पुस्तकहरु, अर्थोडक्स विश्वासको लागि अत्यन्त महत्त्वपूर्ण छन्, किनभने यसमा येसु ख्रिस्टको व्यक्तित्वमा, परमेश्वरका पुत्रको देहधारणमा, भएको परमेश्वरको पूर्ण प्रकाशको लिखित गवाही समावेश भएको छ।
परम्परा
बाइबललाई परमेश्वरको प्रकाशको बहुमूल्य लिखित अभिलेखको रुपमा सङ्कलन गरिएको मानिन्छ, तैपनि यसमा त्यो प्रकाश पूर्ण रुपमा समावेश भएको छैन। बाइबललाई परमेश्वरका मानिसहरुका जीवनमा उहाँको प्रकाशको एक मात्र अभिव्यक्तिको रुपमा हेरिन्छ। धर्मशास्त्र विश्वासको बहुमूल्य सङ्कलनको हिस्सा हो जसलाई परम्परा भनिन्छ। परम्परा भनेको एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भएको कुरा हो। धर्मशास्त्रमा विश्वासको गवाहीका अतिरिक्त, अर्थोडक्स क्रिस्चियन विश्वास युखारिस्टमा मनाइयो; फादरहरुद्वारा सिकाइयो; सन्तहरुद्वारा महिमित तुल्याइयो; प्रार्थना, भजन र आइकनहरुमा व्यक्त गरियो; सात वटा चर्च परिषदहरुद्वारा रक्षा गरियो; नाइसिया विश्वासको सारमा साकार रुप दिइयो; सामाजिक विषयमा प्रकट गरियो; र पवित्र आत्माको शक्तिद्वारा, प्रत्येक स्थानीय अर्थोडक्स प्यारिसमा जीवन जिउने गरियो। पवित्र त्रिएकको जीवन चर्चको जीवनको हरेक पक्षमा प्रकट गरिन्छ। अन्त्यमा, समग्रमा चर्च आधिकारिक क्रिस्चियन विश्वासको संरक्षक हो, जसले त्यो प्रकाशको साक्षी दिन्छ।
परिषदहरु र विश्वासको सार
जसरी अर्थोडक्सीले परमेश्वरको प्रकाशको दर्शनलाई जीवनको एउटा क्षेत्रमा मात्र सीमित पार्ने प्रवृत्तिबाट जोगिने गरेको छ, त्यसरी नै चर्चले पनि आफ्नो विश्वासको बारेमा व्यवस्थित वा व्यापक परिभाषा दिएर व्याख्या गर्ने कुराबाट जोगिने गरेको छ। क्रिस्चियन विश्वासले परमेश्वर र मानवजाति बिचको अनुग्रही र रहस्यमय सम्बन्धलाई व्यक्त गर्दछ र दर्साउँछ, भनेर अर्थोडक्सीले पुष्टि गर्छ।
परमेश्वर येसु ख्रिस्टको व्यक्तित्वमा मानिस बन्नुभयो, र यसको उद्देश्यचाहिं नयाँ दर्शनशास्त्र वा आचारसंहिता स्थापना गर्नको निम्ति होइन, तर मुख्यतया पवित्र त्रिएक परमेश्वरमा हामीलाई नयाँ जीवन दिनको निम्ति हो। चर्चमा प्रकट भएको यो वास्तविकतालाई भाषा, सूत्र वा परिभाषाहरुमा पूर्ण रुपमा व्यक्त गर्न सकिंदैन। विश्वासको विषयले तर्कको विरोध गर्दैन, तर यो प्रायः तर्कको सीमाभन्दा बाहिर छ, जस्तै जीवनका धेरैजसो महत्त्वपूर्ण वास्तविकताहरु हुन्छन्। अर्थोडक्सीले परमेश्वरको सर्वोच्च महिमाका साथै मानव मनको सीमिततालाई पनि पहिचान गर्दछ। चर्चले परमेश्वरप्रतिको आफ्नो दृष्टिकोणमा रहस्यको तत्त्वलाई स्वीकार गर्ने कुरामा सन्तुष्ट छ।
विश्वासका आधारभूत सत्यताहरुलाई झुटा शिक्षाहरुले गम्भीर रुपमा खतरामा पारेको बेला मात्र चर्चले विश्वासको सारलाई सैद्धान्तिक रुपमा परिभाषित गर्ने काम गर्छ। यसकारण, प्राचीन अविभाज्य चर्चका सात चटा चर्च परिषदहरुका निर्णयहरुलाई उच्च सम्मान गरिन्छ। यी परिषद्हरु नै सिनोडहरु थिए जहाँ क्रिश्चियन संसारका सबै बिसपहरु साँचो विश्वासको निर्धारण गर्नको निम्ति भेला भए। चर्च परिषद्हरुले नयाँ सिद्धान्तहरु सिर्जना गरेनन्, तर विशेष स्थानमा र विशेष समयमा, चर्चले सधैं विश्वास गरेका र सिकाएका कुराको घोषणा गरे।