झम्सिखेल, ललितपुर, नेपाल

डायोसिसहरु

  • Home
  • डायोसिसहरु
His Eminence Titus Mor Osthathiose Episcopa

His Eminence Titus Mor Osthathiose Episcopa

Archdiocese Episcopa
His Grace Theodore Mor Origen Episcopa

His Grace Theodore Mor Origen Episcopa

Duwakot Bhakatapur
Rev. Fr. Kabiraj Maharjan

Rev. Fr. Kabiraj Maharjan

Archdiocesan Vicar

Dn. Gyan Bahadur Rai

Dn. Gyan Bahadur Rai

Archdiocese Secretary

काठमाडौं आर्चडायोसिस

आर्चडायोसिस भनेको एकभन्दा धेरै डायोसिसहरू मिलेर बनेको चर्चको क्षेत्र हो।
यसको नेतृत्वका लागि एक जना वरिष्ठ एपिस्कोपा (बिसप) नियुक्त गरिन्छन्,
जसले सम्पूर्ण क्षेत्रको आत्मिक तथा प्रशासनिक जिम्मेवारी सम्हाल्नुहुन्छ।

डायोसिस भनेको विशिष्ट भौगोलिक क्षेत्रमा रहेका धेरै प्यारिसहरू मिलेर बनेको चर्चको क्षेत्र हो।
चर्चको आत्मिक निरीक्षण, प्रशासन, र सेवाहरू व्यवस्थापन गर्न डायोसिसको गठन गरिन्छ।
प्रत्येक डायोसिसको आत्मिक तथा लौकिक निरीक्षण एपिस्कोपाले गर्नुहुन्छ।
उहाँलाई डायोसिस भिकार, डायोसिस कार्यकारी परिषद्,
र डायोसिस परिषद्ले सहकार्य र सहयोग प्रदान गर्छन्।

ठूला डायोसिसहरूलाई अझ साना इकाइहरूमा विभाजन गरिएको हुन्छ,
जसलाई ‘मिसन प्रोभिन्सहरू’ भनिन्छ। ती प्रत्येक प्रोभिन्सहरूको
नेतृत्व प्रोभिन्सियल भिकारहरू (Provincial Vicars) ले गर्नुहुन्छ।

बिलिभर्स इस्टर्न चर्चमा हाल निम्न ११ वटा आर्चडायोसिसहरू रहेका छन्: त्रिभेन्द्रम,
चेन्नई, दिल्ली, नागपुर, कलकत्ता, जोरहाट, काठमाडौं, ढाका, कोलम्बो,
किगाली, र उत्तर अमेरिका तथा युरोप।

बिलिभर्स इस्टर्न चर्च नेपालअन्तर्गतको सम्पूर्ण सेवाकार्य काठमाडौं आर्चडायोसिस
अन्तर्गत समावेश गरिएको छ। यस आर्चडायोसिसको केन्द्रीय कार्यालय काठमाडौंमा
अवस्थित छ, जुन नेपाल राष्ट्रको राजधानी तथा मुटुको रूपमा चिनिन्छ। यही स्थानमा
बिलिभर्स इस्टर्न चर्च नेपालको केन्द्रीय कार्यालय समेत अवस्थित छ।

काठमाडौं आर्चडायोसिसले इस्वी सम्वत् १९९० देखि नेपालमा आत्मिक,
शैक्षिक र सामाजिक रूपान्तरणको दिव्य सेवाको कार्य आरम्भ गरेको हो।
त्यसयता राष्ट्रव्यापी रूपमा परमेश्वरको महिमा तथा उहाँका मानिसहरूको सेवामा
यो आर्चडायोसिस निरन्तर रूपमा समर्पित रहँदै आएको छ।

हाल काठमाडौं आर्चडायोसिस अन्तर्गत ७ वटा डायोसिसहरू रहेका छन्:
बिर्तामोड, इटहरी, चन्द्रपुर, भिमनगर, काठमाडौं, पोखरा, र कोहलपुर।

Rev. Fr. Christ Paul Tamang

Rev. Fr. Christ Paul Tamang

Diocesan Vicar

पोखरा डायोसिस

पोखरा डायोसिस गण्डकी प्रदेशअन्तर्गतका १३ जिल्लाहरु: कास्की, तनहुँ, लमजुङ, मनाङ, गोरखा, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, गुल्मी, पाल्पा, र अर्घाखाँची मिलेर बनेको एक सशक्त क्रिस्चियन सेवा क्षेत्र हो। यी जिल्लाहरु भौगोलिक रुपमा हिमाली, पहाडी र भावर क्षेत्रहरुमा फैलिएका छन्, जसको उचाइ समुद्र सतहबाट ८०० मिटरदेखि ५,५०० मिटरसम्म छ। अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी, नीलगिरि र अन्य हिमश्रृंखलाहरुका काखमा फैलिएको यस क्षेत्रले नेपालकै उत्कृष्ट प्राकृतिक सौन्दर्य, जैविक विविधता, शुद्ध वातावरण र शान्ति प्रदान गर्छ। धार्मिक र सांस्कृतिक दृष्टिले समेत यो क्षेत्र अत्यन्तै महत्त्वपूर्ण छ। हिन्दु, बौद्ध, बोन, र थकाली परम्पराका पवित्र स्थलहरुसहित पोखरा, मुक्तिनाथ, जोमसोम र टिनगाउँ जस्ता तीर्थस्थलहरुले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यमा परिणत गरेका छन्।

सांस्कृतिक र जातीय दृष्टिले यो डायोसिस विविधताले भरिएको छ। यहाँ मगर, गुरुङ, नेवार, क्षेत्री, ब्राह्मण, दलित, तामाङ, थकाली, लोपा, र लामा जातीय समुदायहरु बसोबास गर्छन्, जसको आआफ्नै भाषा, संस्कृति, र परम्पराहरु छन्। यद्यपि धार्मिक पृष्ठभूमिमा हिन्दु र बौद्धहरु बाहुल्य छन्, पछिल्ला वर्षहरुमा क्रिस्चियन विश्वासप्रति उल्लेखनीय आकर्षण देखिएको छ। डायोसिस अन्तर्गत हाल ८४ भन्दा बढी चर्चहरु सक्रिय छन्, जसले आत्मिक शिक्षासँगै सामाजिक रुपान्तरणको कार्य गरिरहेका छन्।

यहाँका बासिन्दाको जीवनशैली मुख्यतया कृषि, पशुपालन, पर्यटन, यातायात, व्यवसाय, र वैदेशिक रोजगारीमा आधारित छ। विशेषतः पोखरा, मुस्ताङ र म्याग्दीजस्ता क्षेत्रमा पर्यटन प्रमुख आयस्रोत हो, जहाँ होटल व्यवसाय, ट्रेकिङ, पर्वतारोहण र अन्य सेवा क्षेत्रहरु फस्टाएका छन्। वैदेशिक रोजगारतर्फ जापान, दक्षिण कोरिया, खाडी मुलुक, र अमेरिका प्रमुख गन्तव्य हुन्, जसले यहाँको पारिवारिक आय र समग्र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाएको छ।

यातायात सुविधाको हिसाबले पोखरा डायोसिसका अधिकांश क्षेत्रहरु सडक सञ्जालसँग जोडिएका छन्। पृथ्वी राजमार्ग, पोखरा–बागलुङ सडक, बेनी–जोमसोम मार्ग, र त्रिवेणी–गोरखा मार्गजस्ता प्रमुख राजमार्गहरु यस क्षेत्रका मुख्य आवागमन मार्ग हुन्। हवाई यातायातका लागि पोखरा, जोमसोम, र मनाङ एयरपोर्टहरुले सहज आवत–जावत सुनिश्चित गरेका छन्।

शैक्षिक सेवामा पोखरा डायोसिसले उल्लेखनीय योगदान पुर्‍याएको छ। डायोसिसअन्तर्गत् हाल ३ वटा बिलिभर्स इङ्ग्लिस स्कुलहरु कास्कीको पोखरा, तनहुँको बन्दीपुर, र बागलुङको ढोरपाटनमा सञ्चालनमा छन्। यी विद्यालयहरुले नीतिशिक्षा, अनुशासन, र गुणस्तरीय शिक्षा प्रदान गरी भविष्यका जिम्मेवार नागरिक निर्माण गर्दै आएका छन्। साथै, कास्कीको पोखरामा रहेको होप फर चिल्ड्रेन केन्द्रले गरिब, र असहाय बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्य, र सुरक्षा प्रदान गर्दै आएको छ, जसले मानवतावादी सेवाको जीवन्त उदाहरण प्रस्तुत गर्छ।

यसरी, पोखरा डायोसिसले गण्डकी प्रदेशको भौगोलिक, सांस्कृतिक, धार्मिक, र सामाजिक विविधतालाई आत्मसात गर्दै आत्मिक सेवा, सामाजिक न्याय, शैक्षिक जागरण, र मानवकल्याणको सन्देश फैलाउँदै आएको छ। यहाँको सेवाकार्य केवल चर्चको सीमामा नअडिकन, समग्र समाजको रुपान्तरण र राष्ट्र निर्माणतर्फ केन्द्रित रहेको छ, जुन क्रिस्चियन सेवाको सच्चा सार हो।

Rev. Fr. Chitra Rupacha

Rev. Fr. Chitra Rupacha

General Vicar

बिर्तामोड डायोसिस

बिर्तामोड डायोसिस नेपालको कोशी प्रदेशअन्तर्गत् पर्ने सुदूरपूर्वी चार वटा जिल्ला:
झापा, इलाम, पाँचथर, र ताप्लेजुङ, मिलेर बनेको डायोसिस हो। यी जिल्लाहरु भौगोलिक
रुपमा तराईदेखि हिमाली क्षेत्रमा फैलिएका छन्, जसले गर्दा यहाँको प्राकृतिक बनावट,
जनजीवन र विकासका आवश्यकता विभिन्न तहमा रहेको देखिन्छ। डायोसिसको केन्द्रीय
कार्यालय झापा जिल्लाको बिर्तामोड नगरपालिकामा अवस्थित छ, जुन पूर्वी
नेपालकै प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्रहरुमध्ये एक हो।

यस डायोसिसभित्र मगर, राई, लिम्बू, तामाङ, क्षेत्री, ब्राह्मण, दलित, मुस्लिम, मारवाडी,
थारु, र मधेसीलगायतका विभिन्न जातीय र भाषिक समुदायहरुका बसोबास रहेको छ।
यी समुदायहरुले आआफ्ना परम्परा, भाषा, संस्कार र चाडपर्वहरुलाई जगेर्ना गर्दै आएका छन्,
जसले क्षेत्रीय सांस्कृतिक विविधतालाई अझ समृद्ध बनाएको छ। धार्मिक दृष्टिले हिन्दु धर्म
यहाँको प्रमुख आस्था भए पनि पछिल्लो समय क्रिस्चियन विश्वासमा आकर्षण बढ्दो छ।
साथै मुस्लिम, बौद्ध, ओम शान्तिलगायतका अन्य विश्वासहरुमा पनि
यहाँका नागरिकहरुले आस्था राखेका पाइन्छ।

आर्थिक रुपमा यहाँका अधिकांश मानिसहरु कृषि, साना तथा मझौला व्यापार,
यातायात सेवा, उद्योगमा श्रम, सरकारी तथा निजी क्षेत्रमा रोजगारी,
र वैदेशिक रोजगारमा संलग्न छन्। विशेषतः खाडी मुलुक, कोरिया,
जापान र युरोपतर्फ युवाहरुका आकर्षण तीव्र रुपमा बढिरहेको छ,
जसले परिवार र समाजमा आर्थिक सुधार ल्याएको छ भने,
अर्कोतर्फ सामाजिक सन्तुलनमा चुनौतीहरु पनि सिर्जना गरेको छ।
विशेष गरी झापा र इलाममा चिया बगान, पशुपालन, र तरकारी खेतीले
कृषि पर्यटनको संभावना बोकेको देखिन्छ, भने ताप्लेजुङ हिमाली सौन्दर्य,
धार्मिक स्थल, र पर्यटकीय पदमार्गका कारण विशेष पहिचान बोकेको जिल्ला हो।

हाल बिर्तामोड डायोसिसअन्तर्गत् ५६ वटा प्यारिसहरु, २ वटा विद्यालयहरु,
२ वटा होप फर चिल्ड्रेन केन्द्रहरु (HFC), र १ वटा टेलरिङ सेन्टर सञ्चालनमा छन्।
यी संस्थाहरुका माध्यमबाट सामाजिक रुपान्तरणका कार्यहरु— शिक्षा, बाल सेवा,
सिप विकास, र आर्थिक रुपले कमजोर वर्गहरुका सशक्तीकरण—
निरन्तर रुपमा अघि बढिरहेका छन्। शिक्षा र बाल सेवामार्फत
नयाँ पुस्तामा नैतिकता, सामाजिक उत्तरदायित्व र मानवताको
चेतना विकास गरिंदै छ। साथै सिलाइ–कटाइ तालिमजस्ता
कार्यक्रमहरुले महिलाहरुलाई आत्मनिर्भर बनाउन मद्दत पुर्‍याएको छ।

यसरी बिर्तामोड डायोसिसले पूर्वी नेपालको विविधतायुक्त भूगोल,
जातीयता र विश्वास प्रणालीहरुमाझ क्रिस्चियन सेवा र चर्चको
सुसंस्कार विस्तार गर्दै आत्मिक, सामाजिक, र आर्थिक रुपान्तरणतर्फ
अग्रसर भइरहेको छ। सेवा, सहकार्य र समर्पणको भावनासहित
यो डायोसिसले एउटा समावेशी, न्यायपूर्ण र करुणामय समाज
निर्माणमा योगदान पुर्‍याउँदै आएको छ।

Rev. Fr. Ishwor Lama

Rev. Fr. Ishwor Lama

Diocesan Vicar

कोहलपुर डायोसिस

कोहलपुर डायोसिस नेपालको सबैभन्दा ठुलो भूगोल ओगट्ने डायोसिसहरुमध्ये एक हो, जुन देशका पश्चिमी तीन प्रदेशहरु: लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ, रोल्पा; कर्णाली प्रदेशका सम्पूर्ण जिल्ला; र सुदूर–पश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, अछाम लगायत विभिन्न जिल्लाहरु मिलेर बनेको छ। यो डायोसिसको भौगोलिक विस्तार समुद्री सतहबाट १०९ मिटरदेखि २५७० मिटर उचाइसम्म फैलिएको छ, जसमा तराईका उष्णभूमिदेखि हिमाली उपत्यकासम्म समेटिएका छन्। यस डायोसिसको सेवाक्षेत्र पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग, कर्णाली राजमार्ग, र मध्यपहाडी लोकमार्गमार्फत जोडिएको छ। प्रमुख सहरहरुमा नेपालगञ्ज, कोहलपुर, भालुबाङ, धनगढी, अत्तरिया, महेन्द्रनगर, बिरेन्द्रनगर (सुर्खेत), तुल्सीपुर, घोराही, जाजरकोट, र जुम्ला खलङ्गा पर्दछन्।

धार्मिक र जातीय विविधता यो डायोसिसको विशिष्टता हो। तराई क्षेत्रमा थारु, अवधी, मगर, ब्राह्मण, क्षेत्री, दलित समुदायहरु छन् भने, पहाडी र हिमाली भेगमा ठकुरी, शेर्पा, मगर, बादी, राउटेजस्ता जनजातिहरुका बसोबास छ। यद्यपि अधिकांश जनसंख्या हिन्दु धर्ममा विश्वास राख्दछ, यहाँ बौद्ध, इस्लाम, क्रिस्चियन, प्रकृति पूजा र ओमशान्ति जस्ता अन्य धार्मिक आस्थाहरुका पनि उपस्थिति छ। पछिल्लो समय क्रिस्चियन विश्वासप्रति विशेषतः विपन्न तथा दलित समुदायहरुमा आकर्षण बढ्दै गएको छ।

आर्थिक पक्षतर्फ हेर्दा, तराई क्षेत्रहरुमा कृषि, अन्न उत्पादन, पशुपालन, व्यापार, उद्योग, तथा सरकारी जागिर आम्दानीको मुख्य स्रोत हुन्। पहाडी र हिमाली क्षेत्रमा भने भेडापालन, स्याउ तथा जडीबुटी खेती, सिमी तथा मार्सी चामल उत्पादन प्रमुख छन्। साथै, कर्णाली र सुदूर–पश्चिम क्षेत्रका धेरै युवा रोजगारका लागि भारत, खाडी मुलुक, युरोप, अस्ट्रेलिया र अमेरिका जाने गरेका छन्, जसले स्थानीय अर्थतन्त्रमा वैदेशिक रेमिट्यान्सको माध्यमबाट योगदान दिइरहेका छन्। यसैकारण कतिपय गाउँहरु जनशून्य हुँदै गएका छन्।

पर्यटनको दृष्टिले यो क्षेत्र समृद्ध छ। राराको सौन्दर्य, जुम्लाको परम्परागत संस्कृति, स्याउ बगैंचाहरु, कालापानी र अपि क्षेत्रजस्ता स्थलहरुले धार्मिक, प्राकृतिक र सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्छन्। साथै, विविध समुदायको लोकसंस्कृति, चाडपर्व, र जीवनशैलीले पर्यटकहरुलाई आकर्षण गर्छ।

सामाजिक सेवाको क्षेत्रमा कोहलपुर डायोसिस सुरुदेखि नै सक्रिय रहँदै आएको छ। हालसम्म डायोसिसले ७३ वटा चर्चहरु स्थापना गरिसकेको छ, जुन जुम्लाको पातारासीदेखि हुम्लाको सर्केघाट, जाजरकोट, रोल्पा, डोटी, कैलाली, र कञ्चनपुरका दोधारा क्षेत्रसम्म फैलिएका छन्। यी चर्चहरुले धार्मिक सेवा मात्र होइन, शिक्षा, सामाजिक रुपान्तरण, र समुदाय सशक्तीकरणमा समेत महत्त्वपूर्ण योगदान दिएका छन्।

शैक्षिक सेवाको क्षेत्रमा डायोसिसअन्तर्गत् हाल तीन वटा विद्यालय सञ्चालनमा छन्— बाँकेको कोहलपुर, रुकुम पश्चिमको चौरजहारी, र जुम्लाको खलङ्गामा— जसले आधारभूतदेखि माध्यमिक तहसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन्। साथै, कैलालीको अत्तरिया, बाँकेको कोहलपुर, रुकुमको चौरजहारीमा सञ्चालनमा रहेका होप फर चिल्ड्रेन केन्द्रहरुले गरिब र असहाय बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्य, र सुरक्षित बाल्यकाल प्रदान गर्दै आएका छन्।

यसरी, कोहलपुर डायोसिसले नेपालको भौगोलिक, सांस्कृतिक, धार्मिक र सामाजिक विविधता समेटिएको क्षेत्रमा क्रिस्चियन प्रेम, सेवा, र रुपान्तरणको ज्योति फैलाउँदै आएको छ। यहाँको कठिन भूगोल, जातीय विविधता, र सामाजिक चुनौतीहरुलाई आत्मसात गर्दै, डायोसिसले शिक्षा, सामाजिक सेवा, आत्मिक सेवा, र मानव कल्याणमा सक्रिय रुपमा आफ्नो उपस्थितिलाई मजबुत बनाइरहेको छ।

Rev. Fr. Krishna Shrestha

Rev. Fr. Krishna Shrestha

Diocesan Vicar

इटहरी डायोसिस

नेपालको पूर्वी भूभागमा अवस्थित इटहरी डायोसिस कोशी प्रदेश अन्तर्गतका १० वटा जिल्ला: मोरङ, सुनसरी, उदयपुर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, सप्तरी, सोलुखुम्बु, र संखुवासभा, मिलेर गठन गरिएको हो। यी जिल्लाहरु हिमाली, पहाडी र तराई भूभागमा फैलिएका छन्, जसले गर्दा यहाँ प्राकृतिक, सामाजिक, र आर्थिक विविधता पाइन्छ। इटहरी सहरलाई प्रशासनिक र सेवाको केन्द्र बनाई डायोसिसको स्थापन गरिएको हो, जसले पूर्वाञ्चल क्षेत्रमा पवित्र चर्चको सेवा प्रभावकारी ढंगले विस्तार गर्ने उद्देश्य राख्दछ।

यस डायोसिसअन्तर्गत् हालसम्म ५७ वटा चर्चहरु सक्रिय रुपमा कार्यरत छन्, जुन सहरी, ग्रामीण तथा दुर्गम पहाडी क्षेत्रहरुमा फैलिएका छन्। यी चर्चहरु विभिन्न जातीय, भाषिक र सांस्कृतिक समुदायहरुमाझ क्रिस्चियन विश्वास, लिटर्जी आराधना, आत्मिक शिक्षण, र समाजसेवाका कार्यमा समर्पित छन्। यस क्षेत्रभित्र मगर, राई, लिम्बू, तामाङ, क्षेत्री, ब्राह्मण, दलित, मुस्लिम, मारवाडी, थारु, र मधेसी समुदायहरुका बसोबास छ। धार्मिक हिसाबले हिन्दु धर्म यहाँको प्रमुख धर्म भए पनि क्रिस्चियन विश्वास अंगीकार गर्नेहरुका संख्या बिस्तारै बढ्दो क्रममा छ। मुस्लिम, बौद्ध, ओम शान्तिलगायत अन्य आस्थाहरुमा विश्वास गर्नेहरु पनि यहाँ विद्यमान छन्।

सामाजिक संरचना विविध छ, जहाँ विभिन्न जातजाति, सांस्कृतिक परम्परा, भाषा, नाचगान इत्यादिमार्फत आफ्नो पहिचानलाई अझै संरक्षण गरिरहेका छन्। केही क्षेत्रहरु पर्यटकीय दृष्टिले पनि सम्भावनायुक्त छन्— धनकुटा, भोजपुर, सोलुखुम्बु (सगरमाथाको प्रवेशद्वार), संखुवासभा (मकालु– बरुण राष्ट्रिय निकुञ्ज) जस्ता जिल्लाहरुमा प्राकृतिक सौन्दर्य, पर्वतीय दृश्य, र धार्मिक स्थलहरु पर्यटकहरुलाई आकर्षित गर्न सक्ने स्रोतहरु हुन्।

यहाँका जनताका मुख्य जीविकोपार्जनका माध्यम कृषि, साना तथा मझौला व्यापार, यातायात व्यवसाय, उद्योगमा श्रम, सरकारी तथा निजी सेवा, र वैदेशिक रोजगार हुन्। विशेष गरी कोरिया, खाडी मुलुक, जापान, र युरोपतर्फ युवाहरुका आकर्षण तीव्र छ। यसले समाजमा आर्थिक गतिशीलता ल्याएको छ, तर युवाशक्ति पलायन पनि बढाएको छ।

शैक्षिक तथा सामाजिक सेवामा पनि इटहरी डायोसिसको सक्रियता उल्लेखनीय छ। हाल मोरङ र सुनसरी जिल्लामा बिलिभर्स स्कुल सञ्चालनमा छ, जसले सीमित संख्यामा भए पनि बालबालिकाहरुलाई नैतिकता, र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। साथै, इटहरी, धरान, र उदयपुरमा गरी तीन वटा होप फर चिल्ड्रेन केन्द्रहरु (HFC) सञ्चालित छन्, जसले गरिब, असहाय, अनाथ तथा जोखिममा परेका बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्य, तथा सुरक्षाको व्यवस्था गरिरहेका छन्।

यसरी इटहरी डायोसिसले नेपालको पूर्वी भूगोलमा पवित्र चर्चको सेवामार्फत आत्मिक, सामाजिक, र नैतिक रुपान्तरणको कार्य गरिरहेको छ। जातीय, भाषिक र धार्मिक विविधताबिच सहिष्णुता, सेवाभाव र एकताको सन्देश फैलाउँदै यो डायोसिस निरन्तर प्रगतिको दिशामा अघि बढिरहेको छ।

Rev. Fr. Manja Tamang

Rev. Fr. Manja Tamang

Diocesan Vicar

भिमनगर डायोसिस

भिमनगर डायोसिस नेपालको मध्यमाञ्चल भूभागमा फैलिएको एक महत्वपूर्ण क्रिस्चियन सेवामूलक संरचना हो। यस डायोसिस अन्तर्गत बागमती प्रदेशका चितवन र मकवानपुर जिल्ला तथा लुम्बिनी प्रदेशका नवलपुर, परासी, रुपन्देही, र कपिलवस्तु जिल्लाहरु समावेश छन्। यी क्षेत्रहरु भौगोलिक रुपमा तराई, भावर, चुरे, र पहाडी भूभागहरुमा फैलिएका छन्, जहाँ वन क्षेत्र, जैविक विविधता, र सुरक्षित बस्तीहरु रहेका छन्। चितवनको भिमनगर क्षेत्रलाई डायोसिसको केन्द्रीय कार्यालयको रुपमा चयन गरिएको छ, जसले सम्पूर्ण प्रशासनिक तथा सेवा कार्यहरुका समन्वय गर्छ।

डायोसिसको सेवा क्षेत्रभित्र चितवनको भरतपुर, रत्ननगर, नारायणगढ, माडी, मेघौली, टाँडी, मकवानपुरको हेटौंडा, थाहा नगर, भीमफेदी, पालुङ, बकैया, र नवलपुरको गैंडाकोट, दुम्कौली, बुलिङटार, देवचुली आदि प्रमुख क्षेत्रहरु पर्दछन्। यी स्थानहरुमा क्रिस्चियन सेवाले आत्मिक विकास, शिक्षाको प्रवर्द्धन, स्वास्थ्य सेवा, समाजसेवा र नेतृत्व विकासमा उल्लेखनीय भूमिका खेलिरहेको छ।

यस डायोसिसको सेवा क्षेत्र जातीय, भाषिक, सांस्कृतिक र धार्मिक विविधताले भरिपूर्ण छ। मगर, थारु, चेपाङ, गुरुङ, क्षेत्री, ब्राह्मण, तामाङ, दलितलगायतका समुदायहरुमा क्रिस्चियन विश्वास र सेवाको प्रभाव गहिरिंदै गएको छ। परम्परागत रुपमा हिन्दु र बौद्ध बहुल रहेका यी क्षेत्रहरुमा पछिल्ला वर्षहरुमा क्रिस्चियन सुसमाचारप्रति आकर्षण उल्लेखनीय रुपमा वृद्धि भएको देखिन्छ। हाल यो डायोसिसअन्तर्गत् ४९ भन्दा बढी चर्चहरु ग्रामिण, सहरी र आदिवासी समुदायहरुमा सक्रिय छन्, जसले आत्मिक जागरणसँगै सामाजिक रुपान्तरणमा पनि योगदान पुर्‍याइरहेका छन्।

शैक्षिक सेवाको क्षेत्रमा डायोसिसले उल्लेखनीय कार्य गर्दै आएको छ। विशेष गरी मकवानपुर जिल्लाको मनहरीमा सञ्चालित मनोहरी बिलिभर्स स्कुल यस डायोसिसको शैक्षिक कार्यक्रममध्ये एक हो, जसले खास गरी चेपाङ र तामाङ समुदायका बालबालिकालाई लक्षित गर्दै गुणस्तरीय शिक्षा र नैतिकता प्रदान गरिरहेको छ। यसले पछाडि पारिएका समुदायका बालबालिकाहरुका भविष्य निर्माणमा मार्ग प्रशस्त गरेको छ।

भिमनगर डायोसिसअन्तर्गत्, सिस्टर्स अफ क्रस ट्रेनिङ सेन्टर, सञ्चालनमा रहेको छ, जसले समाजमा सेवा गर्न इच्छुक महिलाहरुलाई विशेष तालिम प्रदान गर्छ। यी तालिम प्राप्त दिदीबहिनीहरुले वृद्ध, रोगी, कुष्ठरोगी, असक्त तथा गरिब वर्गका मानिसहरुलाई समर्पित सेवा प्रदान गर्छन्। उनीहरु अस्पतालमा बिरामीहरुका सेवा, स्कुलमा ट्युसन कक्षा, कुष्ठरोगीहरुका सेवा गर्ने, टेलरिङजस्ता सिपमूलक तालिम, बालबालिकाका रेखदेख, वृद्धवृद्धाका हेरचाहजस्ता कार्यमा समर्पित हुन्छन्। उनीहरुका सेवा कार्य मदर टेरेसाको सेवामूलक दृष्टिकोणजस्तै करुणा, सम्मान र समर्पणमा आधारित छ।

यसरी भिमनगर डायोसिसले नेपालको मध्य भूभागमा रहेका भौगोलिक, सांस्कृतिक र सामाजिक विविधता भएको क्षेत्रमा आत्मिक, शैक्षिक र सामाजिक रुपान्तरण ल्याउने कार्यमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। यसको सेवा केवल आत्मिक चेतनामा सीमित नरही, समाज सुधार, शिक्षा प्रवर्द्धन, सिप अभिवृद्धि, र मानव सेवाजस्ता बहुआयामिक पक्षहरु समेट्दै राष्ट्र निर्माणमा समेत योगदान पुर्‍याइरहेको छ।

Rev. Fr. Shasidhar Chapagain

Rev. Fr. Shasidhar Chapagain

Diocesan Vicar

चन्द्रपुर डायोसिस

चन्द्रपुर डायोसिस नेपालको सम्पूर्ण मधेश प्रदेशअन्तर्गत् पर्ने जिल्लाहरुमा फैलिएको एक प्रभावशाली क्रिस्चियन सेवामूलक संरचना हो। यस डायोसिसले ख्रिस्टको प्रेम र उद्धारको दृष्टिकोणमा आधारित रही सामाजिक सेवा, शिक्षा, मानव विकास, र सुसमाचार प्रचारलाई सँगसँगै अघि बढाउँदै आएको छ। चन्द्रपुर डायोसिसको केन्द्र रौतहट जिल्लाको चन्द्रपुर क्षेत्रमा अवस्थित छ, जहाँबाट सम्पूर्ण प्रशासनिक तथा सेवा कार्यहरुका समन्वय गरिन्छ।

भौगोलिक रुपमा मधेश प्रदेश नेपालको समथर र उब्जाउ भूभाग हो, जुन भारतको सीमासँग जोडिएको छ। यस प्रदेशमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी ८ वटा जिल्ला समावेश छन्। यी जिल्लाहरु गर्मी याममा अत्यन्त तातो र वर्षा याममा बाढीको उच्च जोखिममा रहने क्षेत्रहरु हुन्, जसले यहाँको जीवनशैलीलाई प्रभाव पार्ने गर्दछ।

सामाजिक दृष्टिले मधेश प्रदेश विभिन्न जाति, भाषा, धर्म र सांस्कृतिक पहिचान बोकेका समुदायहरुका संगमस्थल हो। यहाँ दलित, जनजाति, मुस्लिम, मधेशी, आदिवासीलगायतका समुदायहरुका उल्लेखनीय उपस्थिति छ। सामाजिक रुपमा धेरै समुदायहरुले अझै पनि गरिबी, अशिक्षा, स्वास्थ्य सेवाको अभाव र सामाजिक विभेदको सामना गरिरहेका छन्। चन्द्रपुर डायोसिसले यिनै समुदायहरुलाई आत्मीय सेवाको माध्यमबाट सामाजिक न्याय, समावेशिता, र अवसरको सिर्जनामा योगदान पुर्‍याउँदै आएको छ।

आर्थिक रुपमा मधेश प्रदेश मुख्यतः कृषि क्षेत्रमै आधारित छ। धान, गहुँ, उखु, तरकारी, तेलहन आदि यहाँका प्रमुख बालीनाली हुन्। तर, बारम्बारको बाढी, सिंचाइको अभाव, बेरोजगारी, र बजारको पहुँच नहुनाले किसान र श्रमिक वर्गहरुले ठुलो आर्थिक चुनौतीको सामना गरिरहेका छन्। यी समस्याहरुका समाधानका लागि डायोसिसले स्वरोजगार, सिप विकास, लघुवित्त सहयोग, र जीवनशैली सुधारका कार्यक्रमहरु सञ्चालन गर्दै स्थानीय समुदायलाई आत्मनिर्भर बनाउने प्रयत्न गरिरहेको छ।

सांस्कृतिक रुपमा मधेश प्रदेश परम्परागत संस्कार, चाडपर्व र भाषिक विविधताले भरिएको छ। छठ, होली, तिहार, ईद, दसैंलगायतका पर्वहरु यहाँ भव्य रुपमा मनाइन्छन्। मैथिली, भोजपुरी, अवधी, थारु, उर्दू र नेपाली भाषा यहाँका प्रमुख सञ्चार भाषाका माध्यम हुन्। डायोसिसले स्थानीय संस्कृतिको सम्मान गर्दै सेवाहरु स्थानीय भाषा र संस्कृतिअनुसार प्रस्तुत गर्ने कार्यमा विशेष ध्यान दिएको छ, जसले समुदायसँग आत्मीय सम्बन्ध र विश्वासको वातावरण निर्माण गरेको छ।

धार्मिक दृष्टिकोणले हेर्दा मधेश प्रदेश बहु-धार्मिक क्षेत्र हो। हिन्दु, मुस्लिम, बौद्ध, र क्रिस्चियन धर्मावलम्बीहरु शान्तिपूर्ण रुपमा सहअस्तित्वमा जीवन यापन गरिरहेका छन्। चन्द्रपुर डायोसिसअन्तर्गत् हाल ४२ वटा चर्चहरुले सक्रिय रुपमा सेवा गर्दै आएका छन्, जसले सुसमाचार प्रचार, प्रार्थना जीवन प्रवर्द्धन, सेवक प्रशिक्षण, बालबालिका र युवाका लागि बाइबल शिक्षा, तथा विश्वासमा वृद्धि गराउने कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

शिक्षा र सामाजिक सेवा चन्द्रपुर डायोसिसका मुख्य कार्यक्षेत्रहरु हुन्। शिक्षा क्षेत्रमा डायोसिसले तीन वटा बिलिभर्स स्कुल र दुई वटा होप फर चिल्ड्रेन प्रोजेक्ट सञ्चालनमा ल्याएको छ, जसले गरिब, बिपन्न, र पछि परेका समुदायका बालबालिकालाई निःशुल्क वा सहुलियत दरमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छन्। यसले उनीहरुलाई शिक्षाको उज्यालो भविष्यमा अग्रसर गराउने मार्ग प्रदान गरेको छ।

सामाजिक सेवाका क्षेत्रमा डायोसिसले स्थानीय आवश्यकताअनुसार इनार खनिदिने, धारा निर्माण गर्ने, गर्मीमा झुल बाँड्ने, वर्षा याममा रेनकोट दिने, जाडोमा सिरक र कम्बल वितरण गर्ने कार्यहरु गर्दै आएको छ। साथै, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ-कटाइ तालिम, महिला सशक्तीकरण कार्यक्रम, तथा एकल महिला र अति विपन्न परिवारहरुलाई लक्षित गर्दै सुरक्षित आवास निर्माणको कार्य गरिएको छ। सरसफाइ र स्वास्थ्यको क्षेत्रमा पनि बस्तीहरुमा डस्टबिन राखेर फोहरमैला व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। प्राकृतिक प्रकोप, जस्तै बाढी वा हुरीबतासबाट प्रभावित परिवारहरुका लागि त्रिपाल, राहत सामग्री, र अन्य सहयोग प्रदान गर्ने कार्यहरु पनि डायोसिसले निरन्तर गरिरहेको छ। साथै, सामुदायिक एकता र सहकार्य प्रवर्द्धनका लागि सामुदायिक भवनहरुका निर्माण गरिएको छ।

यसरी, चन्द्रपुर डायोसिसले मधेश प्रदेशका भौगोलिक, सामाजिक, सांस्कृतिक र आर्थिक चुनौतीहरुलाई आत्मसात गर्दै सेवा कार्यहरु सञ्चालन गरिरहेको छ। यी सबै पहलहरु ख्रिस्टको प्रेम, दया र उद्धारको जीवन्त साक्षी हुन्, जसले सम्पूर्ण डायोसिस क्षेत्रका समुदायहरुका जीवनस्तर माथि उठाउन उल्लेखनीय भूमिका निर्वाह गरिरहेका छन्।