बिलिभर्स इस्टर्न चर्च नेपालको पावन इतिहासमा दोस्रो पटक, सेप्टेम्बर २५, २०२५ मा भक्तपुर जिल्लाको दुवाकोटस्थित सेन्ट जेम्स बिलिभर्स इस्टर्न चर्च सेमिनरीमा ठुलो सम्मानका साथ एउटा पवित्र याजकीय अभिषेकको आराधना-सेवाको आयोजना गरियो। यस ऐतिहासिक अवसरमा, काठमाडौं आर्चडायोसिसका ३१ जना र भीमनगर डायोसिसका १४ जना गरी, ४६ जना डिकनहरुलाई याकत्वको पावन ओहदामा अभिषिक्त गरिएको थियो।
यी डिकनहरु आआफ्ना सेवाका स्थानहरुबाट सेप्टेम्बर २१ मा यात्रा सुरु गरेर सेमिनरीमा आइपुगे र चार दिने प्रार्थनामय, पूर्वाभ्यास, मनन र लिटर्जीय तयारीमा व्यस्त भइरहे। यसैबिच, डिकनहरु र विश्वासयोग्य जनहरुका निम्ति क्रिस्मेसन र पाप-स्वीकारका संस्कारहरुका आयोजना गरिएको थियो। सेप्टेम्बर २२ मा, क्रिस्मेसनको संस्कार आयोजना गरियो, जसमा डिकनहरु, सेमिनरीका विद्यार्थीहरु र विश्वासयोग्य जनहरुलाई क्रिस्मेसन प्रदान गरिएको थियो। सेप्टेम्बर २३ र २४ मा, सबै दीक्षार्थी याजकहरु पश्चात्तापी हृदयका साथमा पाप-स्वीकारको संस्कारमा प्रवेश गरे। उनीहरुले पवित्र अभिषेकको तयारीको निम्ति विश्वासयोग्यतापूर्वक आआफ्ना पापहरु स्वीकार गरे।
भोलिपल्ट, सेप्टेम्बर २५, २०२५ मा, बिलिभर्स इस्टर्न चर्चको गायनझुन्डद्वारा पावन भजन गान सुरु गरेसँगै डिकनहरुका भव्य शोभायात्राबाट आराधना-सेवा सुरु भयो। यस पावन शुभअवसरमा महामहिम आर्चबिसप टाइटस मोर ओस्थाथिओस एपिस्कोपाले डिकनहरुमाथि हातहरु राख्नुभयो र प्रार्थनाका माध्यमद्वारा उनीहरुलाई पावन याजकीय सेवामा अभिषेक गर्नुभयो।
क्लर्जीहरु, सेमिनरीका विद्यार्थीहरु, डायोसिसका कर्मचारीहरु, र दीक्षार्थी याजकहरुका पत्नीहरुसहित २५० भन्दा बढी उपस्थित सहभागीहरुले आराधना-सेवाभरि परमेश्वरको ईश्वरीय उपस्थितिको साक्षी भइरहे। नवनियुक्त याजकहरुले आफ्नो बोलावटमा रमाउँदै चर्च र सेवाको काममा विश्वासीहरुका नेतृत्व र हेरचाह गर्ने एउटा नयाँ अध्यायको सुरुवात गर्दा, उक्त अवसरको वातावरण नै आनन्द र कृतज्ञताले भरिपूर्ण बनेको थियो।