झम्सिखेल, ललितपुर, नेपाल

ख्रिस्ट जन्मोत्सवको पर्व

  • Home
  • ख्रिस्ट जन्मोत्सवको पर्व
ख्रिस्ट जन्मोत्सवको पर्व
July 21, 2025

हाम्रा प्रभु, परमेश्वर र मुक्तिदाता येसु ख्रिस्टको जन्मोत्सवको पर्व अर्थोडक्स चर्चका महान पर्वहरुमध्ये एक हो। यो पर्व हरेक वर्ष डिसेम्बरको २५ मा मनाइन्छ। येसुको जन्मको पर्वलाई “ख्रिस्टको देहधारण” भन्‍ने गरिन्छ। यसको अर्थ हामीलाई बचाउनका लागि येसु मानिस बनेर यस संसारमा आउनुभयो भन्ने हो। यो आनन्दको पर्वलाई हामीले ख्रिसमस पनि भन्ने गर्छौं।

पवित्र धर्मशास्त्र बाइबलमा ख्रिस्टको जन्मको बारेमा सुन्दर ढङ्गले वर्णन गरिएको छ। त्यो वर्णन मत्तीको सुसमाचार १:१८-२५ र लुकाको सुसमाचार २:१-२० मा पाइन्छ। येसुको जन्मको कथा वा बयान एउटा महत्त्वपूर्ण ऐतिहासिक घटना हो।

प्रेरितहरुले यो कथा भनेका समयमा रोमी साम्राज्य शक्तिशाली थियो। रोमीहरुले त्यस समयको संसारका धेरै भाग जितेका थिए। तिनीहरुले इस्राएलको यहुदिया र सामरियालाई पनि जितेका थिए। सम्राट अगस्टसले आफ्नो साम्राज्यका सबै प्रदेशमा जनगणना लिनू भन्ने आदेश दिए। उनको साम्राज्यमा कति मानिसहरु बसोबास गर्छन् भनी जान्नु उनलाई जरुरत परेको थियो, किनभने उनले तिनीहरुमाथि कर लगाउन चाहन्थे। जनगणनामा आफ्नो नाउँ दर्ता गर्नका लागि प्रत्येक व्यक्ति आफ्नो परिवारको मूल थलोमा जानुपरेको थियो। यसको अर्थ मरियम र योसेफ पनि बेथलेहेममा जानुपर्‍यो। तिनीहरु राजा दाउदका सन्तान थिए र बेथलेहेम दाउदको सहर थियो।

मरियम र योसेफ नासरतमा बस्थे। बेथलेहेमदेखि नासरत करिब १०० माइल टाढा थियो। यात्रा गर्ने बाटो राम्रो थिएन। साथै, मरियम गर्भवती थिइन् र सुत्‍केरी हुने समय भइसकेको थियो। बेथलेहेम एउटा सानो सहर थियो। त्यहाँ दाउदका धेरै सन्तान थिए। तिनीहरु जनगणनामा आफ्नो नाउँ दर्ता गर्न गएका थिए। मरियम र योसेफ बेथलेहेम आइपुग्दा उनीहरुले बस्ने ठाउँ पाएनन्। योसेफले त्यो रात सुत्ने ठाउँ खोज्न धेरै प्रयास गरे। पौवामा कुनै ठाउँ खाली थिएन। अन्त्यमा, योसेफले गुफाजस्तै एउटा ठाउँ भेट्टाए। त्‍यहाँ उनीहरुले विश्राम गरे। त्यो ठाउँलाई गोठालाहरुले आँधीबेहरीमा आफ्ना भेडाहरुको रक्षा गर्नका निम्ति प्रयोग गर्थे। यहीं नै मरियमले येसुलाई जन्म दिइन्। बालकलाई थाङ्नाले बेह्रेर डुँड्मा पराल ओछ्याएर त्यसैमा राखिन्।

त्यस रात गोठालाहरु बाहिर चउरमा बसेर आफ्ना भेडाहरुको रेखदेख गर्दै थिए। अचानक त्यहाँ एउटा ज्योति चम्क्यो, जसले गोठालाहरुलाई चकित पाऱ्यो। त्यो ज्योति धेरै उज्यालो थियो। त्यसले रातलाई दिनको उज्यालोमा परिणत गर्‍यो। गोठालाहरु असाध्‍ये डराए। यसअगि कहिल्यै त्यस्तो भएको थिएन। तुरुन्तै एउटा स्वर्गदूत देखा परे र तिनीहरुलाई शान्त पार्दै भनेः

“नडराओ, किनभने हेर, म तिमीहरुलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसका निम्ति हुने छ। आज दाउदको सहरमा तिमीहरुका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रिस्ट प्रभु हुनुहुन्छ। तिमीहरुलाई चिन्हचाहिं यो हुन्छः तिमीहरुले एउटा बालकलाई लुगाले बेह्रेको र डुँडमा सुताइराखेको भेट्टाउने छौ” (लुका २:१०-१२)।

त्यसपछि स्वर्गदूतहरुका एउटा ठुलो झुन्ड देखा पऱ्यो। तिनीहरुले यसरी गाउँदै परमेश्वरको प्रशंसा र महिमा गरे, “सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरुसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरुलाई शान्ति” (लुका २:१४)। स्वर्गदूतहरुले भजन गाउनेबित्तिकै गोठालाहरुका दृष्‍टिबाट अलप भए। अनि त्‍यो ज्योति बिस्तारै धमिलो हुँदै फेरि घोर अन्धकार भयो। ती गोठाला भयभीत बने। के गर्ने होला भनेर तिनीहरु अकमक्क परे। अन्त्यमा, तिनीहरुले आफ्ना भेडाहरुका बगाललाई त्यहीं छोडेर बेथलेहेमतिर जाने निर्णय गरे। तिनीहरु स्वर्गदूतले भनेका कुराहरु आफै हेर्न चाहन्थे। बेथलेहेम पुगेपछि तिनीहरुले मरियम, योसेफ र बालक येसुलाई भेटट्टाए। तिनीहरुले घुँडा टेके र येसुको आराधना गरे।

पूर्वका केही ज्ञानी मानिस पनि त्यहाँ आए, किनभने तिनीहरुले येसु आउनुहुने कुरा थाहा पाएका थिए। तिनीहरुले एउटा तारा देखे। त्‍यो ताराले तिनीहरुलाई यहुदीहरुका एक जना राजा जन्मेका छन् भनी बतायो। तिनीहरुले त्यो तारालाई पछ्याए र बालकलाई खोजे। त्यस बेला हेरोद राजा यहुदियाका राज्यपाल थिए। हेरोद दुष्ट मानिस थिए। मानिसहरु तिनीसँग डराउँथे र तिनलाई घृणा गर्दथे। जब ती ज्ञानी मानिसले बालक येसुको खोजी गर्दै छन् भन्ने कुरा हेरोदले सुने, तब उनले तिनीहरुलाई महलमा बोलाए। हेरोदले ती ज्ञानी मानिसलाई त्यो बालक खोज्न लगाए। उनले ती बालकको आराधना गर्न चाहन्छन् भनेर झुटा बोले।

त्यो ताराले ती ज्ञानी मानिसलाई डोऱ्याउँदै योसेफ र मरियमकहाँ पुऱ्यायो। येसुलाई भेटेपछि तिनीहरुले घुँडा टेके र उहाँको आराधना गरे। तिनीहरुले येसुलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढाए। अनि तिनीहरु हेरोदलाई नभेटीकनै फर्किए। हेरोदले येसुको हानि गर्न खोज्दै छन् भनी तिनीहरुलाई सपनामा चेताउनी दिइयो। त्यसकारण, हेरोदकहाँ नगई तिनीहरु अर्कै बाटो भएर आफ्नो मुलुकमा फर्के।

अब म तपाईंलाई ख्रिस्टको जन्मोत्सवको आइकनका बारेमा बताउन चाहन्छु।

यहाँ एउटा आइकन हेरौं। यो आइकन हामीले चर्च इतिहासबाट पाएका हौं। यो ख्रिस्टको जन्मोत्सवको आइकन हो। यसमा महान् ईश्वरशास्त्रीय गहनता रहेको छ। यो हेर्दा सुन्दर छ र साङ्केतिक अर्थले पूर्ण छ।

प्रोटोइभाङ्गेलियोन भन्‍ने गरेको दोस्रो शताब्दीको याकुबको सुसमाचारबाट हामीले यो आइकनका बारेमा धेरै कुराको जानकारी पाउँछौं।

आइकनहरु वास्तविक कुराका स्वरुप हुन्। तिनले हामीलाई संसार कसरी अस्तित्वमा छ भन्ने कुरा देखाउँछ। ती केवल एउटा घटनाको तस्बिर मात्र होइनन्, किनकि चित्रण गरिएका सबै कुरा एकैपल्टमा हुन आएका थिएनन्। यसरी, ती आइकनले एउटा घटनाको भित्री अर्थ प्रकट गर्दछन्। आइकनहरुमा भएको साङ्केतिक महत्त्व शब्दमा मात्र सीमित हुँदैनन् तर त्योभन्दा बढी महत्त्वपूर्ण हुन्छन्।

यो आइकनमा, यहाँ बिचमा बालक ख्रिस्ट एउटा डुँडमा सुतिरहनुभएको छ। कन्ये मरियम अर्थात थिओटोकोस उहाँको छेउमा छिन्, र उहाँको पछाडि एउटा गोरु र एउटा गधा छ। ख्रिस्ट गुफामा जन्मनुभयो भन्ने कुरा बाइबलमा छैन, तर यो कुरा हामीले पहिलो र दोस्रो शताब्दीको प्राचीन परम्पराबाट पाएका हौं। उहाँले कात्रो पहिरिनुभएको छ। यसले उहाँको मृत्युको पूर्वचित्रण गर्दछ। उहाँ गुफामा हुनुभएको कुरा पनि उहाँ चिहानमा गाडिनुहुने र फेरि पुनरुत्‍थान हुनुहुने कुराको पूर्वचित्रण हो।

सुरुमा जब आदम र हव्वा सृष्टि गरियो, तिनीहरुले परमेश्वरको महिमाको पोसाक पहिरिए। त्यो तिनीहरुको स्वाभाविक अवस्था थियो। तर जब तिनीहरु पापले पतन भए, तब तिनीहरुले महिमाको त्यो पोसाक गुमाए, र आफ्नो नग्नता थाहा पाए। अनि तिनीहरुले पशुको छालाको वस्त्र लगाएर अदनको बगैंचाबाट बाहिर निस्केर गए। हामीसँग मिलाप गर्नका लागि ख्रिस्टले पनि आफ्नो महिमालाई त्याग्नुभयो र मरणशील शरीर धारण गरी मृत्यु भोग्‍नुभयो। पवित्र धर्मशास्त्रको २ कोरिन्थी ५:२१ ले बताउँदछ, “किनकि हामी ख्रिस्टमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो।”

यो आइकनको फेदमा देब्रेपट्टि हामी देख्छौं, मरियमले ख्रिस्टलाई हेरेकी छैनन्। तर उनले आफ्ना पति योसेफलाई हेरेकी छन्। मरियमले येसेफका लागि मध्यस्थबिन्ती गर्दै छिन्। येसुको जन्म भएपछि योसेफको मनमा घोर आशङ्का पैदा भयो। उनी गुफाबाट बाहिर निस्के। उनको छेवैमा रहेको चित्र सैतानको हो। सैतानले उनको मनमा शङ्का र सायद क्रोधले पनि भरिदयो।

हामी यसो भनेर भजन गाउन सक्छौं, “यो कति अचम्‍मको बालक हो?” तर योसेफको मनमा प्रश्न थियो “यो कसको बालक हो?” किनकि निश्चय पनि उनी येसुका शारीरिक पिता थिएनन्। त्‍यो कुरा उनलाई थाहा थियो। आइकनमा योसेफको अनुहारमा एउटा गोलो ज्‍योतिको चक्र परेको छ, जसले उनको पवित्रतालाई सङ्केत गर्दछ।

कहिलेकाहीं जब परमेश्वर हाम्रो जीवनमा देखा पर्नुहुन्छ, यसले प्रश्न र शङ्काहरु उत्पन्न गर्दछ। परमेश्वरले उहाँको अनुग्रह हामीलाई दिनुहुन्छ, तर त्यसपछि उहाँ केही पछि हट्नुभएको जस्तो लाग्‍दछ। उहाँले हाम्रो विश्वासको जाँच गर्न र त्यसलाई गहिरो बनाउन हाम्रो जीवनमा कठिनाइहरु आउन दिनुहुन्छ। ती कुरा किन हुन्छन् भनी हामी आश्चर्यमा पर्छौं। अनि हामीमा शङ्का उत्‍पन्‍न हुन्‍छ। तर स्‍मरण रहोस्, योसेफजस्‍ता महान् सन्‍तले पनि शङ्का गरे। यसर्थ, उनी हाम्रो जीवनको नमुना हुन्।

सबैभन्दा माथि बिचमा एउटा निलो आकार छ, जसलाई कहिलेकहीं मन्डोर्ला वा प्रभामण्डल भनिन्छ। यसले परमेश्वरको उपस्थिति र महिमालाई जनाउँछ। यो स्वर्गबाट आएको छ र यसले बालक ख्रिस्टलाई देखाएको छ, जसले उहाँ स्वर्गबाट पृथ्वीमा ओर्लनुभएको कुरालाई देखाउँछ।

देब्रेतिर, तीन जना मानिस आकाशको तारालाई पछ्याउँदै टाढाबाट यात्रा गरेर आउँदै छन्। तिनीहरु ज्योतिषीहरु हुन्।

हामीले यो आइकनलाई अझ नियालेर हेर्दा, माथि आकाशमा स्वर्गदूतहरु देखा पर्छन् र चउरमा भेडाहरुका रखवाली गर्ने गोठालाहरुलाई सुसमाचार सुनाउँछन्। तिनीहरु दाहिनेपट्टि छन्। यसरी ती गोठालाले ईश्वरीय बालक येसु सानो सहर बेथलेहेममा जन्मनुभएको बुझ्न सके।

यी ईश्वरीय हस्तक्षेपहरुले, परमेश्वरले योसेफलाई दिनुभएको सपनालाई पुष्टि गऱ्यो, र उनलाई परमेश्वरमाथि भरोसा राख्न सहायता गऱ्यो।

हाम्रा निम्ति यो ठुलो सान्त्वना र उत्साहको कुरा हो। हाम्रा उद्धारकर्ता यस संसारमा सबै अन्योलता, शङ्का र हाम्रा पापमय स्वभावलाई निको पार्न आउनुभएको हो।

फेदमा दाहिनेपट्टि रहेका स्त्रीहरु सुसारे हुन्, जसले परमेश्वरका पुत्र साँच्चै मानिसको रुपमा यस संसारमा जन्मनुभयो भन्ने कुरा जनाउँछ। यहाँ एउटा पानीको फुहारा छ। ती सुसारेले बालक ख्रिस्टलाई नुहाइदिन लागेका छन्, किनकि उहाँको जन्म साधारण र फोहोर अवस्थामा भएको थियो।

यो आइकनमा, हामीले गोरु र गधा पनि देख्छौं। यी अति प्राचीन चिन्ह हुन्। यी ख्रिस्टको जन्मोत्सवका आइकन र कलात्मक आकृतिहरुमा देखा पर्दछन्। देब्रेपट्टि इस्वी सम्वत् १२०० तिर बनाइएको येसु ख्रिस्टको जन्मोत्सवको एउटा चित्र हो। यसमा विशेष गरी गोरु र गधा देखिन्छ।

प्राचीन चर्चमा गोरु यहुदीहरुको चिन्‍ह थियो। यो यहुदीका लागि शुद्ध जनावर थियो। तिनीहरुले गोरु जोत्‍ने गर्थे। गोरुलाई तालिम दिन सजिलो थियो। अनि मोसाको व्‍यवस्‍थाले यहुदीलाई शुद्ध हुन सहायता गर्दथ्‍यो र गोरुले यो कुरालाई सङ्केत गरेको छ।

यहाँ गधा छ। यो अटेरी र असभ्य पशु हो। त्यो यहुदी नियमअनुसार अशुद्ध जनावर हो। यसैकारण यसले अन्यजातिहरुको प्रतिनिधित्व गर्दछ। तिनीहरुसँग उचित र नैतिक जीवन बिताउन सहायता पुर्‍याउने मोसाको व्यवस्था थिएन। यहाँको गधाले यो कुराको सङ्केत गरेको छ।

ख्रिस्टमा यहुदी र अन्‍यजातिको मिलाप भयो र तिनीहरु एउटै जाति भए। एफिसी २:१४ ले भन्दछ, “किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ। उहाँले हामी दुबैलाई एउटै बनाउनुभएको छ, र विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइदिनुभएको छ।”

यो आइकनको माथितिर स्वर्गदूतहरु छन्, र तलतिर गोठाला, सुसारे र मानिसहरु छन्। देब्रेपट्टि बहुमूल्य उपहारसहित धेरै टाढाबाट यात्रा गरेर आएका तीन जना ज्योतिषी छन्। दाहिनेपट्टि सामान्य, गरिब, अशिक्षित गोठालाहरु छन्। बिचमा ख्रिस्ट हुनुहुन्छ, जसले यी विभिन्न मानिसलाई एकसाथ आफैमा ल्याउनुहुन्छ। उहाँले आकाश र पृथ्वी, धनी र गरिब, शिक्षित र अशिक्षित, स्वदेशी र परदेशी, आज्ञाकारी र विद्रोही, विश्वस्त र शङ्कालु सबैलाई एकसाथ मिलाप गराउनुहुन्छ। अनि तिनीहरु सबैले ख्रिस्टमा आफ्नो स्थान पाउँछन्।

युगौंयुगदेखि ख्रिस्ट गुप्‍त रहस्य हुनुहुन्थ्यो। अनि उहाँ गुफामा आउनुभएको घटना पनि धेरै जना मानिसबाट गुप्‍त थियो। तर त्यो रहस्यको महिमा ख्रिस्ट हामीमा हुनु हो। ख्रिस्ट जन्‍मिनुभएको त्यो गुफाले हरेक मानव हृदयलाई सङ्केत गर्दछ। त्‍यो गुफाले ख्रिस्टलाई स्‍वागत गरेको छ। कलस्सी १:२६-२७ मा पढ्दा हामीले यो कुरा स्पष्ट रुपमा जान्न सक्छौं।

गुफाहरुमा रहस्य र अन्धकार हुन्छ। त्‍यहाँ लुकेका कोठा र गुप्त स्थानहरु हुन्छन्। ती कुराले हामीभित्र रहेका अन्धकार र रहस्यमय हृदयलाई जनाँछ। तर ख्रिसमसको दिनमा, ख्रिस्ट प्रवेश गर्नुभएको गुफाजस्तै, हाम्रो हृदय पनि उहाँको प्रतापी महिमाको वासस्थान बन्न सक्छ। ती गोरु र गधा जस्तै हामीसँग शुद्ध र अशुद्ध हृदय हुन्‍छ। असल र खराब कुराहरु हुन्छन्। हामीसँग सैतानले कानेखुसी गरेर भनेका शङ्का वा खराब विचार छन्। तर हामीसँग थिओटोकोस अर्थात येसुकी आमा सन्त मरियम पनि छिन्, जसले हाम्रा निम्ति प्रार्थना गर्छिन्।

हाम्रो जीवनका अलमल्‍याउने सबै कुराले हामीलाई हाम्रा हृदयबाट बाहिर निकालिदिन्‍छ। यसर्थ, हामी स्‍वयम् अति सचेत हुन्‍छौं। तर जब हामी आफ्नो हृदयभित्र प्रवेश गर्छौं, त्यहाँ हामी ख्रिस्टलाई भेट्टाउँछौं। यसको अर्थ के हुन्‍छ त?

विचार गर्नुहोस्, योसेफ उठ्छन् र यसो भन्दै सैतानलाई छोडेर जान्छन्, “तँ र तेरा झुटा कुरा सुन्दासुन्दा म थाकिसकें।” अनि उनले सहायता पाउनका लागि परमेश्वरसित प्रार्थना गर्छन्। उनी उठेर ख्रिस्ट र परमेश्वरकी आमा मरियम भएको गुफातिर जान्छन्। यो हामीले आफ्‍नो हृदयभित्र प्रवेश गर्ने कुराको सङ्केतको सुरु हो।

जसरी ख्रिस्टले सानो सहर बेथलेहेमको गुफामा वास गर्नुभयो, त्यसरी नै उहाँ हाम्रो हृदयभित्र वास गर्नुहुन्‍छ। यो अनन्तकालदेखि गुप्‍त रहेको रहस्य हो।

ख्रिस्ट जन्मोत्सवको पवित्र आइकनले हामीलाई ख्रिस्टको जन्मको प्रशंसा र महिमा गर्नुपर्छ भनी स्मरण गराउँछ। प्रत्येक वर्ष ख्रिसमस उत्सव मनाउँदा त्यसले हामी हरेकलाई – ख्रिस्ट हाम्रै निम्ति आउनुभयो भनी स्मरण गराउँछ।

ख्रिस्टको जन्मोत्सव इतिहासको सबैभन्दा गम्भीर र असाधारण घटना हो। यो गोठाला र ज्योतिषीहरुलाई घोषणा गरिएको अचम्मको सुसमाचार थियो। आज सारा मानव जातिले विश्वव्यापी रुपमा आनन्द मनाउनुपर्ने एउटै मात्र कारण यही हो कि हाम्रा निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रिस्ट प्रभु हुनुहुन्छ। आउनुहोस्, यही कुरा स्मरण गर्दै हामी सबै जना मिलेर ख्रिसमस उत्सवमा सहभागी बनौं।