परमेश्वरकी आमा अर्थात् थिओटोकोसले मन्दिर प्रवेश गरेको कुराको स्मरण गर्ने यो पर्व पवित्र चर्चका महान् पर्वहरुमध्ये एक हो। यो पर्वले सन्त मरियमलाई उनका आमाबुबाले मन्दिरमा अर्पण गरेको अथवा मन्दिरमा उपस्थित गराएको कुराको स्मरण गर्दछ। थिओटोकोसलाई मन्दिरमा उपस्थित गराएको हुनाले यसलाई उपस्थितीकरण वा प्रस्तुतीकरणको पर्व पनि भनिन्छ।
यरुसलेमको मन्दिर निर्जीव कुरा थियो र परमेश्वरले त्यो निर्जीव मन्दिरमा वास गर्नुहुन्थ्यो। तर परमेश्वरकी आमा मरियमलाई त्यो मन्दिरमा उपस्थित गराइसकेपछि भने आमा मरियमको जीवित शरीर नै परमेश्वरको पवित्र वासस्थान हुन पुग्यो। यो परमेश्वरको पवित्र वासस्थानको परिवर्तन भएको कुरालाई यो पर्वले सङ्केत गर्दछ।
यो पर्व हरेक वर्ष नोभेम्बर २१ तारिखमा मनाउने गरिन्छ।
कन्ये मरियमको जन्म र उनको सुरुको जीवनका बारेमा पवित्र धर्मशास्त्र बाइबलमा विस्तृत विवरण लेखेको छैन। “याकुबको सुसमाचार” भन्ने अर्को एउटा पुस्तक छ। यो पुस्तकलाई बाइबलमा राखेको छैन। प्रोटोइभाङ्गेलियोन भन्ने गरेको दोस्रो शताब्दीको यो याकुबको सुसमाचारबाट हामीले आमा मरियम अर्थात् थिओटोकोसको बारेमा धेरै जानकारी पाउन सक्छौं।
थिओटोकोसको बुबा योयाकिम र आमा हन्ना थिए। उनीहरु वृद्ध, निःसन्तान र ईश्वरभक्त दम्पती थिए। उनीहरुले परमेश्वरलाई धेरै प्रेम गर्दथे। उनीहरुले एउटा भाकल गरेका थिए, र त्यो भाकल यस्तो थियो – यदि परमेश्वरले उनीहरुलाई सन्तान दिनुभयो भने, त्यो सन्तानलाई उनीहरुले परमेश्वरको सेवा गर्नका लागि अर्पण गर्ने छन्।
हन्नाले उचित समयमा मरियम नाम गरेकी छोरी जन्माइन्। तीन वर्ष नपुगुन्जेल, उनीहरुले छोरी मरियमलाई नासरतको गाउँमा हुर्काए र बढाए।
त्यसपछि मरियमका आमाबुबाले आफ्नो भाकल पूरा गर्न मरियमलाई यरुसलेमको मन्दिरमा लिएर गए। बप्तिस्मा दिने युहन्नाका बुबा जकरिया याजकले मरियमलाई मन्दिरको सेवा गर्ने काममा राखे। सन्त योसेफसँग मरियमको मगनी नहुन्जेल मरियमले यरुसलेमको मन्दिरमा सेवा गरिन्।
अब म तपाईंलाई मन्दिरमा परमेश्वरकी आमा अर्थात् थिओटोकोस प्रवेशको आइकनका बारेमा बताउन चाहन्छु। यो आइकनले बालिका मरियम पहिलोपल्ट मन्दिरमा प्रवेश गरेको क्षणलाई जनाउँछ। यहाँ मुख्य याजक जकरिया छन्। उनी याजकीय पोसाक लगाएर मन्दिरको सिंढीमा खडा भएका छन्। उनले आफ्ना हातहरु फैलाएर बालिका मरियमलाई लिन तयार भएका छन्। बालिका मरियमले आफ्ना हातहरु जकरियातिर अगि बढाएको कुरा पनि यो चित्रमा देख्न सकिन्छ।
मरियमको पछाडि उनका बुबा सन्त योयाकिम र आमा हन्ना खडा भएका छन्। उनीहरु आफ्नो छोरीलाई परमेश्वरको सेवामा अर्पण गर्नका लागि त्यहाँ गएका हुन्। उनीहरुका पछाडिपट्टि नासरतको गाउँबाट मरियमको साथमा यरुसलेमको मन्दिरमा आएका कन्येहरुलाई देखाइएको छ।
यो आइकनले सङ्केतको भाषा व्यक्त गरेको छ। आइकनको माथि देब्रेपट्टिको भागमा, महा पवित्रस्थानको सिंढीमा बसेकी पवित्र कन्येलाई देखाइएको छ।
उद्धारकर्तालाई यस संसारको मानव अवतारमा जन्म दिनका लागि परमेश्वरले यिनै थिओटोकोसलाई चुन्नुभयो। एउटा स्वर्गदूतले थिओटोकोसको सेवा गरेको कुरा पनि यो आइकनमा देखाइएको छ।
अब म तपाईंलाई यो पर्व कसरी मनाउने भन्ने बारेमा बताउन चाहन्छु।
परमेश्वरकी आमा अर्थात् थिओटोकोसको जन्मको पर्वझैं, उनले मन्दिर प्रवेश गरेको पर्वलाई ईश्वरीय लिटर्जीको साथमा मनाउने गरिन्छ। यो समयमा पवित्र धर्मशास्त्र बाइबलबाट केही विशेष खण्ड वाचन गरिन्छ। परमेश्वरकी आमा अर्थात् थिओटोकोसको बारेमा भएको अगमवाणीहरुका बारेमा ती खण्डले बताउँछन्।
पुरानो करारबाट वाचन गरिने धेरैजसो खण्ड (प्रस्थान ४०ː१-५, ९-१०, १६, ३४-३५; १ राजा ७ː५१, ८ː१, ३-४, ६-७, ९-११ र इजकिएल ४३ː२७-४४) ले विगतमा धेरैपल्ट परमेश्वरको मन्दिर कसरी उहाँको महिमाले भरियो भन्ने कुराका बारेमा बताउँदछन्। पत्रहरुबाटको पढाइ हिब्रु ९ː१-७ खण्ड वाचन गरिन्छ। यसले पुरानो करारको पवित्र वासस्थानको बारेमा बताउँछ, जुन यति बेला विस्थापित हुन लागेको थियो। अन्तमा, परमेश्वरकी आमा अर्थात् थिओटोकोससँग सम्बन्धित अरु पर्वमा वाचन गरेझैं लुका १ː४७-५० बाट मरियमको भजन वाचन गरिन्छ।
अर्थोडक्स ख्रिस्चियनहरुले भजन ४५ लाई पनि मन्दिरमा परमेश्वरकी आमा अर्थात् थिओटोकोसको प्रवेश र त्यहाँ उनले गर्ने सेवाका बारेमा भएको अगमवाणी हो भनेर विचार गर्छन्।
यो पर्व किन महत्वपूर्ण छ तɁ
किनभने यो पर्व मन्दिरमा परमेश्वरकी आमा अर्थात् थिओटोकोस प्रवेशको पर्व हो। यसले यरुसलेमको भौतिक मन्दिरमा परमेश्वरको वासको अन्त्य हुने कुरालाई स्मरण गर्दछ।
यसपछि सम्पूर्ण मानवजाति परमेश्वरको घर र पवित्र वासस्थान हुने भए।
ख्रिस्टका विश्वासीहरुलाई परमेश्वरको घर र पवित्र वासस्थान हुनका लागि बोलावट भएको छ, र यस पर्वमा हामी यो कुराको उत्सव मनाउँछौं।
२ कोरिन्थी ६ː१६ मा सन्त पावलले यसो भनेका छन्, “हामी जीवित परमेश्वरका मन्दिर हौं, जसरी परमेश्वरले भन्नुभएको छ, ‘म तिमीहरुमा वास गर्ने छु, र तिनीहरुका बिचमा हिंडडुल गर्ने छु, र म तिनीहरुका परमेश्वर हुने छु, अनि तिनीहरु मेरा प्रजा हुने छन्।’”
अर्को शब्दमा, मानवले बनाएको मन्दिरमा परमेश्वरले वास गर्न छोड्नुभयो र उहाँले मानवभित्र आफ्नो वासस्थान बनाउनुभयो भन्ने कुरालाई यसले सङ्केत गर्दछ। यसरी नयाँ करार सुरु हुन्छ र यसमा पुरानो करारका अगमवाणीहरु पूरा भएका छन्। यसकारण, “परमेश्वरले मानिससँग वास गर्नुहुन्छ,” भनेर इजकिएल ३७ː२७; युहन्ना १४ː१५-२३; प्रेरित ७ː४७; २ कोरिन्थी ६ː११; एफिसी २ː१८-२२; १ पत्रुस २ː४ र प्रकाश २२ː१-४ खण्डले बताएका छन्।
एउटा भजनमा लेखिएको छ, “आज परमेश्वरको असल इच्छाको आरम्भ अर्थात् अनुग्रहको आगमनको पहिलो प्रचारको दिन हो। कन्ये, परमेश्वरको मन्दिरमा प्रकट भइन्। यो पहिलेदेखि नै आशा गरिएको दिन, अर्थात् ख्रिस्टको बारेमा सबैलाई घोषणा गर्ने दिन हो। हामी सबै जना भेला होऔं र उहाँको भजन गाऔंː आनन्द गर, हे स्वर्गका वासस्थान हो। आनन्द गर, हे जीवित परमेश्वरका मन्दिर हो। तपाईं हाम्रो उद्धारकर्ता येसु ख्रिस्ट हुनुहुन्छ!”
यो पर्वमा हामीले भजन गाउँदा, हामीले यसलाई आशाको पर्वको रुपमा स्मरण गर्दछौं।
येसु ख्रिस्टको जन्म वा ख्रिसमसको पर्व आउनुभन्दा ठिक एक महिना अगि यो पर्व मनाउने गरिन्छ। यस पर्वले सन्त मरियमलाई सम्मान गर्दछ र चर्चलाई ख्रिस्टको देहधारणको समयको प्रतीक्षा गर्न सहायता गर्दछ।
सन्त मरियमलाई झैं हामीलाई पनि परमेश्वरको मन्दिर हुनका लागि बोलावट भएको छ, र यो पर्वले हामीलाई यही कुराको स्मरण गराउँछ।