पवित्र क्रुसको गौरवको पर्व
पवित्र क्रुसको गौरवको पर्व प्रभु येसु ख्रिस्टलाई क्रुसमा टाँग्नका निम्ति प्रयोग भएको ‘साँचो क्रुस’पुनः पत्ता लगाएको घटनाको स्मरण गर्ने पर्व हो। सुरुको शताब्दीमा येसुको क्रुसलाई गौरवको वस्तु ठानिएन। रोमी शासकले येसुलाई क्रुसमा मृत्युदण्ड दिए। त्यस बेला क्रुस घोर अपराधीहरुलाई मृत्युदण्ड दिने एउटा साधन थियो। यसर्थ, क्रुस भन्ने बित्तिकै यसले अत्याचार, सतावट, दुःखकष्ट, पीडा र मृत्युलाई जनाउँथ्यो। तर आज येसुको क्रुस ख्रिस्चियन विश्वासीहरुका लागि विजय र उद्धारको चिन्ह भएको छ। क्रुस साँच्चै नै हाम्रो लागि गौरवको कुरा हो। यसर्थ, चर्चले पवित्र क्रुसको गौरवको पर्व मनाउने गर्दछ।
यो पर्व हरेक वर्ष सेप्टेम्बर १४ तारिखमा मनाउने गरिन्छ। यस पर्वलाई अन्य चर्चमा “क्रुसको विजयको पर्व” वा “पवित्र क्रुसको दिन” को रुपमा पनि जानिन्छ।
पवित्र क्रुसको गौरवको पर्वले तीनवटा ऐतिहासिक घटनालाई याद गराउँछः
१. पहिलो कुरा, रोमी सम्राट कन्स्टान्टिनकी आमा सन्त हेलेनाद्वारा चौथो शताब्दीमा येसुको साँचो क्रुस पत्ता लगाएको कुरालाई यसले याद गराउँछ।
२. दोस्रो कुरा, पवित्र सेपल्चर अर्थात् येसुको चिहान र कलभरी डाँडामा कन्स्टान्टिनले दुईवटा चर्च बनाएर अर्पण गरेको कुरालाई यसले याद गराउँदछ।
३. तेस्रो कुरा, बाइजान्टिनका सम्राट हिराक्लिअस द्वितीयले यरुसलेममा साँचो क्रुसको पुनःस्थापना गरेको कुरालाई यसले याद गराउँछ।
ख्रिस्चियन परम्पराले भनेअनुसार, रोमी सम्राट कन्स्टान्टिनकी आमा सन्त हेलेनाले इस्वी सम्वत् ३२६ मा प्रभु येसु ख्रिस्टको चिहानको खोजी गर्नका लागि यरुसलेमको यात्रा गर्ने ईश्वरीय प्रेरणा पाइन्। यरुसलेमका ख्रिस्चियनहरुका मौखिक परम्परालाई आधार मानेर तिनले आफ्नो खोज सुरु गरिन्। सेपल्चर वा येसुको चिहान[1] र त्यसको नजिकै येसुको साँचो क्रुसलाई जमिनमुनि गाडिएको ठाउँ, ती दुबै ठाउँ पत्ता लगाउन तिनले खोज कार्यको नेतृत्व गरिन्, र यसरी तिनले येसुको साँचो क्रुस पत्ता लगाइन्।
इस्वी सम्वत् ३२६ मा सन्त हेलेनाले येसुको साँचो क्रुस पत्ता लगाएको समयभन्दा पहिलेको समयको पृष्ठभूमि कस्तो थियो त?
पहिलो शताब्दीमा येसु ख्रिस्टको मृत्युपछि उहाँलाई क्रुसमा टाँगेको ठाउँ र उहाँलाई चिहानमा राखेको ठाउँ, यी दुबै ठाउँलाई नष्ट पार्न र ख्रिस्चियनहरुको अस्तित्व यरुसलेमबाट र सारा पृथ्वीबाट मेटाउन रोमीहरु र यहुदीहरु दुबै मिलेर धेरै कोसिस गरे। रोमीहरुले यरुसलेममा आफ्नो प्रभुत्व जमाए। इस्वी सम्वत् ७० मा रोमीहरुले यरुसलेमको यहुदी मन्दिरलाई नष्ट पारिदिए। यरुसलेममा रोमी अन्यजाति बसोबास गरे र त्यहाँ तिनीहरुका सङ्ख्या बढ्दै गयो। तिनीहरुले यरुसलेमको पुनःनिर्माण गरे। तिनीहरुले यरुसलेममा इस्वी सम्वत् १३५ मा रोमी अन्यजाति भेनस देवताको एउटा मन्दिर पनि बनाए। तर वास्तवमा त्यो मन्दिर बनाएको ठाउँ येसुको चिहान थियो। येसुलाई मारिएको क्रुस र उहाँसँगै क्रुसमा टाँगिएका दुई जना चोरका दुईवटा क्रुस गरी ती तीनवटा क्रुस त्यो भेनस देवताको मन्दिरको जगको जमिनमुनि गाडिएको अवस्थामा थियो। तर त्यो कुरा त्यो मन्दिर बनाउने रोमीहरुलाई थाहा भएन। यसरी ती क्रुस जमिनमुनि गाडिएकै अवस्थामा रहेका थिए।
ख्रिस्चियन परम्पराले भनेअनुसार, चौथो शताब्दीको सुरुमा अर्थात् इस्वी सम्वत् ३२६ मा सन्त हेलेनाले उक्त ठाउँको उत्खनन गरिन्, र त्यो मन्दिरको जगमुनि दबेर रहेका क्रुसहरु खनेर बाहिर निकालिन्।[2]
केही वर्षपछि सन्त हेलेनाका छोरा सम्राट कन्स्टान्टिनले ख्रिस्ट क्रुसमा टाँगिनुभएको कलभरी डाँडामा पवित्र चर्च निर्माण गरे। साथै, तिनले पवित्र सेपल्चरमा पनि चर्च निर्माण गरे। अनि उनले बनाएको चर्चमा येसुको साँचो क्रुस राखेर इस्वी सम्वत् ३३५ को सेप्टेम्बर १४ तारिखमा चर्च अर्पण गरे। यसरी येसुको क्रुस पुनः पत्ता लगाएर चर्चमा राखेको गौरवमय ऐतिहासिक दिनलाई स्मरण गर्न पवित्र चर्चले पवित्र क्रुसको गौरवको पर्व मनाउन सुरु गरेको हो।
यो पर्व किन महत्त्वपूर्ण छɁ
यो पर्वले पवित्र सेपल्चर र येसुको साँचो क्रुस पुनः पत्ता लागेको कुराको स्मरण उत्सव मनाउँछ। यो संसारको शक्तिमाथि क्रुसको विजय र क्रुसद्वारा यस संसारको बुद्धिमाथि परमेश्वरको बुद्धिको विजयको पूर्ण महत्त्वको उत्सव हो। यो पर्व गुड फ्राइडेसँग मिल्दोजुल्दो छ, जुन दिन परमेश्वरका पुत्र येसु ख्रिस्ट क्रुसमा मर्नुभयो, र यसरी उहाँले मृत्युलाई नष्ट पार्नुभयो।
यसरी, सुरुका दिनमा क्रुस बर्बरतापूर्ण अत्याचारको साधन थियो। त्यसलाई परमेश्वरले ईश्वरीय “जीवनको रुख” मा परिवर्तन गरिदिनुभयो, र त्यसले मानवजातिमा आशा ल्यायो। यही कुरालाई हामी यो पर्वको अवधिमा स्मरण गर्दछौं।
पवित्र क्रुसको गौरवको पर्व कसरी मनाइन्छɁ
सेप्टेम्बर १४ तारिख चर्चका सबै विश्वासी प्रियजनका लागि उपवासको दिन हो। तर यसको अघिल्लो दिन र यसपछिका आठ दिनसम्म पनि यो पर्व मनाउने गरिन्छ। यस पर्वमा निम्न कुरा गरिन्छः
· पहिलो कुरा, क्रुसलाई माथि उठाउने – जब चौथो शताब्दीमा सन्त हेलेनाले साँचो क्रुस पत्ता लगाइन्, तब यरुसलेमका महाधर्माध्यक्ष मकारियसले सबै मानिसले देख्ने गरी त्यो क्रुसलाई माथि उचाले। ती मानिस यो आश्चर्यपूर्ण वस्तु हेर्नका लागि भेला भएका थिए। तिनीहरुले यसो भनेर प्रतिउत्तर जनाए, “हे प्रभु, दया गर्नुहोस्!” अर्थोडक्स चर्चहरुमा, यो पर्वको समयमा, क्रुसलाई याजकले वेदीबाट बाहिर निकाल्छन् र दुबै हातले उचालेर सबैलाई देखाउँछन्। अनि विश्वासी मानिसहरुले प्रार्थनासहित यसो भनेर प्रतिउत्तर जनाउँछन्, “हे प्रभु, दया गर्नुहोस्!”
· दोस्रो कुरा, तुलसीको पात प्रयोग गर्ने – ख्रिस्चियन परम्पराले बताउँदछ, फूल फुलेका तुलसीका बोटहरुका मुनि सन्त हेलेनाले साँचो क्रुस पत्ता लगाइन्। अनि तिनले तुलसीका बोटलाई “बासिलिको” अर्थात् “राजाको” भन्ने नाउँ दिइन्। यसर्थ, यो पर्वको समयमा चर्चभित्र प्लेटमा तुलसीका पातहरु राखिन्छ, र आइकन वरिपरि र क्रुसको नजिक तुलसीका पातहरु राखिन्छ। अनि विश्वासीहरुका हातमा पनि तुलसीका पात दिने गरिन्छ।
· तेस्रो कुरा, पवित्र धर्मशास्त्र वाचन गर्ने – पुरानो करारबाट प्रस्थान १५:२२-१६:१ खन्ड वाचन गर्ने, जहाँ माराको तितो पानी कसरी मिठो र जीवन दिने पानी बन्यो भन्ने कुरा लेखिएको छ। त्यो पानीमा एउटा काठको टुक्रा फालिदिनका लागि परमेश्वरले मोसालाई मार्गदर्शन गर्नुभयो। पश्चिमका चर्चहरुमा हुने लिटर्जीय वाचनले यसलाई गन्ती २१ मा उल्लेखित मोसाको काँसाको सर्पसँग पनि तुलना गर्दछ। त्यो सर्प एउटा खामोमा झुन्ड्याइएको थियो, र त्यसलाई हेरेर मानिसहरु आआफ्ना बिरामीबाट निको भएका थिए। यस पर्वमा गरिने सुसमाचार वाचनले सारा संसारको उद्धारका लागि प्रभु येसु ख्रिस्टले कसरी आफ्नो क्रुस उठाउन तयार हुनुभयो भन्ने कुरा उल्लेख गर्दछ।
· चौथो कुरा, क्रुसको आदर/ सम्मान गर्ने – यो पर्वको समयमा आठ दिनसम्म क्रुसलाई चर्चको पवित्रस्थानको बिच भागमा राख्ने गरिन्छ। अनि विश्वासयोग्य मानिसहरु चर्चमा प्रवेश गर्दा र चर्चबाट प्रस्थान गर्दा त्यस क्रुसप्रति सम्मान प्रकट गर्दछन्, त्यसको सामु घुँडा टेक्छन् र त्यसलाई चुम्बन गर्छन्। पर्वको अन्तिम दिनमा, याजक र डिकनले क्रुसलाई धूप दिन्छन्। अनि त्यो क्रुसलाई अन्तिम पल्ट सम्मान गरिन्छ र त्यस क्रुसलाई होसियारीपूर्वक फेरि वेदीमाथि लगेर राखिन्छ।
के हामीले यसरी क्रुसको आदर गर्नु भनेको क्रुसको पूजा/ आराधना गरेको हो त? कदापि होइन।
ख्रिस्चियनहरुले क्रुस वा आइकनको आदर/ सम्मान गरेको कुरा चर्च बाहिरका मानिसहरुले हेर्दा पूजा गरेको जस्तो लाग्न सक्छ। यहाँ यो कुरा स्पष्ट हुनुपर्छ, आदर/ सम्मान भन्नाले पूजा आराधना भन्ने कदपि हुँदैन। नाइसियामा इस्वी सम्वत् ७८७ मा आयोजना गरिएको विश्वाव्यापी चर्च परिषद् भेलाले परमेश्वरको मात्र आराधना गर्नुपर्छ भनेर स्पष्ट पारेको छ। क्रुस वा आइकनको आदर गर्नाले ती कुराले प्रतिनिधित्व गरेको कुरालाई स्मरण गरेको भन्ने बुझ्नुपर्छ। येसुको क्रुसलाई आदर गर्ने भन्नाले परमेश्वरको मृत्यु र मानवजातिको उद्धारलाई निरन्तर स्मरण गर्ने कुरा हो।
हामीले क्रुसको गौरवको पर्व किन मनाउने?
१. पहिलो कुरा, क्रुस हाम्रो विश्वासको प्रमुख चिन्ह हो भनेर स्मरण गर्नका लागि हो।
आज क्रुस ख्रिस्चियन विश्वासको सार्वभौम चिन्ह हो। यसलाई सुन्दर वस्तुको रुपमा हेर्ने, मानिसहरुका शोभायात्राको गतिविधिमा बोकेर अगिअगि हिंड्ने, र गहनाको रुपमा गलामा लगाउने गर्छन्। तर सुरुका ख्रिस्चियनका लागि क्रुस यस्तो कुरा थिएन। यो एउटा सरम र सङ्कोचको चिनो थियो। सन्त पावलले समेत गलाती ३:१३ मा, यसलाई श्रापको चिनो भनेका छन्। तर आज ख्रिस्टको क्रुस हाम्रा लागि जीवनको रुख भएको छ।
१ कोरिन्थी १ː१८ मा, सन्त पावलले फेरि पनि कोरिन्थको चर्चलाई यसो भनेका छन्, “नष्ट भइरहेकाहरुका निम्ति क्रुसको सन्देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरुका निम्ति परमेश्वरको शक्ति हो।” यसैले, यो हाम्रो विश्वासको मुख्य चिनो हो, र हामी परमेश्वरका छोराछोरी हौं भनेर सङ्केत गर्न समेत हामी आफैंमाथि क्रुसको चिन्ह बनाउँदछौं। येसुको क्रुस साँच्चै जीवनको रुख हो।
२. दोस्रो, क्रुस उठाउने कुरा, हाम्रो बोलावट स्मरण गर्ने चिनो हो।
येसुको क्रुस आदर गर्ने वस्तु मात्र होइन। सुसमाचारका पुस्तकहरुमा हाम्रा प्रभु येसु ख्रिस्टले हामीलाई धेरैपल्ट, “क्रुस उठाउने” कुरा भन्नुभएको छ। यसको महत्त्वलाई जोड दिन मत्ती १०ː८ मा, उहाँले यसो भन्नुभयो, “जो आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन।”
क्रुस उठाउने भन्नुको अर्थ के हो? यसको अर्थ हामीले हाम्रा प्रभु येसु ख्रिस्टको खातिर दुःख भोग्ने र मृत्यु सहने कुरा हो। हाम्रो ख्रिस्चियन जीवनमा आइपर्ने सतावट र परीक्षामा हामी सहनशील हुनुपर्छ। कठिनाइहरु स्वीकार गर्न हामीलाई बोलावट भएको हो, र यसरी हामी बद्लिन र हरेक दिन झन् धेरै उहाँको स्वरुपमा परिवर्तन हुँदै जान सकौं।
हाम्रो ख्रिस्चियन जीवनका क्रुसहरु हाम्रा अप्ठेरा खालका आफन्तहरु, हामीले हाम्रो कार्य क्षेत्रमा सामना गर्ने दबाबपूर्ण परिस्थितिहरु, हामीले घरमा सामना गर्ने तनावहरु आदि हुन सक्छन्। तर यस्ता सबै कुरा, हामीले धैर्यपूर्वक सहनै पर्छ र प्रभु येसुले झैं त्यस्ता सबै परिस्थितिमा प्रेम, दया, अनुग्रह र क्षमा देखाउनै पर्छ।
यसर्थ, यो समयमा, क्रुसको गौरवको पर्वको उत्सव मनाउँदा, हामीले आफ्ना सतावट, दुःखकष्ट, पीडा, यातना आदिका क्रुसलाई हामीले प्रार्थना गरेर आनन्दसाथ बोक्ने गर्नुपर्छ।
संसार र त्यहाँका मानवहरुले क्रुसलाई घृणाको चिन्हको रुपमा विचार गर्लान्। तर स्वर्गमा र विश्वासयोग्य मानवहरुका बिचमा भने यो सर्वोच्च महिमाको वस्तु हो। जस्तै, गरिबी पनि त घृणित कुरा हो, तर यसमा हामीले त गरिबीमा गर्व गर्न सिकेका छौं।
अनि संसारका मानवहरुले तुच्छ ठानेको यो क्रुस तिनीहरुका लागि गिल्लाको विषय हो, तर यसैद्वारा हामी हर्षित र खुसी हुन्छौं। यसर्थ, क्रुसमा हामी गर्व गर्छौं।
प्रेरित सन्त पावलले, “म घमन्ड गर्दिनँ, र म घमन्ड गर्ने छैनँ,” भनेका छैनन्, तर तिनले यसो भनेका छन्, “क्रुस बाहेक अरु कुनै पनि कुरामाथि घमन्ड गर्ने कुरा मदेखि दूर रहोस्।”
यसरी सन्त पावलले क्रुसद्वारा नै सफलता प्राप्त गर्न परमेश्वरसँग प्रार्थना गरेका कुरा स्पष्ट हुन्छ।
त्यसकारण, जब हामीले यस पर्वको समयमा क्रुस उठाउँछौं, तब हामी प्रार्थनापूर्वक आनन्दित हुँदै आफ्ना क्रुसहरु बोकौं र हाम्रा प्रभु र उद्धारकर्तालाई स्मरण गरौं, “जसले उहाँको सामु राखिदिएका आनन्दको निम्ति अपमानलाई केहीजस्तो नठानी क्रुसको कष्ट भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ।”
पवित्र त्रिएक परमेश्वरको आशिष र शान्ति तपाईंको जीवनमा रहिरहोस्।
[1] सन्त हेलेनाद्वारा पवित्र सेपल्चरमा साँचो क्रुस पत्ता लगाएको कुराका बारेमा धेरैवटा परम्परा छन्, र ती कुरा चर्चमा एक पुस्ताले अर्कोलाई सिकाउने गरेको पाइन्छ। पहिलो, इस्वी सम्वत् ३४८ मा यरुसलेमका सन्त सिरिलबाट आयो भने पछिल्लो, चौथो शताब्दीका सोक्रेटस स्कलास्टिकस र पाचौं शताब्दीका थिओडोरेट साइरसले लेखेका चर्च इतिहासबाट आयो।
[2] परम्पराले बताउँदछ, पवित्र सेपल्चर नजिक तीनवटा क्रुस गाडेको भेटियो। येसु टाँगिनुभएको साँचो क्रुस पत्ता लगाउनका लागि यरुसलेमका महाधर्माध्यक्ष बिसप मकारियसले बिरामी मानिसलाई ती तीनैवटा क्रुस छुन लगाए। त्यो बिरामीले साँचो क्रुस छुने बित्तिकै निको भयो, र यसरी साँचो क्रुस पत्ता लाग्यो।