कन्ने मरियमको डोर्मिसन अथवा स्वर्गवासको स्मरण पर्व हरेक वर्ष अगस्ट १५ तारिखका दिनमा मनाउने गरिन्छ। तर त्यसको दुई हप्ता पहिलेदेखि नै विश्वासी जनहरुले स्वर्गवासको उपवास बस्छन् र कन्ने मरियम अर्थात् पवित्र थिओटोकोसको जीवनको बारेमा स्मरण र ध्यान गरेर समय बिताउँछन्। कन्ने मरियम हाम्रा लागि महान् उदाहरण हुनुहुन्थ्यो। हामीभन्दा अघि बिदा भएका सबै सन्तहरुभन्दा उहाँ बढी महत्त्वपूर्ण हुनुहुन्थ्यो। अर्थोडक्स विश्वासी जनका निम्ति परमेश्वरकी आमा मरियम स्वर्गमा हाम्री आमा हुनुहुन्छ।
स्वर्गवासको उपवास क्रिस्चियन विश्वासको सुरुवातदेखि नै अर्थात इस्वी सम्वत् ४५० भन्दा अगिदेखि नै पवित्र चर्चमा हस्तान्तरण हुँदै हामीसम्म आइपुगेको चर्चको पवित्र परम्परा हो। पवित्र चर्चले हरेक वर्ष अगस्ट महिनाको सुरुको १४ दिनहरुलाई कन्ने मरियमको सम्मान गर्नका निम्ति अलग गर्दछ। अगस्ट १५ तारिखमा थिओटोकोसको डोर्मिसन अर्थात् स्वर्गवासको महान् चाड मनाउनको निम्ति चर्च एकसाथ भेला हुन्छ र त्यसपछि यो उपवासको समय सकिन्छ। कन्ने मरियमलाई हाम्रो क्रिस्चियन जीवनको नमुनाको रुपमा स्मरण गर्न र हाम्रा जीवनमा महान् उदाहरणका रुपमा उहाँको अनुकरण गर्न स्वर्गवासको उपवास हाम्रा निम्ति एक महत्त्वपूर्ण अवसर हो। येसुकी आमा मरियमको जीवनको बारेमा स्मरण गर्नका निम्ति हामीलाई मदत हुन सकोस् भन्ने हेतुले यस भिडियोमा हामी पवित्र धर्मशास्त्रमा उहाँको बारेमा लेखिएको पहिलो र अन्तिम लिखतलाई हेर्ने छौं।
सन्त लुकाले १:२६-३८ पदहरुमा लेखेको पूर्वसूचना जनाउने खण्डमा, हाम्रा प्रभुकी आमा मरियमको बारेमा लेखिएको वृत्तान्त नै बाइबलको पहिलो लिखित विवरण हो। जब स्वर्गदूत आए र उहाँलाई, विवाह नगरी आमा बन्नुहुने कुरा सुनाए, तब उहाँ कति धेरै अचम्मित र छक्क पर्नुभयो भन्ने कुराको बारेमा हामीले कल्पना मात्रै गर्न सक्छौं। तर उहाँ भाग्नुभएन, रुनुभएन र निरुत्साहित हुनुभएन। उहाँले त्यस कुरालाई सहर्ष स्वीकार गर्नुभयो।
लुका १:३८ पदमा यस्तो लेखिएको छ, आमा मरियमले भन्नुभयो, ‘हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्’।
जकरिया धेरै वृद्ध मानिस, सम्मानित व्यक्तित्व र अनुभवी याजक अर्थात् पुजारी थिए। तर लुका १:५-२५ पदहरुमा हामी यी वृद्ध याजकले दर्साएको अविश्वासको बारेमा पढ्छौं, जुन अविश्वास कन्ने मरियमले दर्साएको विश्वासभन्दा पूर्णतया विपरीत देखिन्छ।
हरेक व्यक्तिले आफ्नो जीवनका लागि परमेश्वरको इच्छा जान्न चाहन्छ। तर त्योभन्दा महत्त्वपूर्ण कुराचहिं परमेश्वरले हामीलाई जे भन्नुहुन्छ, हामीले त्यस कुरालाई स्वीकार गर्न तयार हुनुपर्दछ।
तर ठुलो प्रश्न यो हो, परमेश्वरले तपाईंलाई दिन इच्छा गर्नुहुने कुरालाई ग्रहण गर्न तपाईंले आफ्नो हृदयलाई कसरी तयार गर्नुहुन्छ त?
एकैछिनका लागि, तपाईंले आफ्नो हृदयलाई तरकारी बारीको माटोजस्तै हो भनी विचार गर्नुहोस् त! मानौं तपाईं बारीमा तरकारी लगाउन चाहनुहुन्छ भने, सबभन्दा पहिले तपाईंले के गर्नुहुन्छ? तपाईंले बारी खन्नुहुन्छ र त्यसमा भएका अल्झाउने ढुङ्गाहरु र झारपातहरुलाई सफा गर्नुहुन्छ। होइन र? के बारीमा त्यत्तिकै तरकारी फल्न सुरु गर्छ र? अहँ, फल्दैन।
सबैभन्दा पहिले तपाईंले जमिन खनजोत गरेर तयार गर्नुपर्छ। बारीमा गाईभैंसीको मल हाल्नुपर्छ। सायद अलिकति युरिया मल पनि खाँचो पर्न सक्छ। यसरी तपाईंले पहिले बिउ रोप्नका निम्ति माटोलाई राम्रोसित तयार गर्नुपर्छ। यसपछि तपाईंले बिउ रोप्नुपर्छ। यदि माटो राम्ररी तयार गरेको छैन भने, तपाईंले जतिसुकै राम्रो बिउ रोपे पनि त्यसबाट बिरुवा राम्रो हुँदैन र फल असल हुँदैन। यो कुरा अनुभवी किसानलाई राम्रोसित थाहा छ। बाइबलमा मत्ती १३:१-२३ लगायतका खण्डहरुमा लेखिएको बिउ छर्नेको दृष्टान्तबाट पनि यो कुरा प्रस्ट हुन्छ। जस्तै ढुङ्गेनी जमिनमा परेका बिउहरु सुकेर जान्छन्।
हाम्रा हृदयहरु पनि त्यस्तै हुन्छन्। हृदयमा धेरै यस्ता कठोर र नराम्रा कुराहरु हुन्छन्। हाम्रो जीवनका लागि के कुरा उत्तम छ भन्ने कुरा हामी जान्दछौं भनी हामी विचार गर्छौं र ती कुरा हामीले हाम्रा हृदयमा राख्छौं। हामीले सुन्न चाहने कुराहरु र सुन्न नचाहने कुराहरु दुबै हाम्रा हृदयहरुमा हुन्छन्। हामीले परमेश्वरको सेवा गर्न योग्य मानिसहरु हुनका निम्ति हाम्रा कठोर हृदयहरुलाई नरम तुल्याउनुपर्छ। यसका लागि ख्रिस्टको देह अर्थात् पवित्र चर्चले हाम्रा निम्ति भरपर्दो अभ्यासहरु दिएको छ, र ती अभ्यासहरु प्रार्थना, उपवास र दान दिने कुराहरु हुन्। यस्ता आत्मिक अभ्यासहरुले हाम्रा हृदयहरुलाई नरम तुल्याइदिन्छन्, र परमेश्वरले हाम्रा जीवनमा दिन चाहनुहुने कुरालाई ग्रहण गर्नका निम्ति हामीलाई तयार गरिदिन्छन्।
प्रार्थना – प्रार्थनाको अभ्यास गर्दा, विशेष गरेर हामीले येसुको प्रार्थना गर्न सक्छौं। यसलाई हामीले नियमित रुपले दोहोर्याउनुपर्छ। “हे प्रभु येसु ख्रिस्ट, परमेश्वरको पुत्र, कृपा गरी म पापीमाथि दया गर्नुहोस्।”
२ पत्रुस १:४ पदले हामीलाई परमेश्वरीय स्वभावमा सहभागी हुनको निम्ति आव्हान गरेको छ, र येसुको प्रार्थनाले हामीलाई मुक्तिको मार्गमा निरन्तर हिंडिरहन स्मरण गराउँछ। हाम्रो मुक्तिको यात्रालाई सफल तुल्याउनका निम्ति हामीलाई हरेक दिन परमेश्वरको दयाको खाँचो पर्दछ।
उपवास बस्नु — कहिलेकाहीं उपवासलाई हामीले परमेश्वरबाट जे चाहन्छौं, त्यो पाउने हतियारको रुपमा गलत ढंगले बुझेका हुन्छौं र यसको अपव्याख्या गर्छौं। तर उपवासचाहिं परमेश्वरले हामीलाई दिन चाहनुहुने कुरालाई प्राप्त गर्न हाम्रा हृदय तयार पार्ने उपाय हो। हामी चर्च क्यालेन्डरले तोकेको विशेष समयमा उपवास बस्छौं, र त्यो उपवास स्वर्गवासको उपवास र महान् लेन्टको उपवास हुन सक्छ।
उपवासको समयमा हामी धेरै भोजन खाँदैनौं; थोरै मात्र भोजन खान्छौं; अथवा कुनै एक छाक खान छाडिदिन्छौं र हाम्रा हृदयहरुलाई तयार गर्न बढी समय प्रार्थनामा दिन्छौं।
दान दिनु — दान दिनु भनेको हाम्रा वरपर हुनेहरुलाई सहायता गर्न मौका खोज्ने कुरा हो। विशेष गरेर हामी गरिबहरु, घर नहुनेहरु, अभिभावक नहुनेहरु र एक्लो हुनेहरुलाई आर्थिक सहायता गर्ने मौका गुमाउन चाहँदैनौं। यसले हामीसित भएका थोकहरुका निम्ति हामीलाई कृतज्ञ तुल्याउँछ, हाम्रा हृदयहरुलाई नरम बनाउँछ र हामीलाई अझ बढी नम्र बनाउँछ।
आमा मरियमले यसो भन्नुभयो, ‘हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्’। प्रार्थना, उपवास र दान दिने अभ्यासले हामीलाई यस्तै नम्र हुन सहायता गर्दछ।
आमा मरियमले कानाको विवाह भोजको समयमा बोल्नुभएको वचन नै उहाँको अन्तिम वचनको रुपमा पवित्र धर्मशास्त्रमा लेखिएको छ, र यो वचनमा उहाँले येसुलाई संकेत गर्दै भन्नुभयो, “उहाँले भन्नुभएबमोजिम तिमीहरुले गर।”
येसुले हामीलाई दिन चाहनुहुने कुराहरु प्राप्त गर्न हाम्रा हृदयहरु तयार हुनु महत्त्वपूर्ण कुरा हो भनेर हामीले हेरिसकेका छौं। अब कानाको विवाह भोजमा भएको खुसी र आनन्दको घटनालाई हामी हेरौं। येसुले ती कारिन्दाहरुलाई घ्याम्पाहरुमा पानी भर्न आज्ञा दिनुहुँदा अब के हुने होला भनेर तिनीहरुका मगजले अनुमान गर्न पनि सकेको थिएन; तैपनि तिनीहरुले चुपचाप उहाँको आज्ञा पालन गरे।
सन्त युहन्नाको सुसमाचार २:१-१२ अनुसार येसु र उहाँका चेलाहरुलाई कानाको विवाह भोजमा निम्तो दिइएको थियो। तर त्यहाँ भोजको बिचमा नै दाखमद्य सकियो। प्राचीन मध्यपूर्वमा भोजमा दाखमद्य अनिवार्य चलनजस्तै थियो। यसले प्रतिष्ठालाई जनाउँथ्यो। त्यो संस्कृतिमा दाखमद्यले आनन्द र समृद्धिलाई जनाउँथ्यो।
यसरी भोजको बिचमा दाखमद्य सकिंदा विवाहको मुखियाको घरपरिवार सबैलाई अप्ठेरो अनुभूति हुने कुरा भयो। उनीहरुका इज्जतमा आँच आउने भयो। यसैले त्यो परिवार चिन्तामा पर्यो, र तिनीहरु गएर आमा मरियमसित यो अवस्थाबारे कुरा गरे। यस्तो स्थितिका बारेमा आमा मरियमले येसुलाई बताउनुभयो।
यसपछि आमा मरियम त्यो परिवारकहाँ गएर भन्नुभयो, मैले यो सबै समस्याको बारेमा येसुलाई भनिदिएकी छु, र उहाँले भन्नुभएबमोजिम तिमीहरुले गर।
यसपछि येसुले सबैलाई आश्चर्यमा पार्ने कार्य गरिदिनुभयो। पहिले उहाँले तिनीहरुलाई ठुल्ठुला ती घ्याम्पाहरु पानीले भरिदिन अह्राउनुभयो। त्यसपछि त्यो पानी पाहुनाहरुलाई बाँडिदिन भन्नुभयो। अब आश्चर्यकर्म भयो! येसुले त्यो पानीलाई दाखमद्यमा परिवर्तन गरिदिनुभयो।
हाम्रो जीवनमा पनि धेरै पटक, येशूले हामीलाई केही यस्ता कुराहरु गर्न आग्रह गर्नुहुन्छ जसको पूर्ण अर्थ हामीले सुरुमा नबुझ्न पनि सक्छौं। उदाहरणका लागि, सन्त लुकाको सुसमाचार ६:२७-३६ खण्डअनुसार, हामीलाई चित्त दुखाउनेहरु, हाम्रा विरुद्धमा झुटो कुरा गर्नेहरु र हामीलाई खराब भन्नेहरुलाई येसुले भन्नुहुन्छ, त्यस्ताहरुलाई प्रेम गर र क्षमा गर। जबकि यस्तो अवस्थामा क्षमा र प्रेम भन्ने कुरा हाम्रो स्वभावको ठिक विपरीत कुरा हो। किनकि हाम्रो स्वभावले हाम्रा शत्रुहरुलाई प्रेम गर्ने कुरा हामीलाई कठिन हुन सक्छ। तापनि हामीले हाम्रा शत्रुहरुलाई प्रेम गर्नै पर्छ।
साथै कसैको पिठिउँ पछाडि मन नपरेका मानिसहरुका विरुद्धमा कुरा काटेर कुरौटे हुने बानी परेको व्यक्तिले, हितोपदेश २०:१९ र ११:१३ ले भनेअनुसार कुरा नकाट्न बानी गर्न पनि कठिन हुन सक्छ। तापनि हामी कुरौटे हुनुहुँदैन र यस्तो बानी छोड्नुपर्छ।
१ कोरिन्थी १५:३३ अनुसार हामीले येसुलाई प्रेम नगर्ने र खराब काम गर्ने मानिसहरुसित संगत गर्न छाडिदिनुपर्छ। कुनै बेला यसरी हाम्रा मित्रहरुलाई छाडेर टाढा हुन हामीलाई मनपर्दो हुँदैन। तापनि हामीले कठोर भएर यस्तो कदम चाल्नै पर्छ।
यदि हामीले आफूमा भएको यस्ता खराब स्वभावहरुलाई छाड्दैनौं भने, जसरी हाम्रा फोहर हात नधोई दूषित हातले खाना खाँदा हामी बिरामी हुन्छौं, त्यसरी नै यस्ता खराब आनीबानी र आचरणहरुले हाम्रो जीवनलाई दूषित बनाइदिन्छन्।
कुनै बेला कुनै काम गर्दा त्यसबाट के फाइदा हुने हो भन्नेबारे केही अत्तोपत्तो नभए तापनि त्यो काम हामीले गर्नै पर्छ। किनकि हामीले पछि गएर त्यसको फाइदा थाहा पाउँछौं। उदाहरणका लागि, चर्चले तपाईंलाई परमेश्वरीय आराधानामा नियमित सहभागी हुन र प्रभुभोज ग्रहण गर्न आग्रह गर्छ; चर्चले तपाईंका परिवारका सदस्यहरु सँगसँगै मिलेर दिनदिनै प्रार्थना गर्न अनुरोध गर्छ; चर्चले तपाईंलाई लेक्सनरीमा दिएको तालिकाअनुसार उपवास र प्रार्थना गर्न आग्रह गर्छ। यस्ता आत्मिक अभ्यासहरु पोषणयुक्त भोजनजस्तै हो, जसले हाम्रो आत्मिक जीवनलाई स्वस्थ र मजबुत बनाउँछ।
अर्को शब्दमा, हाम्रो बुद्धि र तर्कले अर्थ लगाउन नसक्ने किसिमका कामहरु गर्नुपर्दा हाम्री आमा मरियमले बोल्नुभएको वचनलाई स्मरण गर्नुपर्छ, “मरियमले भन्नुभयो, ‘हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्’।”
आमा मरियमले हामीलाई यसो पनि भन्नुभयो, “उहाँले भन्नुभएबमोजिम तिमीहरुले गर।” यसको अर्थ परमेश्वरले हामीलाई धर्मशास्त्रद्वारा सिकाउनुभएको वचनअनुसार, र हाम्रा चर्चका गोठालोहरुद्वारा पवित्र चर्चका पवित्र परम्पराहरुका अनुसरण गर्न हामीलाई सिकाएअनुसार हामीले आज्ञाकारी हुनै पर्छ।
निष्कर्ष
आमा मरियमको जीवनमा सजिलो भन्ने कुराचाहिं केही पनि थिएन। उहाँले असङ्ख्य दु:खकष्ट र कठिनाइहरुका सामना गर्नुभयो; धेरै बदनाम, भ्रम, अपव्याख्या, डरत्रास र आर्थिक कठिनाइहरु झेल्नुभयो; आफ्नै आँखाको सामुन्ने आफ्नै छोरालाई निर्दयतापूर्वक क्रुसमा टाँगेर मारिएको कठोर र डरलाग्दो स्थितिको समय गुजार्नुभयो। तापनि यी सबै परिस्थितिहरुमार्फत उहाँको हृदय परमेश्वरको इच्छाको निम्ति सदा तयार भएको हामी देख्छौं। उहाँले पूरा भरोसाका साथ यसो भन्न सक्नुभएको कुरा हामी पाउँछौं, “उहाँले भन्नुभएबमोजिम तिमीहरुले गर।”
लुका १:४८ मा आमा मरियमले आत्माले प्रेरित भएर बोल्नुभएको वचन यस्तो छ, “हेर, अब उप्रान्त सबै पुस्ताले मलाई धन्यकी भन्ने छन्।” आमेन! साँच्चै हो- सारा स्वर्गदूतहरुले, सबै सन्तहरुले र पवित्र चर्चले आमा मरियमलाई सदासर्वदा धन्यकी भन्छन्। यस कुरामा हामीले आश्चर्य मान्नुहुँदैन। हामीले पनि उहाँलाई धन्यकी भन्दछौं।
स्वर्गवासको उपवासको यी दुई हप्ताहरुमा—
हामी परमेश्वरकी आमा मरियमको जीवनका बारेमा ध्यान, मनन, विचार र स्मरण गरेर समय बिताउँछौं; हामी उहाँको वचन, जीवन र उदाहरणलाई विचार गर्छौं।
हाम्रा परमेश्वरले आफ्नो महान् दयामा सबै सन्तहरुमध्ये महान् सन्त— सदासर्वदा धन्यकी कन्ने मरियमको जीवनको उदाहरणको अनुकरण गरेर जीवन जिउन हामीलाई अनुग्रह र सहायता प्रदान गरुन्।