झम्सिखेल, ललितपुर, नेपाल

रुप परिवर्तनको पर्व

  • Home
  • रुप परिवर्तनको पर्व
रुप परिवर्तनको पर्व
July 21, 2025

हाम्रा प्रभु, परमेश्‍वर र मुक्तिदाता येसु ख्रिस्टको रुप परिवर्तनको सम्मानमा विभिन्न ख्रिस्चियन समुदायले रुप परिवर्तनको पर्व मनाउने गर्दछन्। यो पवित्र चर्चका १२ महान् पर्वमध्ये एक हो र यो पर्व हरेक वर्ष अगस्ट ६ तारिखका दिनमा मनाउने गरिन्छ।

रुप परिवर्तनको पर्वमा, तबोर पर्वतमा ख्रिस्टको रुप परिवर्तन भएको कुरालाई सम्झना गरिन्छ, जुन बेला हाम्रा प्रभु येसु आफ्‍ना चेलाहरु- प्रेरितहरु पत्रुस, याकुब र युहन्नाको सामु आफ्‍नो ईश्‍वरीय महिमामा प्रकट हुनुभएको थियो।

सुसमाचारका चारवटा पुस्तकमध्ये तीनवटाले येसुको रुप परिवर्तनको बारेमा उल्लेख गरेको छ । यी खण्‍डहरू मत्ती १७:१-९, मर्कुस ९:२-८ र लुका ९:२८-३६ हुन्। येसुले प्रेरितहरु पत्रुस, याकुब र युहन्नालाई आफ्नो साथमा लिएर तबोर पहाडमाथि जानुभयो। उहाँहरु त्यो पहाडमा हुँदा येसुको रुप परिवर्तन भयो। उहाँको चेहरा सूर्यझैं चम्किलो भयो र  उहाँको वस्त्रहरु प्रकाशझैं सेता भए।

त्‍यो बेला ख्रिस्टको साथमा मोसा र एलिया पनि देखा परे र तिनीहरुले उहाँसित बातचित गरे। यो देखेर पत्रुसलाई त्यहीं बस्न मन लाग्‍यो। यसर्थ, तिनले मोसा, एलिया र ख्रिस्टका निम्ति त्‍यहाँ बासस्थान बनाउने इच्छा व्यक्त गरे।

यो घटनामा बासस्थानको कुरा उल्लेख हुनुले, यो रुप परिवर्तनको घटना छाप्रो वासको चाड्को अवधिमा घटेको, कुरालाई सङ्केत गर्दछ। यो बेला यहुदीहरु दाखको फलको कटनी गरेका खेतबारीमा छाउनी हालेर बस्थे। किनभने छाप्रो वासको पर्वले इस्राएलको इतिहासमा, पुरानो करारको प्रस्थानको पुस्तकमा उल्लेख भएको उजाड्स्थानमा घुमिहिंडेको घटनालगायत अन्य घटनाहरुलाई समेत जोडेर हेरेको थियो।

पत्रुस बोलिरहेको बेला तिनीहरुलाई चम्किलो बादलले ढाक्यो। त्यो बादलबाट यसो भन्ने एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन।” यो सुनेर चेलाहरु अति भयभीत भएर घोप्टो परे। येसु चेलाहरुकहाँ आउनुभयो र तिनीहरुलाई ‘नडराओ’ भन्नुभयो। अनि प्रेरितहरु पत्रुस, याकुब र युहन्नाले नजर उठाएर हेरे र येसुलाई मात्र देखे।

त्‍यसपछि येसु र उहाँका चेलाहरु ख्रिस्टको रुप परिवर्तन भएको त्‍यो तबोर पहाड्बाट झरे। अनि उहाँले तिनीहरुलाई, उहाँको मृत्‍युबाट पुनरुत्थान नहुन्‍जेल तिनीहरुले देखेका यो घटनाका बारेमा कसैलाई नभन्नू, भन्नुभयो।

अब म तपाईंलाई येसुको रुप परिवर्तनको आइकनका बारेमा बताउँछु

येसुको रुप परिवर्तनको यो आइकनले ख्रिस्टले प्रेरितहरु पत्रुस, याकुब र युहन्नाको सामु पहाडमा ईश्‍वरीय स्वरुप धारण गर्नुभएको कुराको वर्णन गर्दछ। ख्रिस्चियन परम्पराले भनेबमोजिम येसुको रुप परिवर्तन भएको त्यो पहाड, तबोर पर्वत हो। यो आइकनको सम्बन्धमा धेरैवटा विवरण दिएको पाइन्‍छ, जसले हामीलाई ख्रिस्टको रुप परिवर्तनको घटनासँग सम्‍बन्धित गहन र गुप्‍त अर्थहरु बुझ्न सहायता गर्छन्।

१. यस आइकनमा हामीले मुख्य व्यक्ति- येसु ख्रिस्टलाई देख्दछौं।

यो आइकनको बिचमा प्रभु येसु ख्रिस्टको चित्र छ। आशिष् दिनलाई ख्रिस्टको दाहिने हात फैलिएको छ। उहाँको देब्रे हातमा चर्मपत्रको मुट्ठो छ, र यसले उहाँ देहधारण हुनुभएको परमेश्‍वरको वचन हुनुहुन्छ भन्ने कुरालाई सङ्केत गर्दछ। ख्रिस्टको वरिपरिको पूर्ण वृत्तले उहाँको ईश्‍वरीय महिमा र परिवर्तन गर्ने ज्योतिलाई जनाउँछ। ख्रिस्टको शिर वरिपरिको प्रभामण्डल (ज्योतिचक्र) मा अङ्ग्रेजी अक्षर ‘o’  लेखिएको छ, जसको अर्थ ‘म हुँ’ भन्ने हो। यसले प्रस्थान ३:१४ मा मोसालाई प्रकट गरिएको परमेश्‍वरको नाउँलाई सङ्केत गर्दछ  र यसले येसु ख्रिस्ट परमेश्‍वरका ईश्‍वरीय पुत्र हुनुहुन्छ भन्ने कुरा दर्साउँछ।

२. आइकनमा हामी अगमवक्ता एलिया र मोसालाई पनि देख्दछौं।

ख्रिस्टको दायाँ र बायाँतिर दुईवटा पर्वतको चुचुरामा अगमवक्ता एलिया र मोसा खडा भएका छन्। येसुको रुप परिवर्तन एउटा पर्वतमा भएको कुरा सुसमाचारका पुस्तकहरुले उल्लेख गर्छन्। तर यो आइकनले तबोर पर्वतको दायाँतिर एउटा  र बायाँतिर अर्को गरी दुईवटा अरु पर्वतहरु पनि देखाउँछ।

सिनै पर्वतमा मोसाले परमेश्‍वरसँग आमनेसामने भेटे र उनको चम्‍किलो मुहार लिएर सिनैबाट तल आए। इस्राएलीहरुले उनको चम्‍केको मुहार हेर्न सकेनन्। अनि एलिया अगमवक्‍ताले होरेब पर्वतमा परमेश्‍वरसित भेटे। अनि फेरि मोसा र एलियाले देहधारी हुनुभएको परमेश्‍वर येसु ख्रिस्टसँग तबोर पर्वतमा भेट गरे। यसर्थ, यस आइकनका मोसा र एलियाले यिनै घटनाहरुलाई स्मरण गराउँछन्।

एलियाले अगमवक्ताहरुको प्रतिनिधित्व गर्छन्। मोसाले चाहिं दश आज्ञा लेखेका ढुङ्गाका पाटीहरु समातेका छन्। यस कुराले पुरानो करारको मोसाको व्यवस्थालाई जनाउँछ।

आइकनमा,  मोसा र एलियाले ख्रिस्टको सामु आफ्‍ना शिरहरु झुकाएका छन्। किनभने ख्रिस्ट व्यवस्था र अगमवक्ताहरुको परिपूर्णता, र परमेश्‍वरको पूर्ण प्रकाश हुनुहुन्छ। मोसा र एलियाले मृतक र जीवितहरुको पनि प्रतिनिधित्व गर्छन्। एलियाले जीवितहरुको, किनकि तिनी अग्निमय रथद्वारा जिउँदै स्वर्ग लगिएका थिए। मोसाको चाहिं शारीरिक रुपमा मृत्यु भएको थियो। यसर्थ, मोसाले शरीरमा मरेका सन्‍तहरुको प्रतिनिधित्‍व गर्दछन्।

३. हामी यो आइकनमा तीन जना प्रेरितहरुलाई पनि देख्‍छौं।

येसु ख्रिस्टको चित्रको मुन्तिर प्रेरितहरु पत्रुस, याकुब र युहन्नाको चित्र छ।

तबोर पर्वतमा ख्रिस्टको रुप परिवर्तन भएको समयमा तिनीहरु त्‍यहाँ थिए। प्रभुको रुप परिवर्तन भएको कुरालाई उनीहरुका आफ्‍नै आँखाले देखे।

यो चित्रले उनीहरुले त्‍यो बेला कस्‍तो प्रतिक्रिया जनाए भन्‍ने कुरा देखाउन खोजेको छ।  यहाँ उनीहरु डराएका छन्। सन्त मत्तीको सुसमाचारले लेखेअनुसार उनीहरु घोप्टो परेका छन्। याकुबले आफ्ना हातहरुले आफ्ना कानहरु छोपेर उत्तानो परेका छन्। बिचमा युहन्ना घोप्टो परेका छन्, र पत्रुसले चाहिं तीनवटा बासस्थान बनाउने इच्‍छा व्‍यक्‍त गर्दै आफ्‍नो देब्रे हात उचालेका छन्।

यो चित्रमा यी प्रेरितहरुले आफ्‍ना वस्त्रहरु ठिक ढङ्गले सम्‍हाल्‍न सकेका छैनन्। यसर्थ, येसुको रुप परिवर्तनको त्यो दृश्‍य भयानक रुपमा आश्‍चर्यचकित तुल्‍याउने खालको थियो भन्‍ने कुरा प्रस्ट बुझ्‍न सकिन्‍छ।

हामी रुप परिवर्तनको पर्व किन मनाउँछौंॽ

रुप परिवर्तनको घटनाले परमेश्‍वरका पुत्रको रुपमा प्रभु येसु ख्रिस्टको महिमालाई प्रकट गरेको छ। उहाँ स्वर्गमा उक्लिनुहुन्‍छ भन्‍ने कुरालाई पनि यो घटनाले पूर्वसूचित गरेको छ।

यसकारण, रुप परिवर्तनको पर्वले यो घटनाको स्‍मरण गर्दछ र त्रिएक परमेश्‍वरमध्ये दोस्रो व्यक्ति ख्रिस्ट येसुको अनन्त महिमा प्रकट भएको यो घटनामा आनन्द मनाउँछ।

ख्रिस्टले मानव रुपमा देहधारण गरेर यो संसारमा जीवन बिताउनुभएको समयमा, तबोर पर्वतमा प्रकट भएको उहाँको यो स्‍वर्गीय महिमालाई घुम्टोले ढाकेको थियो।

यो रुप परिवर्तनको पर्वले विश्‍वासीहरुलाई दुईवटा मुख्य कुरा स्मरण गराउँछः

पहिलो कुरा, यसले हामीलाई स्वर्गको महिमाको आशा गर्नुपर्छ भनी स्मरण गराउँछ, जहाँ हामी परमेश्‍वरलाई आमनेसामने देख्ने छौं। अनुग्रहद्वारा हामी अघिबाटै अनन्त जीवनको त्यो ईश्‍वरीय प्रतिज्ञामा सहभागी भएका छौं। तर जसरी ख्रिस्ट परिवर्तन हुनुभएको थियो, त्यसरी नै हामी पनि एक दिन एउटा महिमादेखि अर्को महिमामा परिवर्तन हुने छौं। यसरी परमेश्‍वरले हामी जे बन्नुपर्छ भन्ने उद्देश्य राख्नुभएको छ, हामी त्यही बन्ने छौं। वास्तवमा, हामीलाई पवित्र बनाउने यो रुपान्तरणको कार्य हामीले पवित्र आत्मा पाएको समयदेखि सुरु हुन्‍छ, र हामी आत्माको कामद्वारा प्रभु येसु ख्रिस्टको स्वभावमा दिनदिनै परिवर्तन हुँदै जान्छौं। यसलाई हामी थिओसिस भन्छौं।

सन्त पावलले रोमी ८:१८-२१ मा हामीलाई भविष्यको हाम्रो महिमाको बारेमा यसरी बताएका छन् –

‘म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिने छ, त्‍यससँग वर्तमान समयका कष्‍टहरु तुलना गर्न योग्‍य छैनन्‌। सृष्‍टि बड़ो उत्‍कण्‍ठाले परमेश्‍वरका पुत्रहरु प्रकट हुने कुराको प्रतीक्षा गर्छ। सृष्‍टि व्‍यर्थताको वशमा पारियो। त्‍यसको आफ्‍नै इच्‍छाले होइन, तर उहाँको इच्‍छाले, जसले त्‍यसलाई वशमा पार्नुभयो। यसै आशामा, कि सृष्‍टि त्‍यसको आफ्‍नै विनाशको बन्‍धनबाट मुक्त गराइने छ, र त्‍यसले पनि परमेश्‍वरका सन्‍तानको महिमित स्‍वतन्‍त्रता प्राप्‍त गर्ने छ।’

दोस्रो कुरा, महिमातर्फको यात्रामा दुःख-कष्टको साँगुरो घाटी भएर जानुपर्छ। त्यो रुप परिवर्तनको घटनाले हामीलाई यो बताउँछ, कि ख्रिस्टले क्रुसको बाटोमा हिंड्नुभयो र उहाँको महिमा भयो। युहन्ना १७: ४ र ५ मा प्रभु येसुको प्रार्थनामा यस कुरामा जोड् दिइएको छ-

‘जुन काम तपाईंले मलाई दिनुभयो, त्‍यो पूरा गरी तपाईंलाई पृथ्‍वीमा मैले महिमित तुल्‍याएको छु। अब हे पिता, संसारको सृष्‍टि हुन अघि तपाईंको सम्‍मुख मेरो जुन महिमा थियो, त्‍यसैले आफ्‍नो उपस्‍थितिमा मलाई महिमित पार्नुहोस्‌।’

यसकारण हामी ख्रिस्चियन विश्‍वासी भएकोमा हामीले पहिले ख्रिस्टको साथमा दुःखकष्‍ट भोग्यौं भने, हामी उहाँसँगै महिमित हुने छौं। अर्को शब्दमा, दुःखकष्‍टको क्रुस उठाएबिना हाम्रो महिमा हुँदैन।

यसैकारण सुरुका चर्च फादरहरुले हामीलाई लेन्टका समयहरुजस्तै प्रार्थना, पश्‍चाताप र उपवास जस्ता पचित्र चर्चका धेरैवटा परम्परा हस्तान्तरण गरेका छन्। यसले हामीलाई यो सम्झना गराउँछ, कि आत्मिक उचाइहरु उक्लन र परमेश्‍वरसित बातचित गर्न हामीले सधैं प्रार्थनामा समय बिताउनुपर्छ। यसका लागि हामीले आफ्नो जीवन शैली बद्लिनुपर्छ।

अन्‍त्‍यमा, हामीले येसुको रुप परिवर्तनको पर्व मनाउँदा परमेश्‍वरको महिमा झल्काउनका निम्ति हाम्रा जीवनहरु परिवर्तन हुन सकोस् भनी प्रार्थना गरौं!