पेन्तिकोसको पर्व
पेन्तिकोसको पर्व अर्थोडक्स चर्चका १२ वटा महान् पर्वहरुमध्ये एउटा हो। यसलाई ट्रिनिटी डे वा त्रिएक दिवस पनि भनिन्छ। पेन्तिकोसको पर्वको दिन पवित्र चर्चको जन्मदिन हो। किनभने यसै दिनमा पवित्र आत्मा प्रेरित र ख्रिस्टका अरु चेलामाथि आउनुभयो र यस संसारका निम्ति चर्चको मिसनको सुरुवात भयो। यही कुराको स्मरण गरेर पेन्तिकोसको पर्व मनाउने गरिन्छ।
पेन्तिकोसको पर्वको पृष्ठभूमि के हो?
यो यहुदीहरुको सभुओट पर्वको अवधिमा घटेको घटना थियो, जसलाई नेपालीमा ‘अगौटे फलहरुका पर्व’१ वा ‘हप्ताहरुका पर्व’ भनिन्छ। त्यो पर्व मे अथवा जुन महिनाको फसल कटनी गर्ने समयमा मनाउने गरिन्थ्यो। इस्राएलीहरुले यस बेला परमेश्वरलाई धन्यवाद स्वरुप आआफ्ना फसलको अगौटे फल यरुसलेमको मन्दिरमा चढाउँथे। ग्रीक भाषामा यसलाई पेन्तिकोस वा पचासौं दिन भनिन्छ। किनभने यो पर्व यहुदी निस्तार-चाड्को पचास दिनपछि पालन गरिन्थ्यो।
यो पेन्तिकोसको पर्व तीर्थयात्राको पर्व हो। यो यहुदीहरुले यरुसलेमको मन्दिरको यात्रा गर्ने दिनको पर्व हो। यहुदीहरु जुनसुकै ठाउँमा बसोबास गरेको भए तापनि उनीहरुका व्यवस्थाअनुसार वयस्कहरु सबैले यो पर्व मनाउनका लागि यरुसलेमको मन्दिरको यात्रा गर्नुपर्थ्यो।
त्यसकारण, प्रेरितको पुस्तकले भनेअनुसार, प्रेरितहरुमाथि पवित्र आत्मा आउनुभएको पेन्तिकोसको पर्वको दिनमा सारा संसारबाट धेरै जना यहुदी यरुसलेममा आएका थिए।
पेन्तिकोसको घटना किन महत्त्वपूर्ण छ?
चर्चको क्यालेन्डर वर्षको दोस्रो सबैभन्दा महत्त्वपूर्ण पर्व नै पेन्तिकोसको पर्व हो। चर्चमाथि पवित्र आत्मा आउनुभएका कारणले गर्दा यो इस्टरपछि दोस्रो महत्वपूर्ण पर्व हो। पुरानो करारको अवधिमा, परमेश्वरका आत्मा अगमवक्ताहरुमाथि कहिलेकाहीं मात्र आउनुहुन्थ्यो र उनीहरुलाई सामार्थ्य प्रदान गर्नुहुन्थ्यो। तर पेन्तिकोसको दिनबाट पवित्र आत्मा ख्रिस्टले प्रतिज्ञा गर्नुभएजस्तै सधैंभरि उहाँका चेलाहरुका साथमा रहन आउनुभयो।
• पवित्र आत्मा निरन्तर हाम्रो साथमा रहने मित्र हुनुहुन्छ। यसकारण प्रभु येसु ख्रिस्ट स्वर्गमा चढिजानुभएपछि प्रेरितहरु दुःखी भएनन्। ख्रिस्टले पवित्र आत्माद्वारा तिनीहरुका जीवनमा निरन्तर उपस्थिति भइरहने प्रतिज्ञा गर्नुभयो। पवित्र आत्मा नै येसुका चेलाहरुका सहायक र शान्तिदाता हुनुभयो।
• पवित्र आत्मा शक्तिको स्रोत हुनुहुन्छ। प्रभु येसुले आफ्ना चेलाहरुलाई सारा संसारमा जाओ र चेलाहरु बनाओ भनेर महान् आज्ञा दिनुभयो। यो उहाँले आफ्ना चेलाहरुलाई दिनुभएको अन्तिम आदेश थियो। तर यो कार्य पूरा गर्नका निम्ति तिनीहरुले पहिले पवित्र आत्मालाई पर्खनुपर्यो। उहाँले तिनीहरुलाई शक्ति दिनुभयो। यहुदीहरुका डरले घरभित्र लुकेर बसेका प्रेरितहरुले पेन्तिकोसका दिनमा ‘माथिबाटको शक्ति’ प्राप्त गरे। अनि तिनीहरु साहसी भए। तिनीहरुले येसुको प्रचार गरे र उहाँ पुनर्जीवित हुनुभएका ख्रिस्ट र प्रभु हुनुहुन्छ भनेर गवाही दिए। पवित्र आत्माको शक्तिले तिनीहरुलाई सतावटको सामना गर्ने र अन्ततोगत्वा ख्रिस्टको खातिर सहिद हुने साहस दिनुभयो।
• पेन्तिकोसमा, त्रिएक परमेश्वर प्रकट हुनुभयो। यसअघि ख्रिस्टको बप्तिस्माको समयमा पवित्र आत्मा ढुकुरको रुपमा प्रकट हुनुभएको थियो। तापनि सधैं मानिसहरुका बिचमा रहनलाई परमेश्वरको शक्ति र उपस्थितिका रुपमा पेन्तिकोसको दिनमा नै पवित्र आत्मा अलग व्यक्तिका रुपमा प्रकट हुनुभयो र ख्रिस्टका सबै चेलाका जीवनमा बास गर्नुभयो। यो परमेश्वरले सारा सृष्टिका सामु आफैलाई अन्तिम पटक प्रकट गर्नुभएको घटना हो। यो घटनापछि पवित्र चर्चले, परमेश्वर त्रिएक हुनुहुन्छ अर्थात् एकमा तीन व्यक्ति हुनुहुन्छ भनेर बुझ्न सकेको हो। यो पर्वको दिनमा चर्चका भजन र लिटर्जीहरुले पवित्र आत्माको आगमनको उत्सव र त्रिएक परमेश्वर पूर्ण रुपमा प्रकट हुनुभएको उत्सव मनाउँछ। यसैकारणले गर्दा पेन्तिकोसको आइतबारलाई अर्थोडक्स परम्परामा ‘ट्रिनिटी डे’ पनि भनेको हो।
• पेन्तिकोस दिन यो संसारमा चर्चको मिसनको सुरुआत थियो। ख्रिस्टको स्वर्गारोहणले उहाँको पृथ्वीको मिसन अन्त्य भएको कुरा बताउँछ। तर पेन्तिकोसले ख्रिस्टको मिसन उहाँका चेलाहरुद्वारा निरन्तर अगि बढेको कुरा जनाउँछ। चेलाहरुले ख्रिस्टबाट तालिम लिइसकेपछि, परमेश्वरका पवित्र आत्माले तिनीहरुलाई शक्ति र साहसले भर्नुभयो। अनि यरुसलेमका र संसारका सबै मानिसलाई येसुको सुसमाचारको सन्देश सुनाउन र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिनका निम्ति चेलाहरुलाई पवित्र आत्माको शक्ति चाहिएको थियो।
• पेन्तिकोस क्रिस्चियन युगको सुरुआत हो। ‘आखिरी दिनहरुमा’ सबै मानिसमाथि पवित्र आत्मा खन्याइने छ भनेर योएल अगमवक्ताले भविष्यवाणी गरेका थिए। यसर्थ, चर्चले पेन्तिकोसलाई परमेश्वरको राज्यको क्रिस्चियन युगको सुरुआतको रुपमा लिन्छ। अनि पेन्तिकोसलाई भविष्यसूचक अर्थात् भविष्यको रहस्य प्रकट गर्ने र युगान्तविज्ञान अर्थात् युगको अन्त्यका घटनाहरुका दिन पनि भनिन्छ।
धेरै कारणले पेन्तिकोसको दिनको महत्त्व छ र चर्चले सुरुदेखि नै यसको पालना गर्ने कुरालाई महत्त्व दियो। दोस्रो शताब्दीदेखि पेन्तिकोसको दिनलाई नयाँ विश्वासीहरुलाई बप्तिस्मा दिने उपयुक्त र असल दिन मानियो। त्यसअघि इस्टरको दिनमा बप्तिस्मा दिने गरिन्थ्यो। अनि पेन्तिकोसको दिनलाई चर्चको लिटर्जीको वर्षमा धेरै महत्व दिन सुरु भयो। महान् लेन्ट सुरु नहुन्जेल सबै आइतबार र अरु दिनलाई, पेन्तिकोसको दिनबाट गणना गरिन्छ। उदाहरणका लागि, ‘पेन्तिकोसपछिको दोस्रो आइतबार।’ पाँचौं शताब्दीका सन्त जोन क्रिसोस्टोमले पेन्तिकोसको विषयमा यसो भने, ‘आज हामी सबै आशिषको उच्च बिन्दुमा पुगेका छौं। हामी पर्वहरुका केन्द्रमा आइपुगेका छौं, र हामीले प्रभुको प्रतिज्ञाको त्यो फल प्राप्त गरेका छौं।’
यो पर्व कसरी मनाइन्छ?
पेन्तिकोसको पर्व सधैं आइतबारको दिनमा पर्छ। यसैले आइतबारको दिनमा आराधना गर्ने मुलुकमा पेन्तिकोसको पर्व ईश्वरीय लिटर्जीको साथमा पालन गरिन्छ। अर्थोडक्स चर्चमा पेन्तिकोसको पर्व निरन्तर रहन्छ। विभिन्न अर्थोडक्स चर्चका परम्पराअनुसार दिनको सङ्ख्या फरक हुन सक्छ। भारतका अर्थोडक्स चर्चमा पेन्तिकोसको पर्वबाट पेन्तिकोस काल सुरु हुन्छ र यो येसुको रुप परिवर्तनको पर्व अर्थात् अगस्ट ६ तारिखसम्म रहन्छ।
पहिलो कुरा, यसमा तीन भागको लिटर्जी हुन्छः भारतका चर्चहरुमा पवित्र त्रिएकत्वको उत्सव मनाउन ईश्वरीय लिटर्जीलाई तीन भागमा बाँडिन्छः पहिलो भागमा पिता परमेश्वरलाई सम्बोधन गरिन्छ। दोस्रो भागमा पुत्र परमेश्वरलाई, र तेस्रो भागमा पवित्र आत्मालाई सम्बोधन गरिन्छ। त्रिएक परमेश्वरका तीन व्यक्तिका कामका तीन चरण – सृष्टि, छुटकारा र मानिसको जीवनमा वास, यी नै कुरामा विचार र मनन गर्नका लागि पेन्तिकोसको लिटर्जीलाई तीन भाग लगाइएको हो।
दोस्रो कुरा, घुँडा टेकेर वा घोप्टो परेर प्रार्थना गर्ने गरिन्छः पेन्तिकोसको पर्वको मुख्य भाग घुँडा टेकेर वा घोप्टो परेर गर्ने प्रार्थनाहरु हुन्। इस्टर्न अर्थोडक्स चर्चमा पेन्तिकोसको राती महान् सन्त बासिलले रचेका तीनवटा प्रार्थना गर्दा विश्वासीहरुले घुँडा टेकेर वा घोप्टो परेर प्रार्थना गर्छन्। पवित्र हप्तापछि पहिलोचोटि घुँडा टेक्न वा घोप्टो पर्न दिएको हुनाले यो महत्त्वपूर्ण छ। भारतका चर्चमा याजक र विश्वासीले ईश्वरीय लिटर्जीको अन्त्यमा वेदीको सामु घुँडा टेक्छन्, र पवित्र आत्मा ओर्लेर आउनुहुँदा चेलाहरुले गरेझैं शान्तिदाताको आगमनको निम्ति आफैलाई तयार पार्न र एकअर्कालाई सचेत गराउन एकले अर्कोको पिठिउँमा हलुका तवरले छुन्छन्। याजकले समापनको प्रार्थना नगरुन्जेल सबैले निरन्तर लय हालेर ‘कुरिए एलाइसोन’ भन्छन्।
तेस्रो कुरा, पानी छर्कने: घुँडा टेकेर प्रार्थना गरेपछि याजकले वेदीमा र विश्वासीहरुमाथि पानी छर्कन्छन्। त्यसले हाम्रो बप्तिस्मामा हामीलाई मुरोनको तेलले अभिषेक गर्दा हामीले पवित्र आत्माको शक्ति पाएको कुरालाई सङ्केत गर्दछ। यो बेला याजकले ख्रिस्टले पवित्र आत्माको विषयमा बोल्नुभएको वचन बोल्छन्, ‘यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस् … त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरु बगिनिस्कने छन्।’
चौथो कुरा हो – रङ: पेन्तिकोसको पर्वसित सम्बन्धित लिटर्जीको रङ हरियो हुन्छ। त्यसकारण यस पर्वका समयमा अर्थोडक्स चर्च भवनमा प्रायः धेरै हरियो रङ र फूलहरुले सिंगारिएका हुन्छन्। यो यहुदीहरुको कटनीको पर्व सभुओट जस्तै हो। यसले विश्वासीहरु निरन्तर पवित्र आत्माको फल फलाउन बोलाइएका हुन् भनी स्मरण गराउँछ।
अब म तपाईंहरुलाई पेन्तिकोसको पर्वको ईश्वरशास्त्रीय अर्थ बताउँछु
पहिलो अर्थ हो – चर्च नयाँ इस्राएल होः पेन्तिकोसको घटना परमेश्वरले अब्राहामद्वारा सारा संसारलाई आशिष् दिने छु भनी उहाँले तिनीसँग गर्नुभएको प्रतिज्ञा पूरा भएको कुरा हो। पेन्तिकोसका दिन विश्वासीहरुमाथि पवित्र आत्मा ओर्लनुभयो र संसारका सबै जातिलाई अब्राहामका सन्तान र प्रतिज्ञाहरुको हकदार बनाउनुभयो। त्यसैले चर्च नयाँ इस्राएल हो र पेन्तिकोसको पर्व परमेश्वरको मुक्तिको योजनाको अन्तिम चरण हो।
दोस्रो अर्थ हो – सुसमाचारको आज्ञाको दृढ स्वीकार: पेन्तिकोसको घटना बाबेलको धरहरामा भएको घटनालाई उल्टाइएको हो भनेर सुरुका चर्च फादरहरुले शिक्षा दिए। बाबेलमा, मानवीय अहङ्कारका कारणले धेरैवटा भाषाको जन्म भयो र त्यसले अन्योलता उत्पन्न गऱ्यो। तर पेन्तिकोसमा परमेश्वरका आत्माले मानव आत्माका उद्धारका लागि विभिन्न भाषाद्वारा एकता ल्याउनुभयो। यसर्थ, अन्य भाषाको वरदानद्वारा सारा संसारभरि सबै भाषामा येसुको सुसमाचार प्रचार हुनुपर्छ।
तेस्रो अर्थ हो – वरदानहरुका दाताः पवित्र आत्माले हामीलाई सुसमाचारको कामका निम्ति शक्तिशाली तुल्याउन धेरैवटा वरदान दिनुहुन्छ र यी नै वरदानद्वारा हामी ख्रिस्टको देहको निर्माण र सुधार गर्न सक्छौं। पेन्तिकोसको लिटर्जीका भजनमा व्यक्त भएअनुसारः ‘पवित्र आत्माले सबै वरदान दिनुहुन्छ। उहाँले अगमवाणीलाई प्रेरित गर्नुहुन्छ। पुजारीपनलाई सिद्ध तुल्याउनुहुन्छ। अशिक्षितहरुलाई ज्ञान दिनुहुन्छ। साधारण मछुवाहरुलाई बुद्धिमानी ईश्वरशास्त्री तुल्याउनुहुन्छ। चर्चको आराधनालाई पूर्ण रुपमा व्यवस्थित तुल्याउनुहुन्छ।’ प्रेरित सन्त पावलले कोरिन्थीहरुको चर्चलाई भनेका छन्, हामी सबैलाई भिन्न भिन्न वरदानहरु दिइएको छ, तर ती सबै वरदानका स्रोत एउटै पवित्र आत्मा हुनुहुन्छ।
चौथो, यो हाम्रो आफ्नै पेन्तिकोस हो – अर्थोडक्स ख्रिस्चियनहरुका निम्ति पेन्तिकोसको पर्व धेरै शताब्दीअघि घटेको घटनालाई स्मरण गर्ने उत्सव मात्र होइन। यो हामी चर्चका सदस्य हौं भनेर स्वीकार गर्ने उत्सव पनि हो। किनभने हरेक ख्रिस्चियनले पेन्तिकोसको अनुभव गर्नु र पवित्र तेलको अभिषेकको संस्कारद्वारा ‘पवित्र आत्माको वरदानको छाप’ प्राप्त गर्नुपर्छ। हामी पवित्र आत्माका मन्दिरहरु हौं र परमेश्वरले हामीभित्र वास गर्नुहुन्छ।
पाँचौं कुरा, यो थियोसिस वा ईश्वरीय स्वभावको स्रोत हो – ईश्वरीय स्वभाव हाम्रो विशेषाधिकार हो र पवित्र जीवन जिउने हाम्रो जिम्मेवारी हो भनेर सन्त पत्रुसले स्मरण गराएका छन्। परमेश्वरले इस्राएलीहरुलाई भन्नुभयो, ‘तिमीहरु पवित्र होओ, किनभने म पवित्र छु।’ तर हामी जान्दछौं, पापबाट बच्नु असम्भव छ। त्यसैकारण परमेश्वरले व्यवस्था ५:२९ मा भन्नुभयो, ‘सधैं मेरो भय मान्ने र मेरा सबै कुरा पालन गर्ने हृदय तिनीहरुमा भए हुने थियो। यसरी सधैंभरि तिनीहरु र तिनीहरुका सन्तानको भलो हुने थियो।’ मानवजाति सधैं विद्रोही र पापी भएको छ। यसर्थ हाम्रो हृदय र मनको परिवर्तन हुनु आवश्यक छ। हामीलाई नयाँ जन्म दिन र एउटा महिमादेखि अर्को महिमामा परिवर्तन गर्न पवित्र आत्मा दिइएको हो।
यस्तो कसरी हुन्छ? प्रभु येसुले आफ्ना चेलाहरुलाई भन्नुभयो, पवित्र आत्माको काम उहाँका चेलाहरुलाई परमेश्वरको इच्छा बुझ्न सहायता गर्नु हो। युहन्ना १४:२६ मा लेखिएको छ, ‘उहाँले तिमीहरुलाई सबै कुरा सिकाउनुहुने छ र मैले तिमीहरुलाई भनेका सबै कुरा तिमीहरुलाई याद दिलाउनुहुने छ।’ फेरि युहन्ना १५:२६ र १६:१३ मा, येसुले पवित्र आत्माको विषयमा यसो भन्नुभयो, ‘उहाँले मेरो विषयमा गवाही दिनुहुने छ’, र हामीलाई ‘सबै सत्यतामा’ डोऱ्याउनुहुने छ।
त्यसकारण पेन्तिकोस हाम्रो निम्ति धेरै महत्त्वपूर्ण छ। परमेश्वरका आत्मा हामीभित्र बास गरिरहनुभएको छ। हामीलाई सिकाइरहनुभएको छ। हाम्रा पाप देखाइरहनुहुन्छ, र हामीलाई सत्यतामा डोऱ्याउनुहुन्छ, र त्यो सत्य हाम्रा प्रभु येसु ख्रिस्ट आफै हुनुहुन्छ। हामीले सधैं प्रार्थना गरेझैं, पेन्तिकोसको पर्वमा पनि हामी ज्योतिमा हिंड्न सकौं, परमेश्वरको इच्छामा जिउन सकौं, र दिनहुँ प्रभु येसुजस्तै हुन सकौं भनेर प्रार्थना गरौं।