झम्सिखेल, ललितपुर, नेपाल

स्वर्गारोहणको पर्व

  • Home
  • स्वर्गारोहणको पर्व
स्वर्गारोहणको पर्व
स्वर्गारोहणको पर्व
July 21, 2025

ख्रिस्टको स्वर्गारोहणको पर्वले हाम्रा प्रभु येसु ख्रिस्ट स्वर्गमा उचालिनुभएको कुराको स्मरण गर्दछ। अर्थोडक्स लिटर्जीको वर्षमा १२ वटा महान् पर्वहरु छन् र तीमध्ये यो एउटा पर्व हो। यो पर्व इस्टरपछिको चालिसौं दिनमा मनाउने गरिन्छ, किनभने प्रेरित १:३ मा प्रेरित सन्त लुकाले दिएको विवरणअनुसार, हाम्रा प्रभु येसु ख्रिस्टको पुनरुत्थान भएपछि उहाँले चालिस दिन आफ्ना चेलाहरुका साथमा बिताउनुभयो। त्यसपछि उहाँ स्वर्गारोहण हुनुभयो। पवित्र चर्चको परम्पराले पनि बेथानिया नजिकको जैतुन पहाड भन्ने स्थानबाट प्रभु स्वर्गारोहण हुनुभयो भनेर बताएको छ। येसु इस्टरको आइतबारको बिहान मृतकबाट पुनरुत्थान हुनुभयो। त्यसपछि, उहाँ आफ्ना चेलाहरुकहाँ विभिन्न स्थानमा निरन्तर देखा पर्दै यस पृथ्वीमा चालिस दिन बिताउनुभयो। उहाँले चेलाहरुसित बोल्नुभयो र खानपान गर्नुभयो। यसरी उहाँले आफ्नो पुनरुत्थानको सत्यताको बारेमा अझ धेरै कुरा प्रकट गर्नुभयो।

येसुको पुनरुत्थानको चालिसौं दिनमा उहाँ फेरि यरुसलेममा आफ्ना चेलाहरुकहाँ देखा पर्नुभयो र उनीहरुलाई धेरै कुरा भन्नुभयो। अनि उहाँले उनीहरुलाई आफ्नो अन्तिम आज्ञा दिनुभयो। यसपछि चेलाहरु सारा संसार गएर सबै जातिका मानिसहरुलाई येसुको नाउँको घोषणा गर्नुपऱ्यो।

येसुले आफ्ना चेलाहरुलाई अर्को आज्ञा पनि दिनुभयो। उनीहरुले आफ्नो सेवकाइ सुरु गर्नुभन्दा पहिले पवित्र आत्माको शक्ति प्राप्त गर्नका निम्ति उनीहरु पर्खनुपर्ने थियो।

 

यी कुरा गर्नुभएपछि, येसुले चेलाहरुलाई जैतुन पहाडततिर लानुभयो, र उनीहरुलाई आशिष् दिनुभयो। त्यसपछि चेलाहरुका आँखाकै अगाडि येसु बादलमा स्वर्गतिर उचालिनुयो। प्रचारक सन्त मर्कुसले यसरी लेखेका छन्, ‘उहाँ स्वर्गारोहण हुनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो।’ चेलाहरुले माथि आकाशतिर हेरिरहेका बेला सेतो पोसाक लगाएका दुई स्वर्गदूत मानिसको भेसमा उनीहरुकहाँ देखा परे र भने, ‘ए गालिलका मानिस हो, तिमीहरु किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येसु, जो तिमीहरुबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरुले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुने छ। त्यसपछि, चेलाहरु यरुसलेम फर्के, र प्रार्थना गरे र आज्ञाकारी भएर पवित्र आत्माको प्रतिज्ञालाई पर्खेर बसे। स्वर्गारोहणको घटना किन महत्त्वपूर्ण छ? यो ख्रिस्टको सांसारिक जीवनको अन्तिम घटना हो। ख्रिस्टको पुनरुत्थान भएपछि उहाँ यस संसारबाट अन्तिम रुपले शारीरिक रुपमा प्रस्थान हुनुभएको घटना नै स्वर्गारोहण हो।

मसिह अर्थात् येसु ख्रिस्ट संसारका मानवजातिका उद्धारकर्ता हुनुहुन्छ। अनि ख्रिस्टको स्वर्गारोहण यो संसारमा उहाँको मिसन कार्यको औपचारिक समाप्ति हो। परमेश्वर पिताले येसुलाई जुन कामका निम्ति यो संसारमा पठाउनुभएको थियो, उहाँले त्यो काम पूरा गर्नुभयो। त्यसपछि उहाँ महिमामा पिताकहाँ फर्केर जानुभयो र उहाँको स्वर्गारोहण उहाँको महिमामय प्रस्थानको घटना हो। युहन्ना १७:४–५ ले हामीलाई यो कुरा प्रष्ट पार्छ। येसुको स्वर्गारोहणको घटना उहाँको पुनरुत्थानको प्रमाण हो। यो घटना हाम्रो विश्वासका निम्ति धेरै महत्त्वपूर्ण छ, किनभने यसले उहाँ पुनरुत्थान हुनुभएको घटना साँचो हो भनी स्मरण गराउँछ।

ख्रिस्टको पुनरुत्थान भएपछि उहाँले आफ्ना चेलाहरुलाई त्यत्तिकै छाडेर स्वर्गारोहण हुनुभएन। प्रेरितको पुस्तकले हामीलाई यसरी बताएको छ, येसु चालिस दिनसम्म आफ्ना चेलाहरुका साथमा रहनुभयो। त्यो बेला उहाँले आफ्नो शरीरका चोटका दागहरु आफ्ना चेलाहरुलाई देखाउँदै उहाँ क्रुसमा मर्नुभयो र उहाँको पुनरुत्थान भयो भन्ने कुराको

प्रमाण दिनुभयो। यसका निम्ति उहाँ आफ्ना चेलाहरुसँग बसेर खानपान गर्नुभयो। यसले ख्रिस्टको ईश्वरत्वका बारेमा अरु प्रमाण दिन्छ। ख्रिस्टको स्वर्गारोहणको घटना उहाँ पूर्ण ईश्वरीय अधिकार र महिमासहित स्वर्गको सिंहासनमा बस्नुभएको एउटा घटना थियो। उहाँ स्वर्गमा उचालिनुभएको कुरा धेरै जना साक्षीहरुले देखे। अनि त्यसको केही समयपछि पहिलो ख्रिस्चियन सहिद सन्त स्तिफनसले पनि ख्रिस्टलाई परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको देखे, जुन कुरा प्रेरित ७:५५ मा लेखिएको छ। त्यसैकारण नाइसिया विश्वासको सारमा चर्चले यस्तो घोषणा गर्दछ, ‘उहाँ स्वर्गमा चढिजानुभयो र पिताको दाहिने हातपट्टि बस्नुभएको छ।’ प्रिय श्रोताहरु, तपाईंहरुलाई यो कुरा स्मरण होस्। विगतमा हनोक र एलियाजस्ता अन्य व्यक्तिहरु पनि स्वर्गमा लगिएका थिए। तर ’येसु ख्रिस्ट परमेश्वरको शक्तिद्वारा स्वर्गमा चढिजानुभयो’ भनेर पवित्र धर्मशास्त्रले हामीलाई शिक्षा दिन्छ। यो पनि परमेश्वरका पुत्रको रुपमा उहाँको ईश्वरत्वको अर्को प्रमाण हो।

साथै प्रभु येसु ख्रिस्टले ती चालिस दिनको अवधिमा चेलाहरुलाई आफ्नो बारेमा पुरानो करारका अगमवाणीहरु पूरा भएको विषयमा अरु धेरै कुरा सिकाउनुभयो। यसरी येसुले आफ्नो चर्चको नेतृत्व गर्न र आफ्ना भेडाहरुलाई खुवाउन चेलाहरुलाई तयार गर्नुभयो। त्यो बेला पवित्र धर्मशास्त्रको नयाँ करारका मार्गदर्शनहरु लेखिएका थिएनन्। तर ती शिक्षा प्रेरितहरुले चर्चका परम्पराहरुको रुपमा आफ्ना चेलाहरुलाई हस्तान्तरण गरे। त्यसैकारण हामीले चर्चका परम्परालाई पवित्र भनेर मान्छौं। येसुको स्वर्गारोहणको घटनाले पेन्तिकोसको घटनाको तयारीलाई सङ्केत गर्छ। प्रभु येसुले आफू स्वर्गारोहण हुने बेला आफ्ना प्रेरितहरुलाई दिनुभएको अन्तिम आज्ञा, ’पवित्र आत्माको प्रतिज्ञालाई पर्ख’ भन्ने थियो। पृथ्वीको अन्तिम छेउसम्म सुसमाचार प्रचार गर्नका निम्ति चेलाहरु ‘माथिबाटको शक्ति’ अर्थात् पवित्र आत्माले भरिनुपरेको थियो। येसुको त्यो प्रतिज्ञा उहाँको स्वर्गारोहणको दश दिनपछि पेन्तिकोस पर्वको समयमा पूरा भयो। यसैले प्रभु येसु आफ्ना चेलाहरुबाट छुटेर जानुभए तापनि उनीहरु दुःखी भएनन् तर आनन्दले भरिए। पवित्र आत्माको वरदानहरुका माध्यमद्वारा येसु सदासर्वदा आफ्ना चेलाहरुका साथमा रहनुभयो। यहाँनेर म तपाईंलाई येसुको स्वर्गारोहणको पर्वको आइकनको बारेमा बताउन चाहन्छु।

स्वर्गारोहणका आइकनहरुका प्रायः दुई भाग हुन्छन्। माथिल्लो भागले प्रभु येसु ख्रिस्ट स्वर्गमा स्वर्गदूतहरुका बिचमा बस्नुभएको कुराको चित्रण गर्दछ र तल्लो भागले पृथ्वीमा येसुका चेलाहरुले उहाँको स्वर्गारोहणलाई हेरिरहेको कुराको चित्रण गर्दछ। यो आइकनले चित्रण गरेको सुन्दर भूदृश्य अर्थात् मनोरम संसारमा बन–जङ्गल पनि देख्न सकिन्छ। यसले स्वर्गारोहणको घटना भएको ठाउँ जैतुन पहाडलाई जनाउँछ। येसु ख्रिस्ट स्वर्गमा मन्डोर्ला अर्थात् एउटा गोलो घेराजस्तो दृश्यभित्र बस्नुभएको छ। यसले परमेश्वरको असृजित र ईश्वरीय महिमालाई जनाउँछ। उहाँले आफ्नो दाहिने हातले तल भएका सबैलाई आशिष् दिंदै हुनुहुन्छ। अनि उहाँको देब्रे हातमा चर्मपत्रको मुट्ठो छ। यसले उहाँ सबै आशिष् र ज्ञानका स्रोत हुनुहुन्छ भन्ने कुराको सङ्केत गर्दछ। पृथ्वीमा प्रेरितहरुका साथमा दुईजना स्वर्गदूत खडा छन्। उनीहरुका शिरपछाडि ज्योतिको चक्र छ। ती स्वर्गदूतले प्रेरितहरुलाई – जसरी ख्रिस्ट अहिले जानुभयो उहाँ फेरि त्यसरी नै आउनुहुने छ – भनी बताउँछन्। येसुको स्वर्गारोहण भएको बेलामा त्यहाँ वास्तवमा एघार जना चेला हुनुपऱ्थ्यो, तर यो आइकनले थिओटोकोसको साथमा १२ जनालाई देखाएको छ। वास्तवमा थिओटोकोसले नै सम्पूर्ण चर्चको प्रतिनिधित्व गर्छिन्, जुन चर्चले धैर्यसाथ येसुको पुनरागमनको प्रतीक्षा गर्दछ। यसर्थ यो आइकनले थिओटोकोसलाई समावेश गरेको हो। अनि यहाँ भएका बाह्रौं चेला यहुदा इस्करियोत होइनन्, तर सन्त पावल हुन्। उनलाई प्रेरितहरुको साथमा गणना गरिएको छ, जो प्रेरितहरु चर्चका जग हुन्। ख्रिस्टको बारेमा भएको विशिष्ट चित्रणको कारणले स्वर्गारोहणको आइकन महत्वपूर्ण छ। उहाँ माथितिर उचालिंदै गर्नुभएको हो वा तलतिर झर्दै गर्नुभएको हो भन्ने कुरा यो आइकन हेरेर किटान गरी भन्न सकिंदैन। अनि स्वर्गदूतहरुले भनेझैं हामीलाई उहाँको दोस्रो आगमनको स्मरण गराउन यो आइकनमा जानीजानी यस्तो गरिएको हो। ख्रिस्ट बस्नुभएको स्वर्गको सिंहासनले उहाँको न्यायको सिंहासनको प्रतिनिधित्व गर्दछ, र त्यसले हामीलाई ख्रिस्ट नै जीवित र मृतकहरुको न्याय गर्न फेरि आउनुहुने कुरा स्मरण गराउँछ। म अब तपाईंलाई स्वर्गारोहणको पर्व कसरी पालन गरिन्छ भन्ने बारे बताउँछु। स्वर्गारोहणको पर्वका लिटर्जीहरु प्रायः इस्टरका लिटर्जीहरु जस्तै छन्। सुरुका अभिवादनहरु पनि उस्तै छन्– ‘ख्रिस्ट जीवित भइउठ्नुभएको छ र महिमामा चढिजानुभएको छ।’ चर्चका अधिकांश पवित्र पर्वहरुमा जस्तै हामी यो पर्व पनि युखारिस्टको साथमा पालन गर्छौं। पुरानो करारबाट गरिने सबै वाचनहरुले परमेश्वरले आफ्ना मानिसहरुसित गर्न लाग्नुभएको नयाँ करारको विषयमा प्रकट गर्छन्। सुसमाचारका पुस्तकहरुबाट वाचन गरिने पाठहरु मत्ती २८, मर्कुस १६ र लुका २४ का स्वर्गारोहणका विवरणहरुबाट लिइएका छन्। प्रेरित १:१–११ पनि वाचन गर्न चुनिएका खण्डहरुमध्ये एक हो। म अब तपाईंलाई स्वर्गारोहणको पर्वको ईश्वरशास्त्रका बारेमा बताउँछु। ख्रिस्टको स्वर्गारोहण हामी ख्रिस्चियनहरुका निम्ति धेरै कारणले महत्त्वपूर्ण छ।

पहिलो कुरा, मानवतालाई ईश्वरत्वमा ल्याइयो। ख्रिस्ट स्वर्गमा उचालिनुहुँदा उहाँ मानिसको रुपमा उचालिनुभयो, आत्माको रुपमा होइन। उहाँले चालिस दिनसम्म आफ्ना चेलाहरुका साथमा बसेर खानपान गर्नुभएको कुराले उहाँको मानवतालाई प्रमाणित ग¥यो। तर येसुको पुनरुत्थान भएपछि उहाँको शरीर महिमित भयो। तापनि त्यो मानव शरीर नै थियो। यसैले जब ख्रिस्ट स्वर्गमा उचालिनुभयो र परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभयो, तब पहिलो पटक सिद्ध मानवतालाई स्वर्गको राजकीय सिंहासनमा बस्न दिइयो। यो परमेश्वरले मानवजातिलाई दिनुभएको ठुलो विशेषाधिकार थियो। अर्थोडक्स बाइबलमा लेखेको एउटा टिप्पणीले यस कुरालाई यस प्रकारले स्पष्ट पारेको छ – देहधारणमा, ख्रिस्टले आफ्नो ईश्वरीय स्वभावलाई मानवीय स्वभावमा ल्याउनुभयो। स्वर्गारोहणको रहस्यमा, ख्रिस्टले मानवीय स्वभावलाई ईश्वरीय राज्यमा लैजानुभयो। उहाँले आफ्नो महिमित शरीरमा पिता र पवित्र आत्मासँग मिलेर राज्य गर्नुहुन्छ, उहाँले आफ्नो महिमित मानवीय स्वभाव प्रकट गर्नुहुन्छ र सारा स्वर्गदूतका झुन्डद्वारा उहाँको आराधना हुनुपर्छ।

दोस्रो, यो हाम्रो शरीरको पुनरुत्थान र स्वर्गारोहण हुन्छ भन्ने कुराको निश्चयता हो। हाम्रा प्रभु येसु ख्रिस्टको स्वर्गारोहण हाम्रो आफ्नै पनि स्वर्गारोहण हुने कुराको प्रमाण हो, र मानवजातिका निम्ति परमेश्वरको योजनाको अन्तिम चरण हो। हामी विश्वासीहरु परमेश्वरका छोराछोरी हौं र हाम्रो पनि पुनरुत्थान हुने छ र स्वर्गमा लगिने छौं, किनभने येसु ख्रिस्ट शरीरमा नै स्वर्गमा उचालिनुभयो। स्वर्गमा हाम्रो

प्रवेशको बारेमा प्रभु येसु आफैले प्रतिज्ञा गर्नुभयो र भन्नुभयो, ‘म तिमीहरुका निम्ति ठाउँ तयार पार्न गइरहेको छु।’ प्रेरित सन्त पावलले एफिसी २:६ मा हामीलाई यही कुरा भन्छन्, ‘उहाँसँग हामीलाई उठाउनुभयो, अनि स्वर्गीय स्थानहरुमा ख्रिस्ट येसुसँग बसाल्नुभयो।’ सन्त क्रिसोस्टोमले हाम्रो यो ठुलो विशेषाधिकारको बारेमा यसरी भनेका छन्,

‘हामी पृथ्वीमा अयोग्य देखिएका थियौं तर अब हामी स्वर्गमा उचालिएका छौं।’

निष्कर्षमा,

येसुको स्वर्गारोहणको पर्वको समयमा हामीले ख्रिस्टको ईश्वरीय र मानवीय दुबै स्वभाव देख्छौं र हाम्रो साँचो बोलावटको झलक पनि पाउँछौं। हाम्रा प्रभुले जस्तै हामी पनि उहाँको साथमा स्वर्गीय स्थानहरुमा बस्ने छौं। हामी आफ्नै कामले वा हाम्रो आफ्नै शक्तिले होइन, तर

परमेश्वरको अनुग्रहले यो कुरा सम्भव हुन आयो।

यो स्वर्गारोहणको पर्व आशाको पर्व हो। यसकारण ख्रिस्चियनहरुले मृत्युलाई आशासहित हेर्छन्, किनभने हाम्रो पुनरुत्थान हुने र स्वर्गमा उचालिने प्रवेशद्वार नै हाम्रो मृत्यु हो। यो कसरी हुन्छ भन्ने कुरा हामी अहिले जान्दैनौं, तर हामी यति जान्दछौं– यो तुलना गर्नै नसकिने आश्चर्यपूर्ण हुने छ। सन्त पावलले यसैया अगमवक्तालाई यसरी उदधृत गरे, ‘आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरुका निम्ति तयार पार्नुभएको छ।’

यसैकारण, हामी आफैंलाई यो कुरा स्मरण गराउँछौं कि हामीले संसारका कुराहरुका पछि लाग्न छाड्नुपर्छ। त्यसको साटो आउनेवाला अनन्त जीवनको चाहना गर्दै हामीले आफ्नो मन स्वर्गको धनमा लगाउनुपर्छ।

स्वर्गारोहणको पर्व आनन्दको पर्व हो। प्रभु माथितिर उचालिनुभयो। यस कुराले उहाँका चेलाहरु दुःखी भएनन्। बरु उनीहरु आनन्दले भरिए, किनभने उनीहरुले प्रभुको वचनलाई स्मरण गरे, ‘म जानमा नै तिमीहरुको हित छ। किनभने म गइनँ भने, सल्लाहकार तिमीहरुकहाँ आउनुहुने छैन। तर गएँ भने, म उहाँलाई तिमीहरुकहाँ पठाइदिने छु।’

यसैले हामी रमाउँछौं, किनकि प्रभुले हामीभित्र बास गर्न र हामीलाई सत्य र जीवनको बाटोमा डोऱ्याउन पवित्र आत्मालाई पठाउनुभयो।

यो स्वर्गारोहणको पर्व प्रतीक्षाको पर्व हो। यो पर्वले हामीलाई उहाँको दोस्रो आगमनको, अर्थात् पृथ्वीको न्याय गर्न उहाँ फेरि आउनुहुने कुराको बारेमा स्मरण गराउँछ। यसैले हामी उहाँको आगमनको आशा गर्दै पर्खन्छौं, र हामी आफैंलाई शुद्ध र पवित्र राख्ने कोसिस गर्दछौं। यसैले उहाँ आउनुहुँदा उहाँले हामीलाई विश्वासयोग्य सेवकहरुका रुपमा भेट्टाउनुपर्दछ।

ख्रिस्टले हामीलाई स्वर्गको योग्य बनाउनुभयो र यो हामीले उहाँबाट पाएको ठुलो सम्मान हो। यसर्थ, हामी यो कुरालाई विचार गर्दै ख्रिस्टको स्वर्गारोहणको पर्व मनाऔं। हाम्रा विचार, बोली र कामहरुमा राम्ररी ध्यान दिऊँ र पवित्र जीवन जिउने कोसिस गरौं।

आउनुहोस्, हामी प्रार्थना गरौं। हामी ख्रिस्टको जीवन, मृत्यु, पुनरुत्थान र उहाँको स्वर्गारोहणमा उहाँको अनुसरण गर्दै उहाँको जीवित आइकनहरु बन्न सकौं।