हाम्रा प्रभु र उद्धारकर्ता येसु ख्रिस्टको एपिफनी अर्थात् प्रकटीकरण एउटा पर्वको दिन हो। हामी यो पर्वको समयमा येसु ख्रिस्टको रुपमा परमेश्वर मानव अवतारमा प्रकट हुनुभएको कुराको उत्सव मनाउँदछौं। यस पर्वमा हामीले अग्रदूत बप्तिस्मा दिने युहन्नाद्वारा येसुले यर्दन नदीमा बप्तिस्मा लिनुभएको कुराको स्मरण गर्दछौं। तीनवटा प्रमुख अर्थोडक्स ख्रिस्चियन पर्वहरुमध्ये ख्रिसमस र इस्टरसँगै एपिफनीको पर्व पनि एक हो।
अङग्रेजी शब्द एपिफनी शब्द ग्रिक भाषाको “एपिफनिया” भन्ने शब्दबाट ल्याइएको हो र यसको अर्थ “प्रकटीकरण” वा “चम्कने क्षण” वा “देखा पर्ने समय” भन्ने हुन्छ।
यो शब्दको ख्रिस्चियन धार्मिक प्रयोगअनुसार, अदृष्य ईश्वरीय व्यक्ति दृष्य स्वरुपमा प्रकट हुनुभयो, भन्ने अर्थ हुन्छ। एपिफनीले ख्रिस्टको बप्तिस्माको स्मरण गर्दछ किनभने यही समयमा ख्रिस्टलाई परमेश्वरको ईश्वरीय पुत्रको रुपमा सबै मानिसका अगाडि प्रकट गरिएको थियो। र यसरी यस कुराले उहाँको सार्वजनिक सेवकाइ सुरु भएको कुरालाई संकेत गर्थ्यो।
यस पर्वलाई “थिओफनी” पनि भनिन्छ, जसको अर्थ “परमेश्वरको प्रकटीकरण” भन्ने हुन्छ। किनभने ख्रिस्टको बप्तिस्माको समयमा पहिलोपल्ट स्पष्ट रुपले पवित्र त्रिएक परमेश्वरलाई मानव जातिकहाँ प्रकट गरिएको थियो। जब परमेश्वरको पुत्र येसु ख्रिस्ट शारीरिक रुपले यर्दन नदीमा खडा हुनुभयो, पवित्र आत्मा ढुकुरको रुपमा उहाँमाथि ओर्लनुभयो। त्यसै समयमा स्वर्गबाट आएको परमेश्वर पिताको वाणी सुनियो र यसरी त्रिएक परमेश्वर प्रकट हुनुभयो।
यस घटनालाई मत्ती ३ː१६-१७ मा यसरी वर्णन गरिएको छ – “अनि येसु बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, अनि स्वर्ग उघ्रियो, र उहाँले परमेश्वरका आत्मालाई ढुकुरझैं ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्नुभयो। तब स्वर्गबाट यो वाणी आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु”।”
परम्परागत रुपमा यो पर्व हरेक वर्ष जनवरी ६ तारिखमा मनाउने गरिन्छ। येसुको बप्तिस्मा ख्रिस्टको जन्मोत्सवको घटनाको भाग नभए तापनि थिओफनीको पर्व ख्रिसमसको समयको समाप्ती हो।
यहाँनेर म तपाईंसँग यस पर्वको बारेमा भएको एउटा आइकनलाई स्पष्ट पार्ने छु।
पवित्र धर्मशास्त्रमा वर्णन भएअनुसार, यो आइकनले यर्दन नदीमा ख्रिस्टको बप्तिस्मा भएको कुरालाई दर्साउँदछ। यहाँ हामी बप्तिस्मा दिने युहन्नालाई बाक्लो र खस्रो कपडा लगाएको अवस्थामा देख्छौं। यो उजाडस्थानमा बस्ने व्यक्तिका निम्ति सुहाउँदो वस्त्र हो। उनी श्रद्धापूर्वक झुकेका छन्। यस कुराले हामीलाई स्मरण गराउँदछ, उनले जान्दछन्, उनी परमेश्वरका पुत्र येसुलाई बप्तिस्मा दिनका निम्ति योग्य छैनन्। उनले आफ्नो दाहिने हातले बप्तिस्मा दिने काम गर्दै छन्। उनका खुट्टाका नजिकै एउटा बन्चरो र एउटा रुख छ, जसले हामीलाई बप्तिस्मा दिने युहन्नाले बोलेको वचनको स्मरण गराउँदछ। यस वचनले बताउँदछ कि हामीलाई फल फलाउन र पश्चात्तापको जीवन प्रदर्शन गर्नका निम्ति बोलावट भएको छ, जसरी मत्ती ३ː१० ले बताउँदछ, “अहिले नै रुखको फेदमा बन्चरो परिसकेको छ। यसकारण असल फल नफलाउने हरेक रुख काटी ढालिन्छ, र आगोमा फालिन्छ।”
आइकनको बिचमा, हामीले कम्मरमा कपडा बेह्रेर खडा हुनुभएको प्रभु येसु ख्रिस्टलाई देख्दछौं। उहाँले आफ्नो दाहिने हातले यर्दन नदीको पानीलाई आशिष दिंदै हुनुहुन्छ। उहाँको शिरमाथि पवित्र आत्मा हुनुहुन्छ जो ढुकुरको रुपमा उहाँमाथि ओर्लनुभएको छ। आइकनको सबैभन्दा माथि अर्ध-गोलाकार चक्र छ। यसले स्वर्ग उघ्रिएको कुरा र परमेश्वर पिताको वाणीलाई चित्रण गर्दछ।
आइकनको दायाँपट्टि, श्रद्धापूर्वक ख्रिस्टतिर आफ्ना शिर झुकाएका स्वर्गदूतहरुलाई देखाइएको छ। तिनीहरु उहाँ पानीबाट बाहिर निस्केर आउनुहुँदा उहाँलाई स्वागत गर्नका लागि तयारी अवस्थामा रहेका छन्।
धेरैजसो आइकनले, फेदमा, माछामाथि सवार गरिरहेका केही प्राणीलाई पनि देखाउँछन्। तिनीहरुले सामुद्रिक प्राणी, नदी, समुद्र र तिनमा भएका सबै प्राणीको प्रतिनिधित्व गर्दछन् जो तिनीहरुभन्दा ठुला र महान् केही कुरा पानीभित्र प्रवेश गरेको देखेर भागिरहेका छन्। चर्च फादरहरुले यसलाई भजनसंग्रहमा लेखिएको वचन पूरा भएको कुराको रुपमा व्याख्या गरे, जस्तो कि भजन ७७ː१६ ले बताउँदछ, “समुद्रले तपाईंलाई देखे, हे परमेश्वर, समुद्रले तपाईंलाई देखे र ती डराए।” त्यसै गरी भजन ११४ː३ ले बताउँदछ, “यो देखेर समुद्र भाग्यो, यर्दन नदी उल्टो बग्न लाग्यो।”
एपिफनीको घटना किन महत्वपूर्ण छɁ
ख्रिस्टको बप्तिस्माको घटना धेरै महत्वपूर्ण छ, किनभने यसले परमेश्वरको पुत्रको रुपमा उहाँको ईश्वरीय स्वभावलाई प्रकट गर्यो र मानवजातिका आँखाले देख्ने गरी पवित्र त्रिएक परमेश्वरको उपस्थितिलाई पनि प्रकट गर्यो। तर सन्त युहन्नाले यस्तो देखेको कुरा ठिकै हो।
यो कुरा हामी सबैलाई थाहा छ कि ख्रिस्टले बप्तिस्मा लिनु आवश्यक थिएन, किनभने उहाँ पापरहित हुनुहुन्थ्यो। त्यसो भए, उहाँले किन बप्तिस्मा लिनुभयो तɁ पवित्र धर्मशास्त्रले बताउँदछ र येसुले युहन्नालाई बताउनुभयो, कि उहाँले सबै धार्मिकता पूरा गर्नुपरेको थियो (मत्ती ३ː१५)। येसुले सबै धार्मिकता पूरा गर्नुपरेको थियो भन्नाले उहाँले के के गर्नुपरेको थियो, ती सबैको विस्तृत विवरण भने हामीलाई बताइएको छैन।
चर्च फादरहरुले हामीलाई यसरी सिकाए – येसुलाई शुद्धीकरणको आवश्यकता परेको हुनाले उहाँले बप्तिस्मा लिनुभएको थिएन। तर हाम्रो शुद्धीकरणमा उहाँले आफैलाई हामीसित मिलाप गराउनु आवश्यक परेको थियो। अर्को शब्दमा, ख्रिस्टलाई पानीको आवश्यक्ता थिएन, तर पानीलाई ख्रिस्टद्वारा शुद्ध हुनु आवश्यक थियो। त्यसकारण जब ख्रिस्टले यर्दन नदीमा बप्तिस्मा लिंदै हुनुहुन्थ्यो, वास्तवमा यर्दन र सृष्टिका सबै कुराले ख्रिस्टमा बप्तिस्मा लिएका थिए। सामुद्रिक प्राणीहरु पृथ्वीसँग सम्बन्धित थिए र तिनीहरु सबै पृथ्वीमाथि दौडन्थे। त्यसकारण जब ख्रिस्टले उहाँको बप्तिस्मामा पानीलाई आशिष दिनुभयो, तब उहाँले सारा सृष्टिलाई आशिष दिनुभयो। त्यसकारण, थिओफनीको घटनाले हामीलाई ख्रिस्टमा नयाँ सृष्टिको सुरुवातको बारेमा देखाउँदछ, जसलाई यस घटनापश्चात् येसुले उहाँको सार्वजनिक सेवकाइ सुरु गर्नुहुँदा गतिशील तुल्याइएको थियो, जसले घोषणा गर्दछ कि परमेश्वरको राज्य आएको छ।
अब म यो पर्व कसरी मनाइन्छ भन्ने बारेमा पनि तपाईंलाई बताउन चाहन्छु।
हाम्रा प्रभुको यो पर्वको उत्सव जनवरी ५ तारिखमा सुरु हुन्छ। यस दिनलाई थिओफनीको पूर्वपर्व पनि भनिन्छ। प्रायजसो विश्वासयोग्य जनले यस दिनमा उपवास बस्छन्। जनवरी ६ तारिखमा ईश्वरीय लिटर्जीका साथमा यो पर्व मनाइन्छ र यस अवसरमा थिओफनीको घटनासँग सम्बन्धित बाइबलका खन्डहरु सेवाका समयमा वाचन गरिन्छ।
पानीलाई आशिषः
एपिफनीका बारेमा महत्वपूर्ण कुरा यो हो कि यस पर्वको समयमा चर्चले “पानीको महान् आशिष” को सेवालाई पूरा गर्दछ। यस उत्सवका समयमा याजकले प्रायजसो समुद्र, नदी वा तलाउका पानी र घरलाई आशिष दिनका निम्ति प्रयोग गरिने पानीमाथि पनि आशिष दिने गर्दछन्।
पानीलाई आशिष दिने यो उत्सव बप्तिस्माको संस्कारका निम्ति प्रयोग गर्ने पानीलाई हामीले कसरी आशिष दिन्छौं र पवित्र तुल्याउँछौं भन्ने कुरासित मिल्दोजुल्दो छ। परमेश्वरले आफ्नो पवित्र तुल्याउने उपस्थितिद्वारा भरिपूर्ण तुल्याउनका निम्ति मानवजाति र सारा सृष्टिको सृष्टि गर्नुभएको थियो भन्ने कुरालाई यो आशिषले प्रमाणित गर्दछ।
याजकले एपिफनी सेवाको समयमा आशिष दिएको पानीलाई लिएर सबै विश्वासयोग्य मानिसहरुका घरहरुमा भेटघाट गर्न जाने र यो पानीको प्रयोग गरेर तिनीहरुका घरलाई आशिष दिने चलन छ। याजकहरु नयाँ वर्षमा मानिसहरुका घरहरुका हरेक कोठामा जान्छन् र त्यस घर र परिवारका निम्ति परमेश्वरको आशिष मागिदिन्छन्। यदि विश्वासीहरु धेरै छन् र विशेष गरी धेरै जना विश्वासी चर्चदेखि टाढा बसोबास गर्छन् भने, हरेक घरलाई आशिष दिनका लागि केही लामो समय लाग्न सक्छ। परम्परागत रुपमा, महान् लेन्टको समय सुरु हुनुअगावै सबै घरलाई आशिष दिएर सिध्याउनुपर्ने हुन्छ।
एपिफनीको पर्व किन महत्वपूर्ण छɁ
येसु ख्रिस्ट हामी मानवजातिलाई शुद्ध पार्न र तिनीहरुलाई पुनर्स्थापित गर्न आउनुभयो। साथै उहाँ हामीलाई उहाँको राज्यका उत्तराधिकारीका रुपमा ग्रहण गर्न आउनुभयो। एपिफनीको पर्वले हामीलाई यो कुरा स्मरण गराउँदछ।
जब हामीले उहाँको महिमा प्राप्त गर्दछौं, केवल हामीले मात्र उद्धार पाउँदैनौं, हामीले सारा सृष्टिलाई हामीसँगै अन्तिम पुनर्स्थापना पनि गर्ने छौं। त्यसकारण रोमी ८ अध्यायले बताउँदछ, सृष्टिले उत्कट आशासहित आर्तनाद गर्दछ र परमेश्वरका पुत्रहरुको महिमा प्रकट हुने कुराको प्रतीक्षा गर्दछ।
यस पर्वको प्रार्थना र भजनले हाम्रो आफ्नै बप्तिस्मालाई स्मरण गर्न र हाम्रो बप्तिस्माको वाचालाई पुनर्पुष्टि गर्न समेत हामीलाई सहायता गर्दछ। यसले हामीलाई गहिरो रुपले चर्चको जीवनसँग, विश्वव्यापी रुपमा ख्रिस्टको देहसँग र इतिहाससँग सहभागी हुन मदत गर्दछ।
एपिफनी एउटा घटना मात्र नभएर यो चर्च क्यालेन्डरको एउटा ऋतु वा काल पनि हो। यो ऋतु ख्रिसमससँगै सुरु हुन्छ, किनभने एपिफनीले समग्र रुपमा हामीलाई ख्रिस्ट यस संसारमा कसरी प्रकट हुनुभयो भन्ने कुराको बारेमा बताउँदछ। यस कालको मुख्य जोड वास्तवमा थिओफनीको पर्व नै हो। यो ऋतु वा काल महान लेन्टको सुरुको समयसम्म रहिरहन्छ।
यस पर्वको दिनमा गरिने एउटा प्रार्थना छ, जसले अति पवित्र त्रिएक परमेश्वरको महान् प्रकाशमा आनन्द गर्दछ र ख्रिस्टको बप्तिस्मामा यस कुरालाई प्रकट गरिएको छ – हे परमप्रभु, जब तपाईंलाई यर्दनमा बप्तिस्मा दिइयो, तब त्रिएक परमेश्वरको आदरलाई प्रकट गरियो। किनभने पिताको वाणीले तपाईंको गवाही दियो, जसले तपाईंलाई प्रिय भन्नुभयो। ढुकुरको रुपमा पवित्र आत्माले उहाँको वचनको निश्चयतालाई पक्का सावित गरिदिनुभयो। तपाईंलाई महिमा होस्, हे हाम्रा परमेश्वर ख्रिस्ट, जो प्रकट हुनुभयो र यस संसारलाई प्रज्वलित पार्नुभयो।