![]()
हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन हामीले हाम्रा प्रभुकी आमा सन्त मरियमको जन्मोत्सव मनाउने गर्छौं। पवित्र चर्चले यो अवसरलाई थिओटोकोस जन्मेको पर्वको रुपमा मनाउने गर्छ र यो पवित्र चर्चका १२ महान् पर्वमध्ये एक हो। यसलाई हामी थिओटोकोस अर्थात परमेश्वरकी आमाको जन्मोत्सव वा नेटिभिटीको पर्व भन्दछौं।
“नेटिभिटी” शब्दको अर्थ “जन्मको प्रक्रिया” भन्ने हुन्छ। थिओटोकोसको जन्मोत्सवको समयमा सन्त मरियमको जन्म कसरी भयो भन्ने कुराका बारेमा हामी स्मरण गर्दछौं। सन्त मरियमको जन्म र बाल्यावस्थाका बारेमा पवित्र धर्मशास्त्र बाइबलमा विस्तृत विवरण लेखेको छैन।
तर दोस्रो शताब्दीमा लेखिएको सन्त याकुबको सुसमाचार अर्थात् प्रोटोइभाङ्गेलिओनको लेखबाट हामीले यसबारे जानकारी पाउँछौं। आमा मरियमलाई ख्रिस्चियनहरुले स्नेहपूर्वक सन्त मरियम भन्दछन्।
ईश्वरभक्त यहुदी दम्पत्ती योयाकिम र हन्नाको परिवारमा मरियमको जन्म भयो। उनका बुबाआमा वृद्ध दम्पत्ती थिए। उनीहरु परमप्रभुमा अत्यन्तै विश्वासयोग्य भक्तजन थिए। उनीहरुको कुनै सन्तान थिएन। यसर्थ, उनीहरु दुःखी थिए, किनभने यहुदी समाजले बाँझोपनलाई परमेश्वरले बेवास्ता गर्नुभएको सङ्केतका रुपमा हेर्ने गर्थ्यो।
एक दिन योयाकिम परमप्रभुलाई बलि चढाउन यरुसलेमको मन्दिरमा गए, तर त्यहाँका प्रधान याजकले उनलाई बलि चढाउने अनुमति दिएनन्। प्रधान याजकले कारण बताउँदै यसो भने – योयाकिम निश्चय पनि पापी छन्। यसकारण उनीबाट सन्तानको जन्म भएको छैन। यसैले उनलाई बलि चढाउन नदिएको हो।
यसरी प्रधान याजकले घोचपेच गरेर भनेका कुराले योयाकिमलाई साह्रै चित्त दुख्यो। उनी मन्दिरबाट निस्के र परमेश्वरको कृपा पाउन उजाडस्थानमा गएर प्रार्थना गरे। यसरी उनले चालिस दिन र चालिस रात प्रार्थना गरिरहे।
यो समयमा उनकी पत्नी हन्नाले पनि यरुसलेममा आफ्नो घरमा बसेर प्रार्थना गरिन्। चालिस दिनको अन्त्यमा योयाकिम र हन्ना दुवैकहाँ एउटा स्वर्गदूत देखा परे र यसो भने – परमेश्वरले उनीहरुको प्रार्थना सुन्नुभएको छ। उनीहरुबाट एउटा सन्तानको जन्म हुने छ, र त्यो सन्तानलाई सारा संसारले चिन्ने छ। त्यसपछि योयाकिम आफ्नो घर फर्के। हन्नाले उचित समयमा मरियम नाउँ गरेकी छोरी जन्माइन्।
सन्त मरियमको जन्म मानवजातिको उद्धार गर्ने परमेश्वरको योजनाको महत्त्वपूर्ण हिस्सा थियो। किनभने उनले हाम्रा प्रभु येसु ख्रिस्टलाई मानव अवतारमा जन्म दिइन्।
योयाकिम राजा दाउदको वंशमा जन्मेका थिए र हन्ना प्रधान याजक हारुनको वंशमा जन्मेकी थिइन्। यसरी आमा मरियमको जन्म राजकीय र याजकीय दुवै वंशमा भयो। आमा मरियमको यो पारिवारिक पृष्ठभूमि ज्यादै महत्त्वपूर्ण कुरा थियो, किनभने यस कुराले हाम्रा प्रभु येसु ख्रिस्ट महान् राजा र महान् प्रधान याजकका रुपमा उनीबाट जन्म लिनुहुने कुरालाई सङ्केत गर्थ्यो।
वर्तमान् समयमा थिओटोकोसको जन्मोत्सव सेप्टेम्बर ८ तारिखमा मनाउने गरिन्छ। तर यो आमा मरियमको वास्तविक जन्म मिति होइन। केही ऐतिहासिक कारणले गर्दा पवित्र चर्चले यो मिति चुनेको हो।
रोमी सम्राट कन्स्टान्टिनकी आमा सन्त हेलेनाले चौथो शताब्दीमा यरुसलेममा एउटा चर्च भवन निर्माण गरिन् र थिओटोकोस अर्थात् परमेश्वरकी आमा सन्त मरियम जन्मेको कुरालाई स्मरण गरेर उनले त्यो चर्च भवनलाई अर्पण गरिन्। यसैले यो मितिमा सबै ख्रिस्चियनले सन्त मरियमको जन्मोत्सव मनाउनुपर्छ भनेर पवित्र चर्चले निर्णय गऱ्यो।
प्रश्न उठ्न सक्छः सन्त मरियमको जन्मोत्सव किन महत्वपूर्ण छ तɁ
सन्त मरियमलाई सम्मान गर्ने, पवित्र चर्चका चारवटा प्रमुख पर्व छन्। ऐतिहासिक कालक्रमअनुसार पहिलो पर्व थिओटोकोसको जन्मोत्सव हो। यो पवित्र चर्चको पहिलो पर्व पनि हो। यो पर्वको दिनबाट नै इस्टर्न अर्थोडक्स चर्चको लिटर्जीको क्यालेन्डर सुरु हुन्छ।
पवित्र चर्चका निम्ति यो पर्व धेरै महत्वपूर्ण छ, किनभने यसले मानवजातिको उद्धार गर्ने परमेश्वरको योजना पूरा हुन लागेको कुराको सङ्केत गर्दछ। हामीलाई थाहा छ, हाम्रा उद्धारकर्ता प्रभु येसु ख्रिस्टले मानव अवतारमा जन्म लिनुपरेको थियो। अनि हाम्रा उद्धारकर्तालाई गर्भधारण गर्नका लागि मानिसको रगत र मासुबाट जन्मेको कुनै व्यक्तिको जरुरत परेको थियो।
सन्त मरियमको जन्म परमेश्वरको एउटा आश्चर्यकर्म भएको हुनाले पनि थिओटोकोसको जन्म उत्सवलाई भव्यतासाथ स्मरण गर्नु जरुरी हुन्छ। यो पर्व यस संसारको उद्धारका लागि पहिलो तयारीको उत्सव पनि हो।
यसैकारण पवित्र चर्चले छैठौं शताब्दीदेखि निरन्तर रुपमा थिओटोकोस अर्थात परमेश्वरकी आमा जन्मेको पर्व मनाउन सुरु गरेको हो। सातौं शताब्दीका चर्च फादर दमस्कसका जोनले यो पर्वको वर्णन यसरी गरे – “थिओटोकोस जन्मेको दिन सारा संसारका निम्ति आनन्दको पर्व हो। किनभने थिओटोकोसद्वारा सम्पूर्ण मानवजातिलाई नवीकरण गरियो र यसरी पहिलो आमा हब्बाको वेदनालाई आनन्दमा परिणत गरियो।”
अब म तपाईंलाई परमेश्वरकी आमा अर्थात थिओटोकोसको जन्मोत्सवको आइकनका बारेमा बताउन चाहन्छु।
परमेश्वरकी आमा सन्त मरियमको जन्म भएको दिनको स्मरण गर्ने धेरैवटा आइकन छन्। यी आइकन हामीले चर्च इतिहासबाट पाएका हौं। यी आइकन सुन्दर छन्, र जसरी अरु बालकको जन्म हुन्छ, त्यसै गरी सन्त मरियमको जन्म भएको कुरालाई यी आइकनले वर्णन गर्छन्।
यहाँ एउटा आइकन हेरौं। अरु आइकनको झैं यो आइकनको कुनै गहिरो ईश्वरशास्त्रीय अर्थ छैन। यो आइकनमा भएका प्रमुख व्यक्तिहरु सन्त मरियमका आमाबुबा, सन्त योयाकिम र सन्त हन्ना हुन्। उनीहरुले बालिका मरियमलाई एक टक लगाएर हेरेका छन्। सन्त मरियमको जन्ममा सहायता गर्ने सुसारेहरु सन्त हन्नाको वरिपरि खडा छन्। परमेश्वरद्वारा थिओटोकोस अर्थात परमेश्वरकी आमा हुन चुनिएकी सन्त मरियमको जन्म सामान्य मानिसको जन्म जस्तै थियो भन्ने कुराको वर्णन यो आइकनले गर्दछ।
रोमन क्याथोलिक चर्चले सन्त मरियमको जन्म पापरहित थियो भनी विश्वास गर्दछ। तर अर्थोडक्स चर्चले उनको जन्म पापरहित थियो भनी विश्वास गर्दैन। अरु मानवजस्तै उनको जन्म पनि सुरुको पाप स्वभावमा भयो भनी विश्वास र स्वीकार गर्दछ। यसर्थ, यो आइकन धेरै महत्त्वपूर्ण कुरा हो।
अरु सबै मानवजातिले झैं सन्त हन्नाले सन्त मरियमलाई गर्भधारण गरिन्। त्यसकारण सबै मानवजातिलाई झैं सन्त मरियमलाई पनि उद्धारकर्ताको खाँचो थियो। परमेश्वरले उनको उद्धार गर्नुभयो, र मानवीय औजारका रुपमा चुन्नुभयो र पवित्र पार्नुभयो। यसरी उनीद्वारा परमेश्वरको पवित्र पुत्र येसु ख्रिस्टले यस संसारमा मानव अवतारमा जन्म लिनुभयो। यसकारण, स्वर्गदूतहरुले पनि उनलाई, “हे कृपा-पात्र,” भनेर सम्बोधन गरेका छन्।
अब म तपाईंलाई यो पर्व कसरी मनाउने भन्ने बारेमा पनि बताउने छु।
भारत देशका सिरियन अर्थोडक्स ख्रिस्चियन चर्चहरुले ८ दिनको लेन्टको उपवाससहित यो पर्व मनाउँछन्। यो उपवास सेप्टेम्बर १ देखि सुरु हुन्छ र सेप्टेम्बर ८ मा थिओटोकोसको जन्मोत्सवसँगै अन्त्य हुन्छ। तर बाँकी अन्य अर्थोडक्स चर्चका निम्ति यो उपवासको चलन छैन। यस पर्वमा लिटर्जीको सेवा गर्दा पवित्र धर्मशास्त्रबाट वाचन गर्न छानिएका मुख्य खण्डहरुले पुरानो करारका अलङ्कारहरुमा जोड दिन्छन्, जसले सन्त मरियमका बारेमा बताउँछन्।
उत्पत्ति २८ː१०-१७ खण्डले याकुबको भर्याङ्गको बारेमा बताउँछ, जसले स्वर्ग र पृथ्वीका बिचमा मिलाप गराएको छ। यसले मानिससँग भएको परमेश्वरको एकतालाई जनाउँछ, र यो कुरा परमेश्वरकी आमा मरियममा पूर्ण र सिद्ध रुपले जान्न सकिन्छ।
इजकिएल ४३ː२७-४४ː४ खण्डले मन्दिरको दर्शनको वर्णन गर्दछ, जसको पूर्वपट्टिको ढोकालाई सधैंका लागि बन्द गरिएको छ। यो मन्दिर परमप्रभुको महिमाले भरिएको छ। यसले सन्त मरियम र उनको आजीवन कन्ये जीवनलाई सङ्केत गर्दछ।
पत्रहरुबाटको वाचन फिलिप्पी २ː५-११ पदबाट गरिन्छ। यो खण्डले मरियमको ईश्वरीय पुत्र प्रभु येसु ख्रिस्टको बारेमा बताउँछ, “परमेश्वरको स्वरुपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नुभएन। तर आफैलाई रित्याइकन कमाराको रुप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो।”
लुका १ː३९-४९ र ५६ पदबाट सुसमाचार वाचन गरिन्छ। थिओटोकोसका सबै पर्वमा यो खण्ड वाचन गरिन्छ। यहाँ थिओटोकोस अर्थात परमेश्वरकी आमाले यसो भन्छिन्ː “मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ, र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ। किनकि उहाँले आफ्नी दासीको दीनतामा कृपा-दृष्टि गर्नुभएको छ, हेर, अब उप्रान्त सबै पुस्ताले मलाई धन्यको भन्ने छन्।”
हामीले किन सन्त मरियमको जन्मोत्सव मनाउँछौं तɁ
सन्त योयाकिम र सन्त हन्नाको कथा मूल रुपमा हाम्रो निम्ति परमेश्वरको इच्छा पत्ता लगाएर हाम्रो जीवनको अर्थ खोज्न प्रेरणा दिने खालको छ। परमेश्वरका यी धर्मी दासले उत्साहित भएर प्रार्थना गरे र परमप्रभुको खोजी गरे, र उनीहरुले आफ्नो जीवनमा भएको परमेश्वरको इच्छा पत्ता लगाए। उनीहरुद्वारा परमेश्वरले सन्त मरियमलाई यस संसारमा ल्याउनुभयो, र सन्त मरियमद्वारा सारा संसारका उद्धारकर्ता हाम्रा प्रभु येसु ख्रिस्ट यो संसारमा आउनुभयो।
चर्चमा सन्तहरुका समूहमा सन्त मरियमको सर्वोच्च स्थान छ। यसका दुई कारण – उनको महान् नम्रता र उद्धारको इतिहासमा उनले निर्वाह गरेको भूमिका हुन्। हाम्रा उद्धारकर्तालाई यस संसारमा ल्याउने परमेश्वरको ईश्वरीय योजनालाई पूरा गर्नका लागि सबै पुस्ताका बिचबाट सन्त मरियमलाई चुनियो। उनकै कारणले गर्दा हाम्रा उद्धारकर्ता प्रभु ख्रिस्टलाई हामीले पाउन सक्यौं।
उनी एक उदाहरणीय, नम्र र आज्ञाकारी व्यक्ति थिइन् जसले परमेश्वरलाई ‘हस्’ भनिन्। उनी सबै अर्थोडक्स ख्रिस्चियनले अनुसरण गर्नुपर्ने नमुना हुन्। त्यसकारण उनको जन्मोत्सवमा चर्चले उनको सम्मान गर्छ।
थिओटोकोसको जन्मोत्सवले हामीलाई उनका पुत्र प्रभु येसु ख्रिस्टमा ध्यान गर्न निर्देशित गर्दछ। सन्त मरियमलाई जस्तै सबै ख्रिस्चियन विश्वासीलाई जीवित परमेश्वरका मन्दिरहरु हुन बोलाइएको हो, र यो पर्वले हामीलाई यस कुराको स्मरण गराउँछ।
आठौं शताब्दीका क्रेटका सन्त एन्ड्रुले सन्त मरियमको जन्मोत्सवको बारेमा राम्ररी बुझेका थिए भन्ने कुरा तिनले लेखेको लेखबाट बुझ्न सकिन्छ।
सन्त एन्ड्रु भन्छन्, “यो दिन हाम्रा लागि सबै पवित्र दिनको सुरुको दिन हो। यो दया र सत्यताभित्र पस्ने ढोका हो। आजको दिन हाम्रा सृष्टिकर्ताको निम्ति अलग गरिएको दिन हो। पवित्र आत्माले प्रेरित गर्नुभएको चर्चले र सृष्टि स्वयंले आफूलाई सृष्टिकर्ता परमेश्वरको वासस्थान हुनका लागि तयार गर्नुपर्छ।” त्यसकारण, आउनुहोस्, थिओटोकोसको जन्मोत्सवको दिनमा जीवित परमेश्वरका मन्दिरहरु हुनका लागि हामीले आफैलाई तयार पारौं!