झम्सिखेल, ललितपुर, नेपाल

पाम सन्डे पर्व

  • Home
  • पाम सन्डे पर्व
पाम सन्डे पर्व
पाम सन्डे पर्व
July 21, 2025

संसारको इतिहासमा धेरैवटा युद्धहरु भए। कुनै राज्‍य र समूहले युद्ध जिते र कुनै राज्‍य र समूहले युद्ध हारे। शासकहरुले सहरहरु कब्‍जा गरे। सम्राटहरुले सबै अरु राष्ट्रमाथि विजय हासिल गरे। कहिलेकाहीं राजाहरुले सम्पूर्ण संसारलाई जित्ने प्रयास गरे।

तर मानव इतिहासमा मानिसहरुले जान्न नसकेको एउटा क्षेत्र छ जसमाथि तिनीहरुले अधिकार गर्न सकेका छैनन्। यो विजय प्राप्त नगरिएको क्षेत्र मानवको हृदय हो। मानव हृदयको एकमात्र विजेता येसु ख्रिस्ट राजा हुनुहुन्छ।

पाम सन्डे पर्व अर्थात खजुरको आइतबारको पर्व अर्थोडक्स चर्चका १२ महान पर्वहरुमध्ये एक हो। पाम सन्डेका दिन ख्रिस्ट राजाले यरुसलेम सहरमा प्रवेश गर्नुभयो। यस कुराको उत्सव मनाउनका लागि हामी चर्चमा भेला हुन्छौं र ख्रिस्टलाई हाम्रो जीवनको राजाको रुपमा स्मरण गर्छौं। येसुले हाम्रो जीवनको यरुसलेम अर्थात हाम्रो हृदयमा प्रवेश गर्नुहुन्छ।

पाम सन्डे आनन्द र उत्सवको पर्व हो। यसको साँझदेखि इस्टर सन्डेको समय सुरु हुन्‍छ। ख्रिस्ट हाम्रा निम्ति क्रुसमा बलिदान हुनुभयो। यसर्थ उहाँको बलिदानलाई स्‍मरण गर्ने समयतिर हामी अगि बढ्‍दछौं र हामीमा गम्भीर वेदनाको भावना र मनस्थिति सिर्जना हुन थाल्‍छ।

पवित्र चर्चले ख्रिस्‍चियन विश्वासको सुरुको समयदेखि पाम सन्डे पर्व अर्थात खजुरको आइतबारको पर्व मनाउँदै आएको छ। तर धार्मिक उत्सवहरुमा खजुरका पात र हाँगाहरु प्रयोग गर्ने चलन पुरानो करारको समयदेखि नै सुरु भएको हो।

यरुसलेम सहरको वरिपरि खजुरका रुखहरु थिएनन्। तापनि यहुदीहरुले धार्मिक उत्सवहरु मनाउँदा र यरुसलेमको मन्दिरमा छाप्रोवासको चाड मनाउँदा बाहिरबाट ल्याइएका खजुरका हाँगाहरु किनेर प्रयोग गर्दथे। हामीलाई यो कुराले अचम्म लाग्‍छ। इस्राएलीहरुले आफ्‍नो सनातनको साँचो राजा परमेश्वर हुनुहुन्‍छ भनी स्‍वीकार गर्दथे र आफ्‍ना बिचमा परमेश्‍वरको प्रभुत्वलाई घोषणा गर्ने दृश्य सामग्रीका रुपमा खजुरका हाँगाहरु प्रयोग गर्दथे।

अगमवक्ताहरुले मसिह अथवा यस संसारका मुक्तिदाताको आगमनको बारेमा भविष्‍यवाणी गरेका थिए। यहुदीहरुले उहाँको आगमनको आशा गरेका थिए। यसै बिच ख्रिस्टले यस पृथ्वीमा आफ्‍नो सेवकाइ सुरु गर्नुभयो र इस्राएलमा त्‍यो खबर चाँडै नै चारैतिर फैलियो।

येसुले शनिबारका दिनमा लाजरसलाई मरेकोबाट जीवित पार्नुभयो। त्यो आश्चर्यकर्मले आइतबारका दिनमा भएको उहाँको महिमित पुनरुत्थानलाई पूर्वचित्रण गरेको थियो।

येसुले लाजरसलाई मरेकोबाट जीवित पार्नुभएपछि सबै मानिसले इस्राएलीहरुलाई बचाउने मसिह राजा उहाँ नै हुनुहुन्छ भनी विश्‍वास गरे।

ख्रिस्टले गधाको एउटा बछेडामाथि चढेर यरुसलेम सहरमा प्रवेश गर्नुभयो र यसरी उहाँले जकरिया अगमवक्‍ताको भविष्‍यवाणीलाई पूरा गर्नुभयो।

यति बेला इस्राएलीहरु निस्तार चाड मनाउनका लागि यरुसलेम सहरमा जाने तयारी गर्दै थिए। उद्धारकर्ता राजाको रुपमा येसु पनि यरुसलेम सहरमा जाँदै हुनुहुन्‍थ्‍यो।

यहुदीहरुले मसिहलाई संसारिक शक्‍तिशाली राजाको रुपमा आशा गरेका थिए। मसिहले इस्राएलीहरुलाई रोमी साम्राज्यको अत्याचारबाट राजनीतिक रुपले छुटाउने छन् भन्‍ने भ्रम यहुदीहरुमा परेको थियो।

तर येसुले आफ्‍नो मृत्यु र पुनरुत्थानद्वारा मानवजातिको मृत्यु र सरापबाट उनीहरुलाई बचाउनुभयो।

संसारभरका अर्थोडक्स ख्रिस्‍चियनहरुले वर्तमान् समयमा हुन आउने घटनाका रुपमा पाम सन्‍डे  पर्व अर्थात खजुरको आइतबारको पर्व मनाउँछन्। येसु हाम्रो हृदयमा प्रवेश गर्ने राजा हुनुहुन्‍छ भनी स्‍वीकार गर्दै हामी पाम सन्‍डे पर्व अर्थात् खजुरको आइतबारको पर्व मनाउँछौं।

अब प्रश्‍न यो छ, ख्रिस्ट हाम्रो हृदयमा प्रवेश गर्नका लागि हाम्रो हृदय तयार छ त? ख्रिस्टलाई हाम्रो जीवनमा राजाको रुपमा शासन गर्न हाम्रा हृदयमा उहाँलाई ठाउँ छ त?

प्राय हाम्रा हृदयका ढोकाहरु बन्द हुन्छन् र ख्रिस्टले प्रवेश गर्न सक्नुहुन्न, किनभने हाम्रा हृदयमा पहिलेदेखि अर्कै राजा बसिरहेको छ र त्यो राजा हाम्रो आफ्‍नो स्‍वार्थी मानवीय आत्मा हो।

हाम्रा हृदयमा ख्रिस्टलाई प्रवेश गर्न दिएर हामीले यो समस्यालाई सजिलै समाधान गर्न सक्छौं। हामीले परमेश्वरलाई हाम्रो जीवनमा प्रवेश गर्न दिनुपर्छ। यसका लागि हामीले आफैंलाई परमेश्वरको इच्छामा समर्पण गर्नुपर्छ।

तपाईंको आफ्नो जीवन येसुको चरणमा समर्पण गर्नुहोस्, किनभने उहाँले तपाईंलाई जीवन दिनुभयो।

हामी यस संसारका अस्थायी, क्षणिक र बितेर जाने कुराहरुका बन्‍धनमा बाँधिएर कैदीहरुजस्‍ता भएका छौं। हाम्रो आफ्नै पापी स्वभाव र संसारको कामधन्दा, व्यवसाय, धनसम्पत्ति र हाम्रा शासकका कैदी भएका छौं। हाम्रो लोभी स्‍वभावले हामीलाई दास बनाएको छ।

हामीले आफैंलाई परमेश्वरमा समर्पण गर्‍यौं भने मात्र हामीले जीवनमा साँचो सुख र शान्ति प्राप्‍त गर्न र साँचो प्रेमको अनुभव गर्न सक्दछौं। हामीले उहाँलाई आफ्नो जीवनको राजा बनाउनुपर्छ र उहाँसित पूर्ण संगतिमा रहनुपर्छ। हामी निरन्तर रुपमा दैनिक प्रार्थना, वचन मनन र युखारिस्ट अर्थात पवित्र प्रभुभोजमा सहभागी हुनुपर्छ। हामीले पाप स्वीकार गरेर, पवित्र धर्मशास्त्र पाठ गरेर र वचन बुझेर मात्र हाम्रो हृदयलाई हाम्रो आफ्नो राज्यबाट परमेश्वरको राज्यमा लैजान सक्छौं।

चर्च जाने, प्रार्थना गर्ने, पवित्र धर्मशास्त्र पढ्ने, उपवास बस्ने, पाप स्वीकार गर्ने र पवित्र प्रभुभोजमा सहभागी हुने फुर्सद छैन भनेर धेरै मानिसले गुनासो गर्छन्। त्‍यस्‍ता मानिसहरु आफ्नै पापी स्वभाव र इच्छाका दास बनेका हुन्‍छन्।

यसर्थ हामीले परमेश्‍वरसँग समय बिताउनुपर्दछ। किनभने परमेश्वरले हाम्रा निम्ति सधैं आफ्नो समय दिनुहुन्छ। उहाँले निरन्तर रुपमा हाम्रो हृदय र हाम्रो जीवनको ढोका ढकढक्याउनुहुन्छ र हामीमा वास गर्न आउने इच्छा गर्नुहुन्छ।

कतिपय चर्च फादरहरुले परमेश्वरलाई पागल प्रेमीजस्‍तो हुनुहुन्छ समेत भनेका छन्। जसरी कुनै पागल प्रेमीले आफूले प्रेम गर्ने व्यक्तिसँग निरन्‍तर समय बिताउन खोज्‍दछ, त्‍यसरी येसुले स्‍वर्ग छाडेर मानवजातिसँग निरन्‍तर समय बिताउन र सङ्‍गति गर्न यस पृथ्‍वीमा ओर्लेर आउनुभयो।

म आग्रह गर्दछु, आज पाम सन्डेको दिनको लिटर्जीको अन्त्यमा हामीले खजुरका पातहरु ग्रहण गरेपछि, ती पातहरु हामी हाम्रा घरमा लैजाऔं र त्‍यसलाई हामीले सधैं देख्न सक्ने ठाउँमा राखौं। खजुरको त्‍यो पातले हामीलाई यो कुराको स्मरण हुन सकोस् कि ख्रिस्ट नै हाम्रो परिवारको र हाम्रो जीवनको राजा हुनुहुन्छ। ख्रिस्ट समृद्धिको साँचो जवाफ र हाम्रो जीवनको अर्थ हुनुहुन्छ।

यसकारण हामी ख्रिस्टलाई हाम्रो जीवनको राजाको रुपमा घोषणा गरौं र दैनिक उहाँसँग समय बिताउने कोसिस गरौं। ख्रिस्ट नै त्यो व्यक्ति हुनुहुन्छ जससँग हामीले अनन्तकाल समय बिताउने छौं। हामी सदा यो कुरा स्‍मरण गरौं।

हाम्रो पेसा, शिक्षा, आर्थिक अवस्था, घरपरिवार र जीवनमा भएका अन्‍य सबै आधारभूत भौतिक कुराहरु अस्थायी हुन्‍छन्।

यसकारण हामीले ख्रिस्टलाई हाम्रो जीवनमा पहिलो प्राथमिकता दिनुपर्दछ। यसो गरेर मात्र हामीले यस अन्योलता र जटिलताले भरिएको संसारमा साँचो शान्ति र सुख पाउन सक्छौं।