झम्सिखेल, ललितपुर, नेपाल

मन्दिरमा ख्रिस्टको प्रस्तुतीकरणको पर्व

  • Home
  • मन्दिरमा ख्रिस्टको प्रस्तुतीकरणको पर्व
मन्दिरमा ख्रिस्टको प्रस्तुतीकरणको पर्व
मन्दिरमा ख्रिस्टको प्रस्तुतीकरणको पर्व
July 14, 2025

ख्रिस्टको प्रस्तुतीकरणको पर्वले हाम्रा प्रभु र उद्धारकर्ता येसु ख्रिस्टको सांसारिक जीवनमा घटेको महत्वपूर्ण घटनालाई स्मरण गर्दछ। यसले उहाँ जन्मेको ४० दिनपछि यहुदी धार्मिक व्यवस्थाको आदेशबमोजिम उहाँको बुबाआमाले उहाँलाई मन्दिरमा प्रस्तुत गरेको कुरालाई बताउँछ।

हाम्रा प्रभुको प्रस्तुतीकरणको यो पर्व हरेक वर्ष फेब्रुअरी महिनाको २ तारिखमा मनाउने गरिन्छ र यो पर्व ख्रिसमसको ४० दिनपछि पर्न आउँछ। यो पर्व अर्थोडक्स चर्चका १२ वटा महान् पर्वमध्ये एक हो।

ख्रिस्टको प्रस्तुतीकरणको घटनालाई लुका २ː२२-४० खन्डले स्‍पष्ट रुपले उल्‍लेख गरेको छ। त्यो बेला नाबालक येसुका बुबाआमाले उहाँलाई यरुसलेमको मन्दिरमा लिएर गए। यरुसलेमको मन्‍दिरमा हन्ना र सिमियोन नाउँ गरेका परमेश्‍वरका दुई पवित्र जनसँग येसुका बुबाआमाले भेट्ने मौका पाए। हन्ना वृद्ध अगमवादिनी थिइन् र उनी सधैं यरुसलेमको मन्दिरमा बस्‍ने गर्थिन्। सिमियोन वृद्ध मानिस थिए र ख्रिस्टको आगमनको साक्षी नदिउन्‍जेल उनको मृत्यु हुने छैन भनेर परमेश्वरले उनीसँग प्रतिज्ञा गर्नुभएको थियो। पवित्र आत्माको प्रेरणामा हन्ना र सिमियोन दुवैले यो संसारको मसिह र उद्धारकर्ताका रुपमा येसु ख्रिस्टलाई चिन्ने र हेर्ने मौका पाए।

अब म यहाँ तपाईंलाई मन्दिरमा ख्रिस्टको प्रस्तुतीकरणको पर्वको एउटा आइकनका बारेमा बताउने छु।

यो पर्वको आइकनले ख्रिस्टलाई मन्दिरको भित्रपट्टि, वेदीको अगाडि प्रस्तुत गरेको कुरालाई दर्साउँछ। सन्त योसेफसँगै थिओटोकोस देब्रेपट्टि खडा भएकी छिन् र उनले आफ्नो छोरोलाई समातेकी छिन् र उहाँलाई अगमवादिनी हन्नासँगै खडा भएका सन्त सिमियोनको हातमा दिनलाई उनले आफ्ना हातहरु अगि बढाएकी छिन्।

सबै आइकनमा जस्तै यहाँ येसुलाई एउटा ज्योतिको चक्रको साथमा चित्रण गरिएको छ र त्‍यो चक्रभित्र क्रुस रहेको छ। सन्त योसेफ थिओटोकोसको पछाडिपट्टि खडा भएका छन् र उनले आफूसँग दुईवटा ढुकुर बोकेका छन्। यहुदी व्यवस्थाअनुसार यदि बुबाआमा धनी भए, उनीहरुले बलिदानका निम्ति थुमा चढाउन सक्थे। तर यदि उनीहरु गरिब भए, उनीहरुले बलिदानको रुपमा ढुकुर वा परेवा चढाउन सक्थे। यसले हाम्रा प्रभु येसुले गरिब परिवारमा जन्‍म लिनुभएको कुरा बताउँछ ।

मन्दिरमा ख्रिस्टको प्रस्तुतीकरणको घटना किन महत्वपूर्ण छ तɁ

मन्दिरमा हाम्रा प्रभुको प्रस्तुतीकरणको घटना धेरै कारणले महत्वूपर्ण छ। पहिलो कुरा, यो आफ्ना मानिसहरुसित मानव अवतारमा देहधारी हुनुभएको परमेश्वरको पहिलो भेट थियो। दोस्रो कुरा, यो पर्व यहुदी मसिह र अन्यजातिका निम्ति ज्योतिको बारेमा परमेश्वरले दिनुभएको प्रतिज्ञाको पूर्णता थियो र यसले ख्रिस्टको मानवीय स्वभावलाई पक्का प्रमाणित गर्दथ्‍यो। व्यवस्थाका दाता आफैले यति बेला परमेश्वरको वचनको रुपमा व्यवस्थालाई पूरा गर्दै हुनुहुन्‍थ्‍यो र यो साँच्‍चै नै अचम्म लाग्‍ने कुरा थियो। उहाँद्वारा नै संसारको सृष्टि गरियो र अहिले उहाँलाई एक बालकको रुपमा सिमियोनका हातहरुले समातेर राखेको छ।

यो समयमा पवित्र धर्मशास्त्र बाइबलबाट केही विशेष खण्‍ड वाचन गरिन्छ।

यो पर्वका निम्ति छानिएको पुरानो करारको पढाइले निस्तार चाड, बालक जन्मेपछि शुद्धीकरण गर्ने प्रथा, पहिले जन्मेका बालकको छुटकारा र यहुदी मसिहको बारेमा भएका अगमवाणीका विषयहरुका बारेमा बताउँछन्।

सुसमाचार लुका २ː२५-३२ बाट वाचन गरिन्छ र यो खण्‍डमा सन्त सिमियोनले ख्रिस्टलाई स्वीकार गर्छन्।

पत्रबाटको पढाइ हिब्रु ७ː७-१७ बाट वाचन गरिन्छ र यसले लेवीको दर्जाबाट मल्किसेदेकको दर्जामा पुजारी पदमा आएको परिवर्तनको बारेमा बताउँछ।

म तपाईंलाई अब मन्दिरमा ख्रिस्टको प्रस्तुतीकरणको घटनाका सम्बन्धमा सुरुको चर्चबाट आएका दुईवटा विशेष प्रचलनका बारेमा बताउने छु:

पहिलो कुरा, मैनबत्ती हातमा लिने प्रचलन हो: ख्रिस्ट अन्यजातिहरुका बिचमा प्रकट हुनुभएको परमेश्‍वरको ज्योति हुनुहुन्छ भनेर सिमियोनले आफ्नो प्रार्थनामा उल्लेख गरे र यस कुराको चिन्हका रुपमा, इस्वी सम्वत् पाँचौ शताब्दीदेखि, चर्चका विश्वासीहरुले यस पर्वको ईश्वरीय लिटर्जीका समयमा बलिरहेका मैनबत्ती हातमा लिने प्रचलन सुरु गरे।

दोस्रो कुरा, आमाहरुलाई चर्चमा ल्याउने प्रचलन हो: पवित्र धर्मशास्त्रमा उल्‍लेखित नमुनाको अनुसरण गर्दै सुरुको चर्चले आमाहरुलाई बालक जन्मेको चालिसौं दिनमा चर्चमा उपस्‍थित हुने आव्हान गर्न थाले। यो समयमा सुत्केरी आमाको शारीरिक सुरक्षाका निम्ति विशेष प्रार्थना र धन्यवाद चढाउने गरिन्छ। त्यसपछि बालकहरुलाई बप्तिस्मा दिन र मुरोन तेलले अभिषेक गर्न परमेश्वरको चरणमा प्रस्तुत गर्न तयार पारिन्छ र यसरी उनीहरुलाई पहिलो पवित्र प्रभुभोजका निम्ति तयार गरिन्छ। यसरी परमेश्वरले आफ्‍ना छोराछोरीलाई जीवन दिनुभयो भनेर बुबाआमाले सबै मानिसका अगाडि घोषणा गर्दछन्। यसरी बालबालिकालाई परमेश्वरको महिमाको निम्ति अर्पण गरिन्छ। प्रस्तुतीकरणपछि, बुबाआमा विश्वासयोग्य भन्डारे होउन् र आफ्ना छोराछोरीलाई परमेश्वरको भयमा हुर्काउन् भन्‍ने उद्देश्‍यले याजकले बालकलाई उनका बुबाआमाको हातमा फिर्ता दिन्छन्।

मैले आफैलाई यो पर्व मनाउनका निम्ति कसरी तयार गर्ने त?

के म परमप्रभुसँग भेट गर्नका लागि तयार छुɁ यो पर्वले हामीलाई सन्त सिमियोन र सन्त हन्नाले झैं शुद्ध भएर परमेश्‍वरका ख्रिस्टसँग भेट गर्ने आशा लिएर पर्खने मानिसहरुकहाँ हाम्रा प्रभु येसुले आफैलाई प्रकट गर्नुहुन्छ भन्‍ने कुराको स्मरण गराउँछ। यो दिनको लिटर्जीको आराधना सेवामा वाचन गर्ने प्रार्थना र गाउने भजनहरुले, हामीले सधैं प्रभुलाई भेट्न र उहाँ को हुनुहुन्छ भनी चिन्न उहाँले हामीलाई आव्‍हान गर्नुभएको कुरालाई स्‍मरण गराउँछन्।

मेरा प्रभुलाई भेट्नका लागि मैले के ल्याउने त? प्रभु आफै सम्‍पूर्ण जगत्‌का राजा हुनुहुन्‍छ। यसर्थ, उहाँसँग हुँदै नभएको त्‍यस्‍तो के नै कुरा हामीले उहाँलाई दिन सक्छौं र? तर हामीले आफैलाई दिनुपर्छ र यसबाहेक हामीले उहाँलाई दिन सक्ने अर्को महान् उपहार छैन। यसर्थ, हामीले उहाँलाई हाम्रो आफ्नै जीवन दिनुपर्दछ।

यो ख्रिस्टको प्रस्तुतीकरणको पर्वका अवसरमा, पवित्र कन्ये मरियमले आफ्नो ईश्वरीय बालक येसु ख्रिस्टलाई परमेश्‍वरको चरणमा प्रस्‍तुत गरिन्। यसर्थ, परमेश्वरका जीवित मन्दिर हुन हामीले पनि आफैलाई सुम्‍पिदिनुपर्छ र चर्चले पनि यही कुराको आव्हान गर्दछ। यसरी हामी परमेश्वरको पवित्र जीवित वासस्थान बन्‍न सक्दछौं।

मेरो प्रार्थना कस्तो हुनुपर्छ त?

लुका २ː२९-३२ अनुसार, सन्‍त सिमियोनले यसो भनेर परमेश्‍वरको स्‍तुतिगान गरेका छन्, “अब हे परमप्रभु, आफ्नो वचनअनुसार तपाईंले आफ्नो दासलाई शान्तिसँग विदा दिनुहोस्। किनकि मेरा आँखाले तपाईंको उद्धार देखेका छन्, जो तपाईंले सबै मानिसहरुका सामुन्ने तयार पार्नुभएको छ, अन्यजातिहरुलाई प्रकाशको निम्ति ज्योति र तपाईंको जाति इस्राएललाई महिमाको निम्ति ज्योति।

यो सन्त सिमियोनले गाएको प्रार्थना हो र यो पर्वको समयमा सधैं यही प्रार्थनाको प्रयोग गरिन्छ। सिमियोनले बालक ख्रिस्टलाई हेरे, स्‍पर्श गरे र आफ्‍नो शान्तिपूर्ण बिदाइका लागि परमेश्‍वरसँग प्रार्थना गरे। हाम्रो लागि पनि यो प्रार्थना एउटा उत्कृष्ट नमुना हो। हामीले उद्धारकर्तालाई देखेर स्पर्श गरेपछि हामीमाथि रहेको पापको बन्धनबाट हामीले छुटकारा पाएका हुन्छौं र हामीले दुष्टताको संसारलाई शान्तिसँग त्याग्न सक्दछौं भन्‍ने कुरालाई यो प्रार्थनाले स्‍मरण गराएको छ।

यो प्रार्थनाले ख्रिस्ट को हुनुहुन्थ्यो र उहाँको मिसन के थियो भन्ने बारेमा गहिरो ज्ञान प्रदान गरेको छ। चर्चले आफ्‍नो मिसनमाथि निरन्तर रुपमा जोड दिन र अरु मानिसलाई येसुको प्रेमको बारेमा बताउनका लागि यो प्रार्थनाले हामीलाई प्रेरणा दिएको छ।

यो पर्वका बारेमा केही अर्थपूर्ण भजन यस प्रकारका छन्:

आगोको कोइला ख्रिस्ट,

जसलाई यसैयाले अगिबाटै देखे,

यो बेला थिओटोकोसको काखमा विश्राम गर्नुभयो,

चिम्टाका बिचमा झैं,

र उहाँलाई एल्डरकहाँ दिइएको छ।

ईश्वरीय भजन गाउँदै आओ

हामी पनि ख्रिस्टलाई भेट्न जाऊँ

र हामी उहाँलाई ग्रहण गरौं

सिमियोनले उहाँको उद्धारलाई देखे,

दाउदले उहाँलाई घोषणा गरे,

अगमवक्ताहरुले उहाँको वचन उच्चारण गरे,

उहाँले हाम्रा निम्ति देहधारण गर्नुभयो,

र उहाँ हामीसँग व्यवस्थामा बोल्नुभयो,

आउनुहोस्, हामी उहाँको आराधना गरौं!