झम्सिखेल, ललितपुर, नेपाल

पूर्व सूचना वा घोषणाको पर्व (सुबोरो)

  • Home
  • पूर्व सूचना वा घोषणाको पर्व (सुबोरो)
पूर्व सूचना वा घोषणाको पर्व (सुबोरो)
July 17, 2025

पूर्व सूचना वा घोषणाको पर्व गब्रिएल स्‍वर्गदूतले कन्‍ये मरियमलाई ख्रिस्टको जन्मको बारेमा पूर्व सूचना गरेको कुराको सम्झनामा मनाउने गरिन्छ। यो कुरा लुका १:२६-३८ मा लेखिएको छ।

यो, संसारको छुटकाराका निम्ति परमेश्‍वरले आफ्‍नो पुत्र येसुलाई यस संसारमा पठाउने प्रतिज्ञा पूरा हुन लागेको कुराको पूर्व जानकारी दिएको सम्‍झनाको स्‍वरूप मनाउने पर्व हो।

अर्थोडक्स चर्चका बाह्र महान् पर्वहरुमध्ये यो पर्व एक हो र यसलाई ‘प्रभुको पूर्व सूचना वा घोषणाको पर्व’ वा ‘थिओटोकोसलाई पूर्व सूचना’ भन्ने गरिन्छ।

यो पर्व हरेक वर्ष मार्च महिनाको २५ तारिखमा मनाउने गरिन्छ, किनभने यो दिन येसु ख्रिस्ट जन्मनुभन्दा ठिक नौ महिना अगि पर्दछ।

सन्त लुकाको सुसमाचार अध्याय १:२६-३८ मा यो पूर्व सूचनाको विवरण दिइएको छ। सुसमाचारको विवरणअनुसार त्‍यो समयमा एलिसिबाले बप्तिस्मा दिने युहन्नालाई गर्भधारण गरेको करिब छ महिना बितेको थियो। अनि त्यसै बेला परमेश्‍वरको प्रधान दूत गब्रिएलले कन्ये मरियमलाई यसो भनेर सूचना दिए – मरियमले गर्भधारण गर्ने छिन् र एउटो छोरो जन्माउने छिन्। मत्ती १:१८-२१ को वर्णनबमोजिम, सन्त योसेफले आफूसँग मगनी भएकी मरियम गर्भवती भएकी थाहा पाए। उनले मरियमलाई मनमनै त्‍याग्‍ने सोच बनाएका थिए। यहाँ मरियमलाई पूर्व सूचना दिएको कुराको विवरण स्वर्गदूतले योसेफलाई दिएका छन्।

चर्चको पवित्र परम्पराले भनेअनुसार मरियमले बाल्यकालदेखि नै यरुसलेमको मन्दिरमा सेवा गर्दै आएकी थिइन्। उनी ठुली भएपछि आफ्नो घर नासरतमा गइन्। त्यहाँ योसेफसँग उनको मगनी भयो।

स्वर्गदूतको पूर्व सूचना वा घोषणा सुनेर मरियम विचलित भइन्। यस्‍तो कसरी हुन सक्छ भनेर उनी अचम्ममा परिन्। किनभने उनी ‘कन्ये थिइन्’। उनको विवाह भएको थिएन र यसैले कुनै पुरुषसँग उनको सहवास भएको थिएन।

त्यसपछि त्यो देहधारण कसरी हुनेछ भनेर लुका १:३५ मा गब्रिएलले उनलाई बताए।‘पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र अर्थात् परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ।’

ती स्वर्गदूतको पूर्व सूचना वा घोषणालाई स्वीकार गर्न मरियम तयार भइन् र उनले यसो भनिन्: ‘हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्।’

अब म तपाईंलाई पूर्व सूचना वा घोषणाको पर्वको आइकनका बारेमा बताउने छु। यो आइकनमा प्रधानदूतले मरियमलाई अभिवादन गर्न आफ्नो हात उठाएको देखाइएको छ। दूतले भने,‘हे कृपाकी पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्छ, स्त्रीहरुमा तिमी धन्य हौ’ यो अभिवादनले त्यसपछि मरियमलाई दिनुपर्ने उच्च आदर वा सम्मानको बारेमा प्रकट गरेको छ। दूतको बायाँ हातको लौरोले उनी दूत वा सन्देशवाहक हुन् भन्‍ने कुरालाई सङ्केत गर्छ।

यो आइकनको दायाँपट्‍टि पवित्र कन्‍ये आफ्‍नो हात उठाएर खडा भएकी छिन्। यसले उनले परमेश्‍वरकी आमा हुने कुरालाई विनम्रतासाथ मन्‍जुरी दिएकी र परमेश्‍वरको उद्धारको योजना स्वीकार गरेकी छिन् भन्ने कुरालाई जनाउँछ। कुनै आइकनमा मरियमलाई अग्लो आसनमा बसेको देखाइएको छ। यसको अर्थ परमेश्‍वरकी आमाको रुपमा उनलाई उच्च सम्मान दिएको हो।

उनको बायाँ हातमा उनले चर्खाको धागो बेर्ने सानो काठ समातेकी छिन्। त्यसले उनी यरुसलेमको मन्दिरको पर्दाको कपडा बनाउन व्यस्त हुन्थिन् भन्‍ने परम्परालाई सङ्केत गर्दछ। त्यही बेला स्वर्गदूतले उनलाई अचम्ममा पारे। ‘थिओटोकोसको बारेमा भएका धेरैवटा आइकनले उनको वस्त्रमा तीनवटा तारा देखाएको छ। यो तीन ताराले ख्रिस्टको जन्मभन्दा पहिले, उहाँको जन्मको समयमा र उहाँ जन्मेपछि मरियम सदाका लागि कन्ये रहिन् भन्ने कुरा जनाउँछ।

यो पूर्व सूचनाको आइकनको सबैभन्दा माथि प्रायः किरणहरु निस्केका एउटा वृत्तको भाग वा एउटा ढुकुर हुने गर्छ र यसले उनीमाथि पवित्र आत्मा आउनुभएको कुरालाई जनाउँछ।

अब म तपाईंलाई यो पर्व कसरी मनाइन्छ भन्ने बारेमा बताउन चाहन्छु।

यो पूर्व सूचना वा घोषणाको पर्व ख्रिसमसको पर्वजस्तै एउटा घटनाको संस्‍मरण हो। यो पर्व येसुको देहधारणको सुसमाचारको रुपमा मनाउने हो। चर्चको लिटर्जीको क्यालेन्डरअनुसार यो पर्व २५ मार्चमा पर्छ र यो समय महान् लेन्टको बिचमा परेको हुनाले यो पर्व ओझेलमा पर्न गएको हो।

अर्थोडक्‍स चर्चमा शनिबारका सेवाहरु र इस्टर सन्डेमा पवित्र प्रभु भोज हुने गर्छ। साथै महान् लेन्टको समयमा प्रभु भोज हुने अर्को एक दिन यो पूर्व सूचना वा घोषणाको पर्व मात्रै हो। भारतका सिरियन अर्थोडक्स चर्चहरुले यसै गर्दछन्। यसकारण यो पर्व ज्‍यादै महत्‍वपूर्ण पर्व हो।

यो पर्व सामान्यतया ईश्‍वरीय लिटर्जी, सेवाहरु, भजनहरु र प्रार्थनाहरुका साथमा मनाउने पर्व हो। यी सबै कुराले मुक्तिदाताको जन्ममा मानिसहरुको उद्धारको खुसीको सुसमाचारलाई जोड् दिन्छन्।

यो पर्वमा पढ्ने धर्मशास्त्रका मुख्य खण्डहरु निम्न हुन्:

·      लुका १:२६-३८ बाट सुसमाचार वाचन गरिन्छ।

·      पुरानो करारबाट पढ्ने खण्ड देहधारणका भविष्‍यवाणीहरुसित सम्बन्धित छन्। जस्तै उत्पत्ति ३:१-१९ ले स्त्रीको सन्तानको बारेमा बताउँछ। उत्पत्ति २८:१०-१७ ले याकुबको भऱ्याङको बारेमा वर्णन गर्दछ। हितोपदेश २:१-२२ र ९:१-११ ले परमेश्‍वरको बुद्धिको बारेमा वर्णन गर्दछन् र यसैया ७:१०-१५ ले बताउँदछ, कन्‍येले एउटा छोरो जन्माउने छे।

·      पत्रहरुबाटको वाचन हिब्रु २:११-१८, गलाती ३:२२-२५, र १ युहन्ना ३:२-१२ बाट गरिन्छ।

यो पर्व किन महत्त्वपूर्ण छ त?

यदि हामीले अहिलेसम्म भनेको सबैभन्दा महान् घटना ख्रिसमस हो भने, पूर्व सूचना वा घोषणाको पर्व त्यो ख्रिसमसको घटनाको सुरुआत् हो। ख्रिसमस उद्धारकर्ताले मानव देहधारण गर्नुभएको पर्व हो। तर पूर्व सूचना वा घोषणाको पर्वको दिन उहाँ पवित्र आत्माद्वारा कन्ये मरियमको गर्भमा आउनुभएको संस्‍मरणको दिन हो।

यसैया ७:१४ मा यसैया अगमवक्ताले यसो भनेर भविष्यवाणी गरे, ‘हेर, कन्‍ये गर्भवती हुने छे, र त्यसले एउटा छोरो जन्माउने छे र उनको नाउँ इम्मानुएल राखिने छ, जसलाई ‘परमेश्‍वर हाम्रो साथमा’ भनी अनुवाद गरिएको छ।’ त्यसकारण ख्रिस्टको जन्मको बारेमा गब्रिएल स्वर्गदूतले कन्ये मरियमलाई पूर्व सूचना वा घोषणा गरेको कुरा धेरै शताब्दी अगि यसैया अगमवक्ताले अगमवाणी गरेको परमेश्वरको यही प्रतिज्ञा पूरा भएको घटना थियो।

यो पूर्व सूचनाको पर्व र यसपछि घटेको येसुको देहधारणको ख्रिसमसको घटना मानवजातिका निम्ति परमेश्‍वर आफैले बनाउनुभएको योजना थियो। परमेश्‍वर अरु धेरै रचनात्मक तरिकाले मानव बन्न सक्नुहुन्थ्यो। उहाँ आफै आदमजस्तै माटोद्वारा बनेर देहधारी हुन सक्नुहुन्थ्यो। अथवा उहाँ स्वर्गबाट सिधै तल ओर्लेर हामीकहाँ आउन सक्नुहुन्थ्यो। तापनि उहाँले जसरी मानिसहरु जन्‍मिन्‍छन् त्यसरी मानिस बन्ने निर्णय गर्नुभयो। त्यसरी नै उहाँको पुनरुत्थान र स्वर्गारोहणभन्दा अगि उहाँ हामीजस्तै मृत्युको ढोका भएर संसारबाट प्रस्थान गर्नुभयो। मानवीय जन्मद्वारा नै उहाँले यो संसारमा प्रवेश गर्नुभयो। उहाँले पापको बन्‍धनमा परेका सबै कुरालाई छुटकारा दिनुभयो, किनभने उहाँमा मानव जीवनका सबै स्वभाव निहीत थिए। हामीलाई पापबाट बचाउन उहाँ सबै कुरामा हामीजस्तै हुनुभयो।

साथै यस कुरामा मानवीय प्रतिक्रिया पनि मिसिएको छ। मरियमले पवित्र आत्‍माद्वारा गर्भधारण गर्न पर्‍यो। यो कुरालाई उनको समाजका मानिसहरुका समझले बुझ्‍न सकेन। यसर्थ मरियम र उनको परिवारले हाँसो, गिल्‍ला, बदनाम र बहिस्कार सहनुपर्‍यो। तर पनि मरियमले यो कुरालाई स्‍वेच्‍छाले स्वीकार गरिन्।

परमेश्‍वरले मानिस बन्ने निर्णय गर्नुभयो तर उहाँले यो काम मरियमको राजीखुसीको सहमतिद्वारा गर्नुभयो। येसुले मरियमलाई आफ्‍नो आमा हुन चुन्‍नुभयो। अर्को शब्दमा, आमा मरियम निष्क्रिय साधन भएकी थिइनन्। तर सम्‍पूर्ण मानवजातिको उद्धारका निम्ति परमेश्‍वरको योजनामा उनी स्वतन्त्र र सकारात्मक भूमिका खेल्न सक्रिय सहभागी भएकी थिइन्। हाम्रा लागि उनी महान् उदाहरण बनिन्।

परमेश्‍वरले थिओटोकोसलाई चुन्नुभयो र उहाँको इच्छा पूरा गर्न उनी आज्ञाकारी भइन्। यसैले अर्थोडक्स चर्चले परमेश्‍वरकी आमा मरियमलाई सम्मान गर्दछ।

उनी अरुजस्‍तै साधारण व्‍यक्‍ति थिइन्। तापनि परमेश्‍वरको पुत्र येसुलाई यस पृथ्‍वीमा मानव स्‍वरुपमा जन्माउने विशेष अधिकार परमेश्‍वरले आमा मरियमलाई दिनुभयो।

जब हामी गब्रिएल प्रधान दूतको वचनलाई स्‍मरण गर्दछौं, यसले थिओटोकोसलाई ‘ठुलो कृपाकी पात्र’ ‘स्त्रीहरुमा तिमी धन्य’ भनेको छ । उनलाई यो कृपा प्राप्‍त छ। यसकारण हामी ‘अहिले र हाम्रो मृत्युको घडीसम्म’ हाम्रो लागि प्रार्थना गरिदिनुहोस् भनेर उनलाई बिन्ती गर्न सक्‍दछौं।

निष्कर्षमा, पूर्व सूचना वा घोषणाको पर्वले हामीलाई लेन्ट कालमा थिओटोकोसको आज्ञाकारिता सम्झने र अनुकरण गर्ने आज्ञा दिन्‍छ। उनले भनिन्, ‘मलाई तपाईंको वचनअनुसार होस्।’ विश्‍वासीहरु पनि आफ्नो विश्‍वासमा इमानदार हुँदा समाजले बहिस्कार गरे पनि आफू परमेश्‍वर र उहाँको पवित्र चर्चको अधीनमा बस्नुपर्छ।

हाम्रो जीवनमा नम्रता र आज्ञापालन होस् भनेर हामीले निरन्तर प्रयास गर्नुपर्छ। विशेष गरी लेन्ट कालमा हामीले यो कुरा झन् धेरै गर्नुपर्छ। यदि हामीले यी दुई कुरा, नम्रता र आज्ञापालन ठिकसँगले अभ्यास गऱ्यौं भने, परमेश्‍वरले हामीमा के गर्न सक्नुहुन्छ भनी स्मरण गर्न पूर्व सूचना वा घोषणाको पर्व मनाउनुपर्छ।

आउनुहोस्, यो महान् पर्व मनाउन हामी आफू र आफ्नो परिवारलाई तयार पारौं।

पूर्व सूचना वा घोषणाको पर्वमा गाउने तल दिएको परम्परागत भजन चौथो शताब्दीका सन्त अथानेसियसको समयदेखि प्रयोगमा छ र यो ट्रोपरिअनबाट लिइएको भजन हो। उक्‍त भजनको एउटा सानो अंश यस्‍तो छः

आज हाम्रो मुक्तिको सुरुआत हो।

अनि अनन्त रहस्यको प्रकाश हो!

परमेश्‍वरका पुत्र कन्‍येको पुत्र बन्‍दछन्।

गब्रिएलले अनुग्रहको आगमनको पूर्व सूचना दिन्‍छन्।

उनीसँग हामी पनि थिओटोकोसलाई पुकारेर भनौं :

‘ए कृपा पात्र, रमाउनुहोस्, प्रभु तपाईंसँग हुनुहुन्छ!’