मोरान मोर अथनेसियस योहान प्रथम मेट्रोपोलिटन
मोरान मोर अथनेसियस योहान प्रथमको जन्म १९५० मा भारतको केरला राज्यको निरानाम गाउँमा कडापिलारिल पुन्नोस योहनानको रुपमा भएको थियो। निरानाम गाउँ भारतीय चर्चको इतिहासमा धेरै महत्त्वपूर्ण स्थान हो, किनभने यहीं प्रेरित सन्त थोमाले ५२ इस्वीमा आफ्ना सात वटा चर्चहरुमध्ये एउटाको स्थापना गरेका थिए। आज पनि, यो गाउँमा सन्त थोमा क्रिश्चियनहरु (जसलाई सिरियाली क्रिश्चियन पनि भनिन्छ) बसोबास गर्छन्, जो प्रथम शताब्दीमा सन्त थोमाद्वारा विश्वासमा ल्याइएका क्रिस्चियनहरुका सन्तानहरु हुन्। त्यसकारण, योहान (सन्त युहन्नाको हिब्रु नाउँ) ईश्वरभक्त आमाबाबुबाट आशीर्वाद प्राप्त हुनुहुन्थ्यो, जसले उहाँलाई अर्थोडक्स विश्वासमा बलियो आधार प्रदान गरे, र पवित्र संस्कारपूर्ण जीवनलाई नै जीवनको मार्गका रुपमा अपनाउनको निम्ति हुर्काए।
उहाँकी आमाको प्रार्थनाको जबाफमा, उहाँले उच्च माध्यमिक शिक्षा पूरा गरेपछि आफ्नो जीवनलाई परमेश्वरको सेवामा समर्पित गर्नुभयो। उहाँले प्रभु येसु ख्रिस्टको महान् आज्ञा पालन गरेर, आफ्नो जीवनका अरु आठ वर्षहरु दक्षिण एसियामा सुसमाचार प्रचार र दयापूर्ण सेवाका कार्यहरु गर्दै बिताउनुभयो।
सन् १९७४ मा, उहाँ ईश्वरशास्त्रीय तालिम लिनको लागि संयुक्त राज्य अमेरिकामा जानुभयो। त्यसपछि त्यहाँ उहाँलाई डिकन अभिषेक गरिएको थियो। केही समयपछि, उहाँलाई याजक अभिषेक गरियो र टेक्सासको डलासस्थित स्थानीय प्यारिसको सेवा गर्नको निम्ति खटाइयो। त्यसको चार वर्षपछि, एसियाका कहिल्यै येसु ख्रिस्टको सुसमाचार नसुनेका करोडौं मानिसहरुका सेवा गर्नको निम्ति परमेश्वरले उहाँलाई बोलावट दिनुभएको महसुस गर्नुभयो, र उहाँले आफ्नो स्थानीय प्यारिसको पास्टरीय ओहदाबाट राजीनामा दिनुभयो। त्यस बेला उहाँले एउटा साधारण प्रार्थना गर्न सुरु गर्नुभयो, जसले उहाँको जीवनलाई नै परिवर्तन गर्यो, “हे प्रभु, तपाईंको हृदय तोड्ने कुराहरुका निम्ति मेरो हृदयलाई तोडिन दिनुहोस्!” त्यसपछि उहाँले “गस्पल फर एसिया” नामक मिसनरी संस्थाको स्थापना गर्नुभयो, र कालान्तरमा उक्त मिसनरी संस्था नै धेरै वटा एसियाली देशहरुमा मिसनरी तथा चर्च स्थापना कार्य गर्ने सबैभन्दा ठुलो संस्था बन्यो।
फेब्रुअरी ६, २००३ मा, उहाँलाई बिलिभर्स इस्टर्न चर्चको मेट्रोपोलिटनका रुपमा अभिषेक र उन्नयन गरियो। अर्थोडक्स क्रिश्चियन परम्पराअनुसार, उहाँले आफ्ना प्रिय संरक्षक सन्तहरु– अर्थोडक्सीका रक्षक सन्त अथनेसियस, अनि प्रेरित र प्रचारक सन्त युहन्ना (योहान/जोन) का सम्मानमा अथनेसियस योहान नाउँ प्राप्त गर्नुभयो। सन्तहरुका प्रार्थना र पवित्र आत्माको अनुग्रहका माध्यमद्वारा, मेट्रोपोलिटन योहानले सम्पूर्ण हृदयको समर्पण र बलिदानीपूर्ण प्रतिबद्धताका साथ चर्चको सेवा गर्नुभयो, र उहाँका अगुवापनका सिप र दूरदर्शिताले उहाँलाई आफ्ना अधीनमा रहेका डायोसिस र विश्वासयोग्य जनहरुलाई रेखदेख गर्न सहायता पुर्यायो। उहाँको अगुवाइमा, चर्चले विगत दुई दशकहरुमा एसिया र अफ्रिकामा १२ हजारभन्दा धेरै प्यारिसहरु स्थापना गर्न सक्षम भएको छ।
सामाजिक योगदान – खाँचोमा परेका मानिसहरुप्रतिको मेट्रोपोलिटनको दयापूर्ण हृदयको कारणले उनीहरुलाई सहायता पुर्याउनको निम्ति धेरै वटा कार्य र परियोजनाहरु सुरु भए। यसमा एसिया र अफ्रिकाका हजारौं गरिब बालबालिका र उनीहरुका परिवारहरुलाई सहायता पुर्याउने बाल हेरचाह परियोजना ‘होप फर चिल्ड्रेन’, सेन्ट योहानेस एण्ड बिलिभर्स इङ्लिस स्कुल परिवार, र गरिब तथा समाजद्वारा अति उपेक्षित मानिसहरु, कुष्ठरोगी, एकल नारी र असाहाय बालबालिकाहरुका सेवा पुर्याउने सेविकाहरुका संस्था ‘सिस्टर्स अफ क्रस’ समावेश छन्।
उहाँले भारतभरि भएका कुष्ठरोगीहरुका धेरै वटा बसोबास क्षेत्रहरुमा भोजन र औषधी-उपचार सहायता प्रदान गर्ने चर्चको प्रयासलाई व्यक्तिगत रुपले मार्गदर्शन गर्नुभयो। उहाँको अगुवाइमा, चर्चले समाजको सेवा गर्नको निम्ति – अस्पताल, स्कुल, असाहाय बाल-आश्रमलगायत धेरै वटा संस्थाहरु स्थापना गरेको छ। यसका अतिरक्त, उहाँले भारत, बंगलादेश, नेपाल, म्यानमार र श्रीलंकामा प्राकृतिक प्रकोप र विपदहरुका घटनाहरु भएका समयहरुमा, प्रभावित समुदायहरुलाई सेवा पुर्याउनको निम्ति धेरै वटा प्रमुख कोष सङ्कलन अभियान र राहत कार्यहरु सुरु गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो।
केरला राज्यको तिरुवल्लामा रहेका सेन्ट इग्नेसियस थियोलोजिकल सेमिनरी, बिलिभर्स चर्च रेसिडेन्सियल स्कुल र बिलिभर्स चर्च मेडिकल कलेज एण्ड हस्पिटलका संस्थापक संरक्षक पनि मेट्रोपोलिटन योहान नै हुनुहुन्छ। अनाथ र असाहाय बालबालिकाहरुलाई सहयोग गर्ने उहाको दसकौं लामो कामको सम्मान स्वरुप, क्रिश्चियन मेन्स नेटवर्कको ग्लोबल फादरहुड इनिसिएटिभले उहाँलाई रेगी ह्वाइट फादरहुड अवार्ड २०१६ प्रदान गर्यो।
मेट्रोपोलिटन योहान एक प्रसिद्ध वक्ता हुनुहुन्थ्यो, जसले निरन्तर विश्वभर यात्रा गर्नुहुन्थ्यो, र संसारमा मिसनरी कार्यहरुका महत्त्वका बारेमा प्रचार गर्नुहुन्थ्यो। उहाँका जोसिला प्रवचन र सन्देशहरुले विभिन्न रेडियो प्रसारण स्टेशनहरु, पोडकास्टहरु र टिभी प्रसारणहरुका माध्यमद्वारा लाखौं मानिसहरुलाई आफ्नो क्रिस्चियन साक्षीमा सचेत रहन प्रेरित गर्थे। उहाँले २००४ देखि २०१२ सम्म वर्ल्ड बाई रेडियोको कार्यकारी समितिमा र २०१३ देखि २०१५ सम्म राष्ट्रिय धार्मिक प्रसारक संघ (NRB) को बोर्ड सदस्यका रुपमा सेवा गर्नुभयो। उहाँको सेवाको पहिचानस्वरुप, NRB ले २००३ मा, अन्तर्राष्ट्रिय प्रसारणमा मेट्रोपोलिटन योहानलाई व्यक्तिगत उपलब्धि पुरस्कार प्रदान गर्यो।
साथसाथै मेट्रोपोलिटन योहान एक प्रख्यात लेखक हुनुहुन्थ्यो, जसले सयौं विषयहरुमा व्यावहारिक र आत्मिक मार्गदर्शन प्रदान गर्ने २५० वटा भन्दा धेरै पुस्तकहरु लेख्नुभयो। यी पुस्तकहरुमध्ये धेरै वटा दर्जनौं प्रमुख भाषाहरुमा अनुवाद गरिएका छन्। मिसनका विषयहरुसँग सम्बन्धित उहाँका धेरै वटा पुस्तकहरुमध्ये एउटा, “विश्व मिसनहरुमा क्रान्ति” (Revolution in World Missions) पुस्तक अन्तर्राष्ट्रिय स्तरमा सर्वाधिक बिक्री भएको पुस्तक हो, जसको अङ्ग्रजी संस्करणको ४५ लाखभन्दा धेरै प्रतिहरु छापिएका छन्, अनि फ्रान्सेली, जर्मन, फिनिस, डचलगायत भाषाहरुमा समेत अनुवाद भएका छन्।
महान् आज्ञा पूरा गर्ने मेट्रोपोलिटन योहानको तीव्र जोश, अनि एसिया र अफ्रिकामा हजारौं चर्चहरु स्थापना भएको हेर्ने उहाँको इच्छाको लागि उहाँ परिचित हुनुहुन्थ्यो, किनकि विश्वका ९४% भन्दा धेरै सुसमाचार नसुनेका र चर्च नदेखेका मानिसहरु अर्थात् लगभग तीन अर्ब मानिसहरु एसिया र अफ्रिकामा नै बसोबास गर्छन्! प्रेरितको पुस्तक हाम्रो पुस्तामा महान् आज्ञा पूरा गर्नको लागि हाम्रो ईश्वरीय खाका अर्थात् ब्लुप्रिन्ट हो भन्ने उहाँको विश्वास थियो र त्यसबमोजिम कार्य गर्नुभयो।
मेट्रोपोलिटन योहान चर्च इतिहास र चर्च फादरहरुका परम्परा (Patristic tradition) का शिक्षक पनि हुनुहुन्थ्यो। उहाँले पवित्र अर्थोडक्स चर्चको विश्वास र परम्पराहरुमा २४ वटा पुस्तिकाहरु लेख्नुभयो, जसको उद्देश्य विश्वभर भएका विश्वासयोग्य जनहरुका नयाँ पुस्ताहरुलाई प्रेरितीय विश्वास हस्तान्त्रण गर्नु हो। यी लोकप्रिय शीर्षकहरुमध्ये केही, ‘हाम्रो अर्थोडक्स क्षण’, ‘थियोसिस’, ‘पवित्र परम्परा: विश्वासलाई जीवित राख्नु,’ र ‘द जिसस प्रेयर एण्ड द प्रेयर रोप’ इत्यादि हुन्।
उहाँले मे ८, २०२४ बुधबारको दिनमा प्रभुमा विश्राम लिनुभयो। आज उहाँ हाम्रा प्रभु येसु ख्रिस्टको उपस्थितिमा सन्तहरुका साथमा हुनुहुन्छ। उहाँको स्मृति अनन्त रहोस्!
पवित्र चर्चको अर्थोडक्स विश्वास र अभ्यासहरुका विषयहरुमा उहाँका अरु लेखहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
अथनेसियस योहान प्रथमको बृहत् जीवनीका बारेमा पढ्नको निम्ति, यहाँ क्लिक गर्नुहोस्: नेपाली/अङ्ग्रेजी