मोरान मोर समुएल थियोफिलस मेट्रोपोलिटन
हिज होलिनेस मोरान मोर समुएल थियोफिलस मेट्रोपोलिटनको जन्म इस्वी सम्वत् १९५९ अगस्ट २७ तारिखका दिन, भारतको केरला राज्यअन्तर्गत रानी जिल्लाको किकोझुर गाउँमा एक सिरियाली क्रिस्चियन परिवारमा भएको थियो। उहाँका धार्मिक बाबुआमाले उहाँको नाउँ पुरानो करारका अगमवक्ता समुएल र प्रेरित मत्तीको सम्झनामा ‘समुएल म्याथ्यु’ राख्नुभयो, जसले उहाँलाई परमेश्वरको भयमा पालनपोषण गर्नुभयो, र उहाँलाई परमेश्वर र छिमेकी दुबैलाई प्रेम गर्नुको महत्त्व सिकाउनुभयो।
उहाँले सत्र वर्षको उमेरमा उच्च माध्यमिक शिक्षा पूरा गर्नुभएपछि, उहाँले आफ्नो गृह राज्य छाड्नुभयो र एक मिसनरी बनेर सेवा गर्नको निम्ति हजारौं माइल टाढा उत्तर भारततर्फको यात्रा गर्नुभयो। त्यसपछिका छ वर्षसम्म, उहाँले गुजरात, राजस्थान, महाराष्ट्र, मध्य-प्रदेश र कर्नाटका राज्यहरुमा गरिबहरुका सेवा गर्न र परमेश्वरको प्रेमको सन्देश प्रचार गर्नको निम्ति आफ्नो जीवनलाई समर्पित गर्नुभयो।
मिसन क्षेत्रमा धेरै वर्ष सेवा गरेपछि, उहाँ ईश्वरशास्त्र अध्ययनका निम्ति इस्वी सम्वत् १९८७ मा, सेरामपुर कलेजको सिनेटमा भर्ना हुनुभयो र त्यहाँबाट उहाँले स्नातक डिग्रीहरु बी.टिएच. र बी.डी. उपाधि हासिल गर्नुभयो। मोरान मोर अथनेसियस योहान प्रथम मेट्रोपोलिटनको दर्शनअनुसार, उहाँले बिलिभर्स इस्टर्न चर्चको निम्ति स्वदेशी मिसनरी र याजकहरुलाई तालिम दिने उद्देश्यले, इस्वी सम्वत् १९८९ मा तमिलनाडुको तेन्कासीमा “इन्टेन्सिभ क्रिस्चियन ट्रेनिङ सेन्टर (ICTC)” को स्थापना गर्नुभयो।
इस्वी सम्वत् १९९२ मा, उहाँले धर्म र संस्कृतिको अनुसन्धानका लागि सङ्घीय सङ्काय (FFRRC) बाट ईश्वरशास्त्रमा स्नातकोत्तर एम.टिएच. (M.Th.) उपाधि हासिल गर्नुभयो। इस्वी सम्वत् १९९३ देखि, उहाँले सन्त इग्नेसियस थियोलोजिकल सेमिनरी (पहिले गोस्पल फर एसिया बिब्लिकल सेमिनरी) को संस्थापक प्रिन्सिपल भएर लगातार दश वर्षसम्म सेवा गर्नुभयो, र भारत, नेपाल, बङ्गलादेश तथा अन्य एशियाली देशहरुमा भएका चर्चको निम्ति हजारौं अगुवाहरु तयार पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। आज पनि उहाँका धेरै भूपू विद्यार्थी र ग्राजुएटहरुले उहाँको पितृत्वपूर्ण प्रेम र मार्गदर्शनलाई स्नेहपूर्वक सम्झना गर्छन्।
अभिषेक तथा समर्पण: इस्वी सम्वत् १९९७ देखि पास्टरको रुपमा सेवा गरेपछि, उहाँलाई इस्वी सम्वत् २००३ मा मोरान मोर अथनेसियस योहान प्रथम मेट्रोपोलिटनको बाहुलीबाट याजक पदमा अभिषेक गरियो। तब उहाँले अरु तीन वर्ष, बिलिभर्स इस्टर्न चर्चको महासचिवको रुपमा सेवा पुर्याउनुभयो, र त्यसपछि उहाँलाई मोरान मोर अथनेसियस योहान प्रथम मेट्रोपोलिटनको बाहुलीद्वारा, इस्वी सम्वत् २००६ मा, “समुएल मोर थियोफिलस” को रुपमा एपिस्कोपा (बिसप) को ओहदामा अभिषेक गरियो। इस्वी सम्वत् २००७ मा, उहाँले क्यालिफोर्नियाको पासाडिनास्थित फुलर थियोलोजिकल सेमिनरीबाट मिसियोलोजीमा विद्यावारिधि (Ph.D.) उपाधि हासिल गर्नुभयो।
उहाँलाई इस्वी सम्वत् २००८ देखि २०१२ सम्म, मङ्गलोर डायोसिसको बिसपका रुपमा, र २०१२ देखि २०१३ सम्म, चेन्नई डायोसिसको बिसपको रुपमा स्थापित गरियो। त्यसपछि उहाँलाई, इस्वी सम्वत् २०१३ देखि २०१७ सम्म पवित्र सिनोडको सचिव ओहदमा नियुक्त गरियो, जहाँ उहाँले चर्चका विभिन्न विभाग तथा गतिविधिहरुका सुदृढीकरणको निम्ति, मोरान मोर अथनेसियस योहान प्रथम मेट्रोपोलिटनलाई सहायता पुर्याउनुभयो। इस्वी सम्वत् २०१७ मा, उहाँलाई चेन्नई आर्चडायोसिसको आर्चबिसप ओहदामा पदोन्नति गरियो, र यसपछि उहाँलाई बिलिभर्स इस्टर्न चर्चका दोस्रो मेट्रोपोलिटनको रुपमा चयन नगरुन्जेल, उहाँले त्यहाँबाट मङ्गलोर, चेन्नई, हैदराबाद र विजाग क्षेत्रअन्तर्गत रहेका डायोसिसहरुका निरीक्षण र नेतृत्व गर्दै रहनुभयो।
मेट्रोपोलिटन थियोफिलस आफूले हेरचाह गर्नुभएका डायोसिसहरुका विश्वासयोग्य जनहरुद्वारा अत्यन्त प्रेम गरिनुभएका एक अति सम्माननीय धर्मगुरु हुनुहुन्छ। उहाँका पूर्ववर्ती मेट्रोपोलिटन अथनेसियस योहान प्रथमजस्तै, सबै मानिसहरुलाई ख्रिस्टको प्रेम दर्साउनु नै चर्चको मिसन हो भन्ने कुराप्रति उहाँको दृढ विश्वास रहेको छ। उहाँले गरिबहरुलाई भोजन खुवाउने, बालबालिकालाई शिक्षा प्रदान गर्ने, र एकल नारीहरुका निम्ति घरहरु निर्माण गर्नेजस्ता धेरै वटा सामाजिक कार्यहरु सुरु गर्ने कुरामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। कर्नाटका र तमिलनाडुका गाउँबस्तीमा परमेश्वरका मानिसहरुलाई सेवा पुर्याउनको निम्ति उहाँले लामो समय बस र रेलमार्फत यात्रा गर्ने कुरामा उहाँ विशेष रुपले चिनिनुहुन्छ। इस्वी सम्वत् २०१५ र २०२१ मा, चेन्नईमा आएको बाढी र कोभिड महामारीजस्ता प्राकृतिक विपत्तिहरुका समयमा पनि, प्रभावित मानिसहरुलाई सेवा पुर्याउनको निम्ति, उहाँले सधैं आफ्ना आर्चडायोसिसअन्तर्गत् भएका स्वयंसेवकहरुका टोलीहरुका व्यवस्थापन गर्नुभएको थियो। उहाँले आफ्ना बगालहरुलाई सधैं यो कुराको सम्झना गराउनको निम्ति प्रसिद्ध हुनुहुन्छ: ‘परमेश्वर सधैं भलो हुनुहुन्छ, तब पनि जब हामीले त्यस्तो सोचेका हुँदैनौं।’
साथै मेट्रोपोलिटन थियोफिलस एक प्रख्यात वक्ता र लेखक हुनुहुन्छ, जसले चर्चको नेतृत्व र मिसनसम्बन्धी विषयहरुमा धेरै वटा लेखहरु लेख्नुभएको छ। उहाँका प्रकाशित कृतिहरुमध्ये केही निम्नानुसार छन्:
- Leadership: Development and Practice: A Biblical Perspective (ISPCK publications)
- Formation and Development of Missiology in India.
- Nedhrutha Madhruka (Exemplary Leadership) in Malayalam
- Aazhameriya Diyva Saanidhyam (The deep presence of the Divine) in Malayalam
- Giving to God (published in Kannada)