चर्चको आराधना
परमेश्वरको आराधना चर्चको जीवन-रक्त हो। प्रार्थना र आराधना हाम्रा प्यारिस, परिवार र व्यक्तिगत जीवनको केन्द्रीय र नियमित भाग हो। आराधना शनिबार बिहान सुरु र अन्त्य हुँदैन। यसको कुनै सुरुवात र अन्त्य छैन। हामी स्वर्गका स्वर्गदूतहरु र सन्तहरुसँग सहभागी हुन्छौं जसले परमेश्वरको सिंहासनको वरिपरि खडा भएर निरन्तर आराधना गर्छन्। विश्वासीहरुले गर्ने आराधनाले पारिवारिक प्रार्थनाको निजी जीवनलाई कायम राख्नुपर्छ, र साथै चर्चको आराधनामा पनि सधैं सहभागी हुनुपर्छ।
प्रभुको दिनमा, हामी चर्चमा एउटै मुख्य कारणले भेला हुने गर्छौं, र ख्रिस्टको दुलहीका रुपमा उहाँको आराधना गर्नको निम्ति हो, र हाम्रो आफ्नै व्यक्तिगत लाभ वा अनुभवको लागि होइन। साँचो बाइबलीय आराधना परमेश्वर-केन्द्रित कुरा हो। परमेश्वर नै आराधनाको दर्शक हुनुहुन्छ। यो पवित्र त्रिएक परमेश्वरमा केन्द्रित हुनुपर्ने कुरा हो। चर्चमा आराधना गर्नु भनेको परमेश्वरको सेवा गर्नु हो (प्रेरित १३:१-२)।
लिटर्जी
परमेश्वर पद्धति वा क्रमका परमेश्वर हुनुहुन्छ, र कुनै पनि आराधना सेवामा हुने भेलाको निम्ति लिटर्जी (आराधना विधि) ले हामीले परमेश्वरलाई कसरी बुझ्छौं र कुराकानी गर्छौं भन्ने कुरामा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। हामीले “ऐतिहासिक लिटर्जी” भनेर सोचेको कुरा सुरुको चर्चको केन्द्रीय र साझा हिस्सा थियो, र लगभग २,००० वर्ष पहिले यरुसलेमका पहिलो बिसपद्वारा लेखिएको सन्त याकुबको लिटर्जीलाई प्रयोग गर्न सुरु गरेको समयदेखि यो लिटर्जी थोरै मात्र परिवर्तन भएको छ, भनेर चर्चका प्रारम्भिक अभिलेखहरुले दर्साउँछन्।
लिटर्जीले आराधकलाई पार्थिव संसारबाट बाहिर निकाल्छ र स्वर्गमा निरन्तर हुने आराधनाको वातावरणमा लैजान्छ। यसले अनन्तकालदेखि अनन्तकालसम्मको मुक्तिको कथा बताउँछ। यसले हामीलाई येसुले सुरु गर्नुभएको प्राचीन र आधिकारिक चर्चका आराधकहरुका हिस्सा हुनको निम्ति सहायता पुर्याउँछ। चर्च वा ईश्वरीय लिटर्जीको आविष्कार हामी आफैंले गरेका होइनौं, तर हामी यसलाई निरन्तरता मात्र दिन्छौं।
आराधनाको अर्थ पूर्वीय दृष्टिकोणबाट राम्रोसँग बुझ्न सकिन्छ, जसमा धेरै वटा बिम्ब, चित्र र दृश्य चित्रणहरु छन्, जसले आराधनामा हामीलाई आफ्ना पाँच इन्द्रियहरुका माध्यमद्वारा परमेश्वरलाई अनुभव गर्न सहायता पुर्याउँछन्। हामी आराधनाको बाइबलीय नमुनाको अनुसरण गर्छौं, जुन पूर्वीय दृष्टिकोण हो, जसले सर्वशक्तिमान् परमेश्वरको आराधनाको रहस्य र भक्तिपूर्ण भयलाई कायम राख्छ।
हाम्रा लिटर्जीहरुले परमेश्वर-केन्द्रित आराधनाको अनुभव प्रदान गर्दछ, जसले हाम्रा शरीर, मन, हृदय, इच्छा र आत्मालाई संलग्न गराउँदछ। आराधनाका प्रत्येक भागले आराधकहरुलाई परमेश्वरले गर्नुभएका मुक्तिका कार्यहरुका विवरण प्रदान गर्ने र प्रभुसँगको गहिरो सङ्गतिमा डोर्याउने उद्देश्य राखेको हुन्छ। लिटर्जीले हाम्रो अस्तित्वको हरेक पक्षलाई ख्रिस्टको उन्नयनमा केन्द्रित गराउँछ।
बिलिभर्स इस्टर्न चर्चले यस्तो ऐतिहासिक आराधनाको नमुनलाई अनुसरण गर्दछ। आत्माले भरिएको, लिटर्जीय आराधना भनेको हामीले चर्चको रुपमा हाम्रा प्रभुसँग भेट गर्ने मुख्य तरिका हो। परमेश्वरको वचन र युखारिस्ट आराधना सेवाका दुई सबैभन्दा महत्त्वपूर्ण तत्त्वहरु हुन्। हाम्रो सम्पूर्ण अस्तित्वले परमेश्वरको आराधना गर्नको निम्ति प्रेरितहरुले हस्तान्त्रण गरेका र चर्चका फादरहरुले पूर्णतामा ल्याएका आराधनाको यस नमुना आवश्यक पर्छ, भन्ने हाम्रो विश्वास हो।
सांस्कारमा आधारित आराधना
प्राचीन चर्च संस्कारमा आधारित चर्च थियो, र त्यस बेलादेखि नै संस्कारहरु क्रिस्चियन आराधनाको हिस्सा हुँदै आएका छन्। पूर्वमा संस्कारहरु वा ‘रहस्यहरु’ भनेर चिनिएका कुरा, धर्मशास्त्रमा आधारित, ईश्वर-प्रदत्त अनुष्ठानहरु हुन्, जसले भौतिक तत्त्वहरु, जस्तै रोटी, दाखमद्य, तेल र पानी इत्यादि प्रयोग गरेर, हामीलाई परमेश्वरसँग कुराकानी गर्न सहायता गर्दछन्, र हामीलाई उहाँको अनुग्रह प्राप्त गर्न अनुमति प्रदान गर्दछन्। यी “अनुग्रहका माध्यमहरु” प्रयोग गर्दैमा हामी पवित्र हुँदैनौं, तर तिनीहरुले हामीलाई परमेश्वरसँग कुराकानी गर्न अनुमति दिन्छन्, यसैले कि उहाँले हामीलाई आत्मिक रुपमा उहाँको इच्छाअनुसार आशीर्वाद दिन सक्नुहुन्छ। बिलिभर्स इस्टर्न चर्चले चर्चका सात वटा ऐतिहासिक संस्कारहरुलाई स्वीकार र पालन गर्दछ।
अर्थोडक्स चर्चका संस्कारहरुका बारेमा अझ धेरै अध्ययन गर्नको निम्ति, तलको लिङ्कमा क्लिक गर्नुहोस्।